होली वाइनसँग मौका परे देश खान्छन्, जहाजको के कुरा !

(दुईवटा जहाज किन्दा एउटा किन्ने पैसा आफैँ ‘निल्ने’ नेताले ल्याउलान् समृद्धि भनेर पत्याउनुहुन्छ ?)

460 Shares
  • डिल्लीराम अम्माई, बेल्जियम

‘आमा, त्यो आउँछ र ?
‘हो, बा, त्यो आउँछ ।
त्यो बिहानको सूर्यझैँ उज्यालो छर्दै आउँछ ।
त्यसको कम्मरमा झुन्डिएको शीतजस्तै टल्कने
तिमी एक हतियार देख्नेछौ
त्यसैले ऊ अधर्मीसित लड्नेछ !
त्यो आउँदा तिमी पहिले त सपना हो कि भनेर
छामछुम गर्नेछौ, तर त्यो हिउँ र आगोभन्दा पनि
बढ्ता छोइने भएर आउँछ ।’
हो र आमा ?
‘हो, तिमी जन्मँदा तिम्रो कलिलो अनुहारमा
त्यसकै छाया देख्ने आशा गरेकी थिएँ
तिम्रो हिस्सी परेको हँसाइमा त्यसैको सुन्दर छवि
तिम्रो तोते बोलीमा त्यसैको मधुर ध्वनि
तर त्यो मीठो गीतले तिमीलाई
आफ्नो बाँसुरी बनाएनछ !
त्यो तिमी नै हौला भन्ने
मेरो यौवनभरिको सपना थियो !
जे होस् त्यो आउँछ
म आमा हुँ, सारा सिर्जनशक्तिको मुख भएर
म भन्न सक्तछु,
त्यो आउँछ,
मैले यो कुनै अल्छी सपना देखेको होइन !
त्यो आएपछि तिमी यसरी
मेरो काखमा आएर घोप्टिने छैनौ
सत्य कुरालाई तिमी यसरी
चुम्बकिए कथा सुनेझैँ सुन्ने छैनौ
तिमी त्यसलाई आफैँ नै देख्न सक्ने, सहन सक्ने र
ग्रहण गर्न सक्ने हुनेछौ
मैले यसरी धैर्य दिनुको सट्टा तिमी संग्राममा जाँदा
लाख सम्झाएर पनि नमान्ने आमाको मनलाई
सान्त्वना दिँदै बिदा हुनेछौ
मैले यसरी रोगीलाई झैँ तिम्रो कपाल
मुसारिरहनुपर्ने छैन !
हेरौँला, त्यो हुरी भएर आउनेछ,
तिमी पात भएर पछयाउनेछौ !
उहिले त्यो जीवनलोकबाट झरेर जुनजस्तै पोखिँदा
सारा जडता सगबगाएको थियो, बस
त्यो आउनेछ, तिमी उठ्नेछौ !’
त्यो आउँछ कि आमा,
मधुर उषाले चराहरूको कण्ठलाई जस्तै
त्यो आउने आशाले मेरो हृदयलाई कुतकुत्याइसक्यो आमा !
‘हो, त्यो आउँछ,
त्यो बिहानको सूर्यझैँ उज्यालो छर्दै आउँछ ।
अब म उठेँ, गएँ ।’
‘तर त्यो तिमी नै हौला भन्ने
मेरो यौवनभरिको सपना थियो !’

गोपालप्रसाद रिमालद्वारा रचित आमाको सपना नामक कविता हो यो । यो सपना क्रान्तिकारी कवि रिमालले मुलुकको समृद्धिको लागि देखेको सपना थियो । मुलुकमा हुँदाखाने वर्गको जीवन वृत्तिमा आमूल परिवर्तनको लागि देखेको सपना थियो । आमाको सपनामार्फत उनले आफ्नो लागि मात्र देखेको सपना होइन यो । यो सपनामा डा. केआई सिंहको विद्रोह, क्रान्तिकारी नेता भीम दत्तको नेतृत्वमा २००९ सालमा भएको पश्चिम नेपालको विद्रोहको स्पिरिटसमेत जोडिएको छ । उनको क्रान्तिकारी भावनाको उचाइलाई चुमेको छ ।

