तपाईंको यो साता (राशिफल १८–२४ पुस, २०७५)

तपाईंको यो साता (राशिफल १८–२४ पुस, २०७५)


– ज्यो.पं. नारायणप्रसाद दुलाल

मेष
यो साता सुखद रहनेछ । योजनाअनुसार सबै कार्य सफल हुँदै जानेछन् । आदर्श व्यक्तिको सहकार्यले नयाँ अनुभव मिल्नेछ । मन मिल्ने साथीको सहयोग र हौसला मिल्नेछ । साताको अन्त्यमा भने सरकारी निकायको भय रहला । अनावश्यक झुटा आरोप लाग्ने हुँदा सजक रहनुहोला । यो साताका लागि शुभअङ्क १, ५ र शुभरङ खैरो वा रातो हो । कुनै शुभकर्म गर्नुपूर्व वा यात्रामा जानुअघि विष्णु भगवान्को ध्यान गरी कार्य आरम्भ गर्दा अधिक लाभ हुनेछ ।
वृष
रोकिएका काममा पुनः प्रयत्न गर्दा सफलता हात लाग्नेछ । तर्क, विवाद र प्रतिस्पर्धामा पकड भएको राम्रो छ । अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइने छ । साताको अन्त्यमा भाग्यशक्ति कमजोर हुनाले चिताएको कार्यमा सोचेजस्तो सफलता नमिल्ला । यो साताका लागि शुभअङ्क २, ८ र शुभरङ पहेँलो वा सेतो हो । कुनै शुभकर्म गर्नुपूर्व वा यात्रामा जानुअघि शिवजीको दर्शन गरी कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

मिथुन
बन्धुबान्धव र दाजुभाइको सहयोग लिन सकिनेछ । सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ । कानुनी वा प्रतियोगितात्मक क्रियाकलापमा विजय प्राप्त हुनेछ । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । बन्धुबान्धवबाट सहयोग मिल्नेछ । आर्थिक र व्यावसायिक समस्या समाधान हुनेछन् । यो साताका लागि शुभअङ्क ३ र शुभरङ हरियो वा सेतो हो । कुनै शुभकर्म गर्नुपूर्व बिघ्नहर्ता गणेशजीको पूजा–अर्चना गरी गरेको कार्यबाट अधिक सफलता मिल्नेछ ।

कर्कट
प्रतिष्ठित काम गरेर अवसर हात पार्ने समय छ । आयआर्जन बढ्नुका साथै दिगो फाइदा हुने काम प्रारम्भ गर्न सकिनेछ । चिताएको कामले तीव्रता लिनेछ । महिला वर्गबाट विशेष सहयोग मिल्नेछ । साताको अन्त्यमा मित्रहरूले वचन पूरा नगर्दा आर्थिक हैरानी व्यहोर्नुपर्ला । यो साताका लागि शुभअङ्क ४, ६ र शुभरङ घ्यूरङ हो । कुनै शुभकर्म गर्नुपूर्व वा यात्रामा जानुअघि दुर्गाजीको दर्शन गरी यात्रा गर्दा अधिक सफलता मिल्नेछ ।

सिंह
यो सातामा लगनशीलताले नाम र दाम दिलाउन सक्नेछ । शुभकार्यको चर्चा चल्नेछ । लामो समयदेखि रोकिएका अधुरा कामहरू पूरा हुनेछन् । अध्ययनमा रुचि जाग्नुका साथै यात्राको योग पनि देखिन्छन् । पराक्रम बढ्नुका साथै सुखद यात्राका अवसर पनि प्राप्त हुनेछन् । यो साताका लागि शुभअङ्क ५, ९ र शुभ रङ हरियो वा रातो हो । कुनै शुभकर्म गर्नुपूर्व शिव भगवान्को दर्शन गरी कार्य आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।

कन्या
छोटो समयमा विशेष उपलब्धि हासिल गर्न सकिनेछ । परीक्षा आदि प्रतिस्पर्धामा उत्तीर्ण हुन सकिनेछ । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । मायाप्रेममा सफलता मिल्नेछ । साताको अन्त्यमा अधिकार प्राप्तिका लागि सङ्घर्र्ष गर्नुपर्ला । भ्रमण, खानपान तथा फेसनमा धन खर्च हुनेछ । यो साताका लागि शुभअङ्क २, ६ र शुभरङ हरियो हो । कुनै शुभकर्म गर्नुपूर्व वा यात्रामा जानुअघि भैरवजीको ध्यान गरी कार्य आरम्भ गर्दा अधिक लाभ प्राप्त हुनेछ ।

