विद्युत हुकिङ गर्ने २४ पक्राउ

विद्युत हुकिङ गर्ने २४ पक्राउ


हुकिङ गरी विद्युत् चुहावट गर्ने २४ जनालाई विद्युत प्राधिकरण वितरण केन्द्र लहानले पक्राउ गरेको छ ।

विद्युत प्राधिकरण वितरण केन्द्र लहानबाट खटिएको विद्युत चुहावट नियन्त्रण टोलीले लहानको पड्रिया, मटियर्वा, बर्छवालगायतका स्थानबाट २४ जनालाई पक्राउ गरेको हो ।

विद्युत चुहावट नियन्त्रणका लागि अनुगमन निरीक्षणको क्रममा हुकिङ गरी विद्युत चुहावट गरिरहेको अवस्थामा सबैजनालाई नियन्त्रणमा लिइएको विद्युत प्राधिकरण लहानका प्रमुख विष्णुप्रसाद यादवले जानकारी दिए ।

पक्राउ गरिएका सबैमाथि विद्युत चुहावट ऐनअन्तर्गत कारबाही गरी रु. दुई लाख ६० हजार राजस्व असुली गरेको प्रमुख यादवले बताए । सो क्रममा विद्युत मिटर, पंखा र टीभीलगायतका समानसमेत बरामद गरिएको छ ।