जस्तो कि २००९ सालको त्यो विद्रोहको प्रसङ्गलाई लिऊँ । त्यसबेला सुदूरपश्चिममा नुन र खाद्यान्नको हाहाकार मच्चिएको थियो । कञ्चनपुर जिल्लाको ब्रह्मदेव मन्डीमा भन्सारका कर्मचारी र नाफाखोर कालाव्यापारीहरूको मिलोमतोमा गोदाममा नुन र खाद्यान्न लुकाइछिपाई राखेको सूचना क. भीमदत्त पन्तलाई प्राप्त भयो । सूचना प्राप्त भएपछि उहाँले मन्डीको गोदाम कब्जा गर्ने योजना बनाउनुभयो । आफ्नो नेतृत्वमा हजारौँको संख्यामा शोषित, पीडित किसानहरू, दलित, जनजातिहरूको भेला गराई गोदाममा लुकाएर राखेको सयौँ क्विन्टल नुन र खाद्यान्न कब्जा गरी तिनको अभावले छट्पटिएका जनतालाई वितरण गर्नुभयो । ब्रह्मदेव मन्डीको कोटाको व्यवस्था, भन्सार ठेकेदारको मनोमानी, ठेकेदार र कर्मचारीहरूको मिलोमतो र षडयन्त्रको विरुद्धमा गरिएको त्यसप्रकारको संघर्षको अभियानले जनतामा ठूलो प्रभाव पर्न गयो भने भन्सारमा हाकिम रहेको सुब्बा जयदेव भट्ट, डिट्ठा धर्मसिंह रावल, सुवेदार जोगराज ऐरुविरुद्धको सशक्त कारबाहीले आन्दोलनलाई थप ऊर्जा थप्ने काम गऱ्यो । त्यस घटनामा डिट्ठा धमंसिंह रावललाई बोरामा बाँधेर महाकाली नदीमा फ्याँकिएको थियो । हो, आमाको सपना कवितामा त्यो वर्गीय आन्दोलनको स्पिरिटको पद्मात्मक आभा छचल्किएको छ ।

त्यति मात्रै होइन, उनको कवितामा नेपालका अनेकौँ आन्दोलनबाट पलाएका आशाका अनेकौँ पालुवाको माधुर्य छ । ती आन्दोलनका अभीष्टहरूको विम्ब छ । झापाको विद्रोहको सन्देश, सत्याग्रहको सुन्दरता र जनयुद्धको जागरणले भिजेको युगान्तकारी उत्पीडितहरूको जीवन्त स्वर हो आमाको त्यो सपना ।

राजनीतिक रूपमा आमाको सपना पूरा भयो भन्दै छन् अहिले सत्तासीन नेताहरू । त्यही सपनाको प्रेरणाले जनपक्षीय समृद्धिको नारा गुञ्जिएको छ अहिले देशमा । वर्गीय आन्दोलनको हिमायती ठान्ने शक्तिको बोलाबाला छ अहिले मुलुकमा । ‘इन्कलाब मर्न दिन्नौँ’ भनेर वर्षौं सङ्घर्षमा होमिएका वाम शक्तिको इतिहासमै नभएको दुर्लभ पहल कदमीले यो अवस्था आएको हो । उनीहरूले संविधानसभाबाट मिलेरै संविधान बनाएका हुन् । काङ्ग्रेस र वाम शक्तिहरूको मोर्चाले परिवर्तनलाई संस्थागत गर्दै अगाडि बढेकाले मुलुक समाबेशितासहित सङ्घीय गणतन्त्रमा जान सम्भव भएको हो ।

विगतको तिक्तता बिर्संदै शक्तिशाली वामपन्थी ध्रुवका दुई पार्टीहरू समृद्धिकै आलोकले सहकार्यको लागि ऊर्जा पैदा गरे, चुनावी मैदानमा होमिए, एकताको ऊर्जाले चुनावी माहोल उनीहरूतर्फ ढल्कियो र चुनाव गज्जबले जिते । दुईतिहाइको नजिक पुगेर चुनावी परिणामको अन्त्य भयो । त्यो उत्साहमा अझै उचाइ थप्दै मधेसवादी दललाईसमेत सरकारको ढोका खुला गरे । तराईका दुई ठूला दलमध्ये एउटा सरकारमा आयो अर्कोले सरकारलाई समर्थन दिँदै सरकारमा आउन खुट्टा उचाल्यो ।