तुला
तुला राशिका लागि यो साता विशेष फलदायी रहनेछ । भौतिक सुविधाका साधन खरिद गर्ने अवसर जुट्नेछ । पाटी, पिकनिक तथा सेमिनारमा सहभागी भइएला । धार्मिक÷सांस्कृतिक सभासमारोहमा सरिक हुने सम्भावना छ । शुभचिन्तकहरूले पूर्ण समर्थन प्रदान गर्नेछन् । वैदेशिक कार्य अघि बढ्नेछ । यो साताका लागि शुभअङ्क १, ७ र शुभरङ हरियो वा सेतो हो । कुनै शुभकर्म गर्नुपूर्व सूर्यको दर्शन गरी यात्रा आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

वृश्चिक
विपक्षीको छलकपट तथा जालझेलबाट सावधान रहनुपर्नेछ । ताकेअनुरूप काम नबन्नाले दिक्क लाग्नेछ । साताको अन्त्यबाट गरेका कामबाट राम्रै लाभ हुनेछ । साताको अन्त्यमा महत्वपूर्ण अवसर गुम्न सक्नेछ । आफन्तका बीचमा खटपट, चिन्ता र शङ्का उब्जनेछ । यो साताका लागि शुभअङ्क २, ८ र शुभरङ गुलाबी वा कलेजी हो । कुनै शुभकर्म गर्नु पूर्वमहासरस्वतीको ध्यान गरी कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

धनु
न्यायिक निर्णयहरू तपाईंकै पक्षमा हुनेछ भने शत्रु परास्त हुनेछन् । काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । विपरीत वर्गबाट विशेष सहयोग मिल्नेछ । एउटै कामबाट दोहोरो लाभ मिल्न सक्छ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । प्रेम र मित्रताको बन्धन कसिने बेला छ । यो साताका लागि शुभअङ्क २, ९ र शुभरङ गुलाबी वा पहेँलो हो । कुनै शुभकर्म गर्नुपूर्व वा यात्रामा जानुअघि विष्णु भगवान्को दर्शन गरी कार्य आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।

मकर
ठीक समयमा सही निर्णय लिन सकिनेछ । सभा–सेमिनारमा सहभागी हुने अवसर प्राप्त होला । सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ । अतिथिको रूपमा सत्कार पाइएला । सोमबारदेखि मन भावुक र उत्ताउलो बन्नेछ । बाहिरी खानपानमा समयको ख्याल गर्नुपर्नेछ । सवारीसाधन खरिद गर्ने योजना बन्नेछ । यो साताका लागि शुभअङ्क ४, ६ र शुभरङ नीलो हो । कुनै शुभकर्म गर्नुपूर्व भैरवजीको दर्शन गरी कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

कुम्भ
कमजोरी बाहिर आउनाले नोकरी तथा राजनीतिमा समस्या पर्न सक्छ । नजिकका व्यक्तिबाट कार्यमा बाधा आइपर्ला । शुक्रबारबाट समुदायको हकहित हुने काम सम्पादन गर्न सकिनेछ । सरकारी जागिरेले महत्वपूर्ण अवसर प्राप्त गर्नेछन्, प्रशंसा, बढुवा वा उन्नतिको प्रयास सफल हुनेछ । यो साताका लागि शुभअङ्क ४, ७ र शुभरङ नीलो वा सेतो हो । कुनै शुभकर्म गर्नुपूर्व वा यात्रामा जानुअघि नवग्रहको स्मरण गर्नाले सफलता हात पर्नेछ ।

मीन
कर्मचारी वर्गका निम्ति अन्य नयाँ अवसर जुट्ने सम्भावना छ । धैर्य एवम् लगनशीलताले अवसर दिलाउनेछ । परिणाममुखी जिम्मेवारी वहन गर्ने समय आएको छ । साताको सुरुवाती दिनमा ठूलो प्रयत्न गर्दा पनि उपलब्धि उठाउन मुस्किल पर्नेछ । आफ्नै कमजोरीले विवादमा परिएला । यो साताका लागि शुभअङ्क ६, ९ र शुभरङ सुन्तलारङ हो । कुनै शुभकर्म गर्नुअघि हनुमानजीको आराधना गरी यात्रा गर्नाले अधिक सफलता मिल्नेछ ।