१० दिनपछि त्रिशूली जलविद्युत केन्द्र सञ्चालनमा

१० दिनपछि त्रिशूली जलविद्युत केन्द्र सञ्चालनमा


बन्द भएको १० दिनपछि अर्थात आज शुक्रबारदेखि त्रिशूली जलविद्युत केन्द्र पूर्णरूपमा संचालनमा आएको छ । आगलागी भएर विद्युत उत्पादन बन्द रहेको केन्द्रका ६ वटै मेसिन सञ्चालनमा आएका हुन् ।

पुस १८ गते आगलागी भएर मर्मतमा रहेको केन्द्र १० दिनपछि अर्थात् शुक्रबारदेखि पूर्णरूपमा सञ्चालन आएको केन्द्र प्रमुख तारादत्त भट्टले घटना र बिचारलाई जानकारी दिए । जडित क्षमता २४ मेगावाट भए पनि केन्द्रबाट २२ मेगावाटमात्र विद्युत उत्पादन हुँदै आएको छ । पानी कम भएकाले अहिले ६ वटा मेसिनबाट १६ मेगावाट विद्युत उत्पादन भइरहेको केन्द्रले जनाएको छ ।

त्रिशूली सञ्चालनमा आएपछि १४ मेगावाटको देवीघाटबाट पनि विद्युत उत्पादन सुरु भएको छ । यहाँबाट अहिले करिब १२ मेगावाट उत्पादन भइरहेको भट्टले बताए । त्रिशूलीको विद्युतगृहबाट निस्केको पानीबाटै देवीघाट सञ्चालन हुने गरेको छ । यसैले त्रिशूली बन्द हुँदा देवीघाटबाट पनि उत्पादन हुँदैन । पछिल्लो ७ महिना यता त्रिशूलीमा ३ पटक आगलागी भएको छ । त्रिशूली र देवीघाट बन्द हुँदा प्राधिकरणलाई प्रतिदिन ७० लाख रुपैयाँ नोक्सान भएको छ । १० दिनमा यी विद्युत केन्द्रबाट मात्र प्राधिकरणले करिब ७ करोड रुपैयाँ घाटा लागेको केन्द्रले जनाएको छ ।