साल्ट ट्रेडिङ पोखराको पाँच महिनामा आठ करोडको कारोबार

साल्ट ट्रेडिङ पोखराको पाँच महिनामा आठ करोडको कारोबार


साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड पोखराले चालू आर्थिक वर्षको पाँच महिनामा आठ करोड रुपैयाँको कारोबार गरेको छ । उक्त कार्यालयले सो अवधिमा खाद्य पदार्थ, खानेतेल, नुन र चिनीको बिक्री गरी सात करोड ५९ लाख मूल्यबराबरको कारोबार गरेको सो कार्यालयका प्रमुख सुरेशराज भण्डारीले जानकारी गराए ।

सोमध्ये सबैभन्दा धेरै नुनको कारोबार भएको छ । सो अवधिमा सात करोड ३२ लाख ११ हजार ९६५ मूल्यबराबरको ८९ हजार २८५ बोरा नुन बिक्री भएको छ । सोअन्तर्गत रु. ६ करोड २१ लाख ८३ हजार २९० मूल्यबराबरको ६७ हजार २२८ बोरा आयोनुन र रु एक करोड १० लाख २८ हजार ६७५ मूल्यबराबरको ढिकेनुन बिक्री गरेको छ ।

साल्ट ट्रेडिङ पोखराले डिलरको माध्यमबाट कास्की, तनहुँ, लमजुङ, स्याङ्जा र गोरखा जिल्लामा नुन आपूर्ति गर्दछ । उक्त कार्यालयले रु. १६ लाख ५६ हजार ३४२ मूल्यबराबरको रासायनिक मल बिक्री गरेको छ । यस्तै, रु. एक लाख तीन हजार ३१८ मूल्यबराबरको १५० बोरा चोकर र मैदा साथै रु. ८१ हजार मूल्यबराबरको पिठो बिक्री भएको छ । त्यस्तै, रु. चार लाख ६९ हजार ३०७ मूल्यबराबरको सूर्यमुखी तेल र चार हजार ४६० मूल्यबराबरको खाने तेल गरिएको हो । उक्त कार्यालयबाट रु. चार लाख नौ हजार २०३ मूल्यबराबरको १३६ बोरा चिनी पनि सो अवधिमा बिक्री भएको थियो ।