राष्ट्रनिर्माताप्रति राष्ट्रपतिद्वारा श्रद्धाञ्जली अर्पण

राष्ट्रनिर्माताप्रति राष्ट्रपतिद्वारा श्रद्धाञ्जली अर्पण


राष्ट्रपति विद्यादेवी भण्डारीले सिंहदरबार पश्चिम मूलद्वारस्थित राष्ट्रनिर्माता पृथ्वीनारायण शाहप्रति श्रद्धाञ्जली अर्पण गरेकी छिन् । राष्ट्रपति भण्डारीले २९७औँ पृथ्वीजयन्तीका अवसरमा नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा शुक्रबार आयोजित समारोहमा सरिक भई उनको सालिकमा पुष्पहार अर्पण गरी नेपालको एकीकरणमा उनको योगदानको स्मरण गरिन् ।

सो अवसरमा नेपाली सेनाको ब्यान्डसहितको टुकडीले सम्मान अर्पण गरेको थियो । वि.सं. १७७९ पुस २७ गते गोर्खामा जन्मिएका पृथ्वीनारायण शाहले स–साना राज्यलाई एकीकरण गरी आधुनिक नेपाल निर्माण गरेका थिए ।

तत्कालीन नेपालको अवस्थालाई विश्लेषण गर्दै पृथ्वीनारायण शाहबाट भएको दिव्योपदेश अहिले पनि उत्तिकै सान्दर्भिक रहेको इतिहासविद् बताउँछन् ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ, सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटा र तत्कालीन मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीले पनि उनीप्रति श्रद्धाञ्जली अर्पण गरे । श्रद्धाञ्जली व्यक्त गर्न राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा, एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी)का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीलगायत विभिन्न राजनीतिक दलका नेता, साहित्यकार, कलाकार एवं समाजका विभिन्न क्षेत्रका महानुभाव सिंहदरबारको पश्चिम मूलद्वार अगाडि पुगेका थिए ।

यसअघि ठकुरी सेवा समाज, गे्रेटर नेपाल, गुन्यूचोलो राष्ट्रिय सचेतना अभियान नेपाललगायतका संघसंस्थाको बाजागाजासहितको ऱ्यालीले पृथ्वीनारायणको सालिकमा माल्यार्पण गरेको थियो । ऱ्यालीमा सहभागीले राष्ट्रिय स्वाभिमानको रक्षा गरौँ तथा पुस २७ गतेलाई राष्ट्रिय एकता दिवसका रूपमा घोषणा होस् भन्ने प्लेकार्ड बोकेका थिए ।

रासस