भन्नुपर्दा अझैसम्म स्थिति परिवर्तनको अनुकूलतामा छ । कारण शक्तिशाली वाम सरकार छ । तर, दुःखको कुरा हिजो राज्यको दोहन गर्ने सामन्तवादी मालिकहरूको तुलनामा यो सरकारले ‘अहा’ भनेर देखाउन मिल्ने सिरिफ राजनीतिक आन्दोलनबाहेक केही उदाहरण देखाउन सकेको छैन । मुलुकको यो विषाक्त गरिबीको कारण के हो ? यसको ऐतिहासिक शृंखला कहाँबाट शुरु भयो ? त्यसलाई कसरी रोक्न सकिएला ? सरकारको ध्यान त्यता पटक्कै देखिएको छैन । हाम्रो देश गरिबी आफैँ पैदा भएको त होइन । नेपाली भिखमंगा भएको इतिहास पनि कतै भेटिँदैन । वाम सरकारले समृद्धि त भनेको छ, तर कुनै नीतिगत सूत्रतर्फ ध्यान दिएको छैन । नेता विजयको उन्मादमा मस्त र पुष्ट हुँदै छन्, कार्यकर्ता जीहजुरीमै व्यस्त देखिन्छन् । जनता बिचरो चुनावपछि आफूले भोट हालेर जिताएकाहरूको ‘काण्डरूपी कंसलीला’ हेरेर बस्न बाध्य छ ।

यो देशलाई धनी बनाउने सूत्र बचत हो, राज्यकोषको बचत बढाउने उपाय निर्यातको बढोत्तरी हो । त्यसको लागि नेपालको कृषि, औद्योगिक र सांस्कृतिक आत्मनिर्भरता आवश्यक हुन्छ । यही हो समृद्धिको सूत्र । त्यसको लागि राज्यको नीति खै ? प्रश्न अहिलेसम्म अनुत्तरित छ । नेताहरूले समृद्धिको नारा मात्रै घन्काएका छन्, तर नीति तथा कार्यक्रम त्योअनुरूप छैन । हिजोका शासकहरूको गल्ती दोहोऱ्याउँदै छन् नेताहरू । निजी सम्पत्ति र पुँजीजीवीहरूको सेवामा लहसिएका छन् नेताहरू । नेताहरूले दुःखको बेला गाँसबास दिने गरिब जनता नेताले बिर्संदै गएको आभास हुन थालिसकेको छ ।

‘जरा न सरा समृद्धिको नारा भनेझैँ’ राज्यको नीति निर्माण तहमा स्वाधीनता र आत्मनिर्भरता हराइरहेको छ । यी दुवै तन्तु नभएको समृद्धि प्रधानमन्त्रीको खोपीमा इन्तु न चिन्तु छ । भ्रष्टाचार र कमिसनको खेलमा वाम सरकारसमेत नराम्ररी फसेको छ । प्रधानमन्त्रीलाई आफ्ना दलदलमा फसेका कार्यकर्ता चोख्याउन धौ-धौ भइरहेको छ ।

राज्यका भारदारहरू भ्रष्टचारमा लिप्त हुँदै गएको प्रमाण अब कसैले प्रमाणित गर्नुपर्दैन । कमिशनका लागि माथिल्लो कर्णाली हाइड्रोको म्याद थप, वाइड बडी जहाज खरिद प्रकरणमा लेखाले दिएको प्रतिवेदन, एन्सियल कमिसन, क्रिस्चियन धर्मको प्रचारमा राज्यको संलग्नता, आयल निगम काण्ड, निर्मला बलात्कार तथा हत्या काण्ड, मेडिकल माफियाको प्रभावमा शैक्षिक नीति निर्माणजस्ता काण्डले अभिशप्त हुँदै छ यो सरकार । कार्यकर्ता कराउन थालिसकेका छन्, तर राज्यले आफूलाई सच्याउन मानिरहेको छैन । समृद्धिको नारा लिएर चुनाव जितेका वामहरू जनसेवक हुनुपर्ने हो । उनीहरूले जनअपेक्षा यति छिट्टै नबिर्सनुपर्ने हो । नेपाल गरिब छैन र हुन पनि दिने छैनौँ भनेर प्रमाणित गर्न कम्मर कसेर लाग्नुपर्ने हो । तर, सरकारले राणाशासनमा भएका गल्तीहरू, व्यभिचार र दण्डहीनतालाई पोषण गरिरहेको छ । सरकार वामपन्थीजस्तो त छान्दै छैन सुधारवादीजस्तो समेत देखिएन । क्रिस्चियनहरूको सम्मेलनमा आयोजक बनेपछि कतै यो सरकारका सञ्चालक पराइको खुराकले बाँचेका ‘क्रिस्चियन कन्जरभेटिभ दास’ त होइनन् ? शङ्का गर्न सकिने अवस्था सिर्जना भएको छ ।

