राष्ट्रिय महिला भलिबल : न्यू डायमण्ड विजयी

राष्ट्रिय महिला भलिबल : न्यू डायमण्ड विजयी


न्यू डायमण्ड कप दोस्रो खुला राष्ट्रिय महिला भलिबल प्रतियोगितामा आयोजक न्यू डायमण्डले चितवन टाइग्रेसलाई पराजित गर्दै विजयी भएको छ ।

न्यू डायमण्ड एकेडेमीको कोर्टमा बुधबार भएको उद्घाटन खेलमा न्यू डायमण्डले चितवन टाइग्रेसलाई २५–१३, २५–१८ र २५–११ को सेटमा पराजित गर्दै विजयी भएको हो । त्यस्तै दोस्रो खेलमा नेपाल पुलिस क्लबले नेपाल आर्मी क्लबलाई २५–२१,२५–२१ र २५–१८ को सोझो सेटमा हरायो । न्यू डायमण्ड समूह ‘ए’को विजेता हुँदै समूह ‘सी’को उपविजेता आर्मीसँग क्वार्टर फाइनलमा भिड्ने पक्का भएको छ ।

त्यस्तै आजै भएको अन्य खेलमा सशस्त्र प्रहरी बल (एपिएफ) विजयी भयो । एपिएफले जाउलाखेल भलिबल प्रशिक्षण केन्द्रलाई २५–५,२५–१० र २५–८ को सोझो सेटमा हरायो । चारदिने उक्त प्रतियोगिताको उद्घाटन युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले गरे ।

उक्त प्रतियोगिताको विजेताले रु तीन लाख एक हजार तथा उपविजेताले दुई लाख एक हजार प्राप्त गर्नेछन् । त्यस्तै तेस्रो हुने टोलीले रु एक लाख एक हजार र चौथोले रु ५१ हजार प्राप्त गर्नेछन् । प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले १५ हजार तथा व्यक्तिगत विधाका उत्कृष्ट खेलाडीले जनही रु पाँच–पाँच हजार प्राप्त गर्नेछन् ।