तथ्यले के देखाउँछ भने तेस्रो विश्वका देशहरूमा गरिबीका कारक यस्तै साम्राज्यवादीका दासहरू थिए र हुन् । सुगौली सन्धिअगाडिको हाम्रो इतिहासमा नेपाल समृद्ध थियो । किनकि त्यसबेला हरेक कुरामा नेपाल आत्मनिर्भर थियो । हतियारदेखि आफूलाई आवश्यक हरेक कुरा नेपाली आफैंले निर्माण गर्थे । तर, जंगबहादुरको बेलायत भ्रमणपछि नेपाल गरिब हुँदै गयो । कारण थियो– बेलायतसँगको असमान सन्धि । त्यसैको शृङ्लामा १८८२–८३ मा चन्द्रशमशेर जब बेलायत गए, बेलायतीको पाँचवटा सर्त मानेर आए ।

बेलायतको सर्तअनुसार नेपालका खानी बन्द गरिए । नेपाल खनिज सम्पदामा आत्मनिर्भर थियो । पछि क्रमशः परनिर्भर हुँदै गयो । त्यसबाट जोगिने पैसा बेलायत पुग्यो ।

दोस्रो निर्णयअनुशार नेपालले कपास खेती बन्द गर्नुपर्ने भयो । पर्सादेखि सुनसरीसम्म कपास खेती बन्द गरियो । कपासबाट बन्ने उद्योग बन्द भए । गोरेहरूले आफूले उत्पादन गरेको टेलिकटन र ट्यार्लिङको कपडा बेचे । त्यसले नेपाललाई झन् परनिर्भर बनाउँदै लग्यो । हामीले कमाएको रकमको ठूलो हिस्सा बेलायतीहरूले लगे । अर्को निर्णयमा बेलायती साम्राज्यवादीले आफ्नो चुरोट बेच्न नेपालको गाँजाखेती बन्द गराए । त्यतिबेला नेपालीले भाँगोलाई अचार चटनी बनाएर खान्थे । निबुवा वा कागतीमा साँधेको भाँगोको चटनी पेटको रोगको लागि औषधि मानिन्थ्यो । तर, लागूपदार्थको बहानामा बेलायती साम्राज्यवादले नेपालमा गाँजाखेती बन्द गरायो । कारण ब्रिटिस हामीलाई चुरोट बेच्न चाहन्थ्यो । गाँजा बन्द भएको एक महिनापछि नेपालमा सित्तैमा चुरोट बाँड्न थालियो । बानी पारेपछि व्यापार शुरु गऱ्यो । त्यसपछि उसले नेपाललाई क्रमशः आर्थिक उपनिवेश बनाउन शुरु गरेको हो । राजनीतिक रूपमा नेपाल सुगौली सन्धिपछि उपनिवेश भयो भने आर्थिक रूपमा चन्द्रशमशेरको बेलायत भ्रमणपछि उपनिवेश हुँदै गएको हो । अहिले हाम्रो अर्थतन्त्रलाई प्यारालाइज बनाएको एउटा कारण साम्राज्यवाद हो भने अर्को कारण नेपालको सत्तामा हालीमुहाली गरिरहेका साम्राज्यवादी दासहरू हुन् ।

त्यसै गरिब भएको होइन हाम्रो मुलुक । साम्राज्यवादी कूटनीति र परनिर्भर अर्थनीतिले हामी अझै सकिँदै गइरहेका छौँ । अब राज्यले आत्मनिर्भरतामूलक नीति नअँगालेसम्म नेपाल धनी हुन सम्भव नै छैन । किनकि हामीले ९६ रुपैयाँको आयात गर्दा केवल ४ रुपैयाँको निर्यात गरिरहेका छौँ । यो अवस्था भनेको नेपाल आर्थिक रूपले लगभग थला परेको अवस्था हो ।

यहीबीचमा अहिलेको वामपन्थी सरकारले समृद्धिको नारा उरालेको थियो ? यो नाराले सबैलाई छोएको पनि हो । ‘जरा न सरा समृद्धिको नारा भनेझैँ’ राज्यको नीति निर्माण तहमा स्वाधीनता र आत्मनिर्भरता हराइरहेको छ । यी दुवै तन्तु नभएको समृद्धि प्रधानमन्त्रीको खोपीमा इन्तु न चिन्तु छ । भ्रष्टाचार र कमिसनको खेलमा वाम सरकारसमेत नराम्ररी फसेको छ । प्रधानमन्त्रीलाई आफ्ना दलदलमा फसेका कार्यकर्ता चोख्याउन धौ-धौ भइरहेको छ । उनले काण्डले थला परेका मन्त्री वा कमिसनखोरहरूलाई सुमसुम्याउँदै म्याउँ–म्याउँको शैलीमा छानबिन आयोगका चङ्गा उडाउँदै छन् । ‘गोप्य पदार्थ’ हालेको रौसीले अझै छोडेको छैन उनीहरूलाई । निर्मला हत्याको आवाज अन्तर्राष्ट्रियकरण भइसकेको छ, तर वाइडबडी जहाज काण्डले सिङ्गो सरकारलाई हावाकावा पारेको छ । यातायातमन्त्री रवीन्द्र अधिकारीलाई आयोगले डामिसकेको छ । यस्तोमा समृद्धि ‘कठै’ बनेर कहाँबाट हेरेको होला खै देख्नेले जानुन् । जनता भन्दै छन्, ‘बजेट भाषण कर्मकाण्डी मात्र भयो, जनमुखी हुने सकेन ।’ बजेटमा रुग्ण उद्योगलाई फेरि अगाडि ल्याउन शीर्षक नै छैन । आत्मनिर्भर अर्थतन्त्रको तन्तु नै छैन, राज्यको सशक्त जनमुखी योजना नै छैन । यस्तोमा कवि रिमालको आमाको सपना र भीमदत्त पन्त तथा जनयुद्धको स्पिरिटको के गफ गर्नु र खै !

अहिले हाम्रो अर्थतन्त्रलाई प्यारालाइज बनाएको एउटा कारण साम्राज्यवाद हो भने अर्को कारण नेपालको सत्तामा हालीमुहाली गरिरहेका साम्राज्यवादी दासहरू हुन् ।

नेपालका सबै उद्योग पनि लगभग धरायाशी भइसकेका छन् । ती उद्योगलाई धरायाशी बनाइयो वा बनाउन लगाइयो, तर त्यसलाई रोक्ने साहस कसैले देखाएन । कागजमा नेपाल आत्मनिर्भर हुने लागेको थियो । चलेको केही कालपछि भृकुटी कागज कारखानालाई पनि धरायाशी बनाइयो । धागो, कपडा, चुरोट, जुत्तालगायत सबै कारखानाहरू धराशायी भइसके । हाम्रो कमाइको कुनै भाग पनि नेपालमा रोकिन नसक्ने अवस्था छ । बचतले नै समृद्धि हुने हो । अब त कृषि क्षेत्र पनि परनिर्भर भइसक्यो । बिउ, फल, बिरुवा फुल, अन्डा, मासु, मल सबैमा परनिर्भर । अनि केले हुन्छ मुलुकको समृद्धि ? दुईवटा जहाज किन्दा एउटा जहाज किन्ने पैसा भ्रष्टाचार हुने देशमा कसरी हुने समृद्धि ? केहि अगाडि ‘अहिलेका छद्मवाम बनामहरूले विदेशीले कुन्नि के मिसाएर पियाएको होली वाइनसँग देश खान्छन् जहाजको के कुरा !’ भन्ने आरोप सुनेको थियो यो पङ्क्तिकारले । अहिले मुलुकको भ्रष्ट राजनीतिक अवस्थालाई नियालेर हेर्दा होइन भन्ने आधार खोज्न कठिन भइरहेको अवस्था हो ।

बिजुलीमा लगानी गरेर कमाउने भन्नु पनि ठगी धन्दाजस्तो भएको छ नेपालमा । सबैतिर कमिसनको खेल छ । विदेशीहरूलाई खोलाहरू कमिसन लिएर बेच्ने होड चलिरहेको छ । राज्यले आफ्ना भ्रष्ट कार्यकर्ता जोगाउने धन्दा खुबै फस्टाएको छ । आफ्नो नियतअनुसार अख्तियार, न्यायालयमा हुने चलखेल र नियुक्तिलाई तीव्र पारिएको छ । देशमा निर्यातमुखी पोलिसी बनाउने ध्यानभन्दा पादरीको गेमप्लानमा भाग लिएर नेपाललाई अझ कङ्गाल बनाउँदै धार्मिक युद्धतर्फ धकेल्ने सङ्केत देखिइसकेका छन् । नेपालीको समृद्धिको स्वादिष्ट अचार वर्तमान वामरूपी कुहेको आलुबाट सम्भव छैन । त्यसको लागि भीमदत्तहरूको चिहानबाट विस्फोटनसहित नयाँ सङ्कल्पित ज्योतिहरूको पुनर्जागृत हुन आवश्यक देखिन्छ ।

460 Shares

प्रतिक्रिया