बीपीको राष्ट्रिय मेलमिलाप नीति र सन्देश

बीपीको राष्ट्रिय मेलमिलाप नीति र सन्देश


– डा. गोविन्द गुरागाईं

राजनीतिशास्त्रको अध्ययन, छलफल वहस र विश्लेषणमा राजनीतिज्ञहरूको परीक्षण र गुण दोषको चर्चा स्वभाविक रुपमा भइरहने गर्दछ । त्यसमा पनि बीपी कोइराला आफ्नो समयका अन्तर्राष्ट्रिय राजनेताहरूको पङ्क्तिमा पर्ने केही सीमित राजनीतिज्ञहरू मध्येका एक हुनुहुन्थ्यो । त्यसैले उँहाको जीवन र व्यक्तित्व राजनीतिशास्त्रको अध्ययन छलफल वहस र विश्लेषणको केन्द्रमा नपर्ने कुरै थिएन । बीपी कोइराला बहुआयामिक व्यक्तित्वका धनीसमेत हुनुहुन्थ्यो । चिन्तन, राजनीति, अन्तराष्ट्रिय सम्बन्ध, साहित्य र दुरदर्शीतालगायतका निखार व्यक्तित्वले उहाँलाई बहुआयामिक बनाएको थियो । यी र यस्तै कारणहरूले बीपी समकालीन अन्तर्राष्ट्रिय राजनीतिमा चर्चाको विषय र दक्षिण एसियामा लोकतन्त्रको दीपझैँ प्रज्वलित हुनुहुन्थ्यो ।

बीपी कोइराला त्यत्तिकै अन्तराष्ट्रिय व्यक्तित्व वा बहुआयामिक व्यक्तित्वका धनी हुनुभएको हो त ? यस प्रश्नको उत्तर उहाँको राजनीतिक चिन्तन, त्याग सिर्जना एवं राष्ट्रराष्ट्रियता प्रजातन्त्र र समाजवादप्रतिको अटल आस्था र अडानका साथै नेपाल र नेपाली जनताको स्वतन्त्रता, स्वाभीमान, अखण्डता र बलियो राष्ट्रिय एकताको जगमा मात्र प्रजातन्त्र वा लोकतन्त्रको सुरक्षित भविष्य देख्ने योजना नीति कार्यक्रमहरूमा सुन्दर एवं समृद्ध नेपाल र नेपाली जनताको भविष्य देख्ने सपना थियो उहाँमा । यसको प्रारम्भ उहाँले २००६ सालमा लेख्नुभएको नेपाली काङ्ग्रेसको घोषणापत्रबाटै भएको थियो । संविधानसभाको निर्वाचन र त्यसवाट गठित संविधानसभाका सदस्य, जनप्रतिनिधिहरूबाट नेपाली जनताको गरिवी, अभाव, पछौटेपन भोक, रोग अशिक्षा, रुढीवादजस्ता कुरीति, सबैखाले शोषण र कुप्रथाले आक्रान्त केही सीमित व्यक्ति र परिवारवाहेकका अनगिन्ती नेपालीको अनुहार, दिनचर्या र अवस्थालाई हेरेर राष्ट्र वा सरकारले त्यसका लागि प्रजातान्त्रिक, संविधान र कानुनको निर्माण विधिको शासन नेपालको अवस्था, आवश्यकता र परिवेशले खोजेको प्रभावकारी योजना र कार्यक्रमको तर्जुमा र कार्यान्वयनको सुन्दर सपना थिए वहाँसँग, जोसँग लौहपुरुष गणेशमान सिंहको साहस तथा आदर्शनेता किशुनजी र सुवर्ण समशेरलगायतका नेताहरूको साथ हरपल थियो ।

बीपीको राष्ट्रिय मेलमिलापको नीति र सन्देश

हुन त आजकल तत्कालीन सत्ता राजनीतिको अभीष्ट वा ध्येयको पूर्ति वा प्राप्तिका लागि समय–समयमा राजानीतिक दल र नेताहरूले विभिन्न दल मोर्चा वा समुह बीच हुने उचित–अनुचित सबैखाले गठबन्धनको निर्णय र चरित्रलाई समेत बीपीको मेलमिलाप नीतिकै रुपमा अर्थ्याउने र बुझ्ने–बुझाउने भाषण र अभिव्यक्तिहरू सुन्न पाइन्छ । वास्तमा बीपीको मेलमिलापको नीति केवल सत्ताप्राप्ति, सरकार वा सत्ताको टिकाउ र समग्रतामा भन्नुपर्दा सत्ताको सिँडि वा भर्याङ होइन र थिएन । त्यो त राष्ट्रवादी र प्रजातन्त्रवादीहरू बीचको एकता थियो, जसबाट बलियो नेपाली राष्ट्रियताको जगमा प्रजातन्त्रको सुन्दर नेपालरुपी बगँैचाले सबै नेपालीका माझ कुनै भूगोल, जाती, वर्ग, लिङ्ग वा क्षेत्रमा विनाभेदभाव स्वास्थ्यसेवा, प्रभावकारी आर्थिक नीति योजना र कार्यक्रम, असल शिक्षा र चेतनाले समृद्धिको सुवास छर्न र समतामूलक समाज र राष्ट्र निर्माण गर्न, सकोस् भन्ने आव्हान र सन्देश थियो, जसका लागि राष्ट्रवादी खासगरी राजा र प्रजातन्त्रवादीहरू बीच राष्ट्रनिर्माण र प्रजातान्त्रिक मुल्य–मान्यतामा आधारित शासन व्यवस्था वा परिपाटी कायम गर्न एकले अर्काको अस्तित्व र आवश्यकतालाई निसङ्कोच सम्मान गर्नुपर्ने अपरिहार्य शर्त निहीत थियो । यसबाट देश पनि बाँच्ने र जनताको शाषण पनि स्थापित हुन्थ्यो । त्यसैले बीपी भन्नुहुन्थ्यो, ‘देशमा सबैभन्दा बढी राष्ट्रवादी राजा हुन्छन् र हुनुपर्छ, किनकि देश नरहे राजा नै रहँदैनन् र राजाले पनि प्रजातन्त्रको मुल्य–मान्यता र आदर्शलाई ब्यवहार आचरण चरित्र र अभ्यासद्वारा संवैधानिक रुपमै आत्मसात गर्न सक्नुपर्छ, त्यसो भए मात्र जनताको मनोबल उच्च हुनेछ र उच्च मनोबल भएका जनताको देशभक्तिपूर्ण भावनाले मात्र देश बलियो हुन्छ, राष्ट्र वा देश रहिरहे मात्र राजा पनि रहिरहन सक्नेछन् अन्यथा देश नरहे राजा कहाँ रहन्छन् ?… प्रजातन्त्रवादीको पहिचान त विश्वमा जहाँसुकै रहिरहन्छ…।’ त्यस्तै, ‘राजालाई प्रजातन्त्र नचाहिए मलाई वा नेपाली काङ्ग्रेसलाई पनि राजा वा राजतन्त्र चाहिँदैन’ समेत बीपीले भन्नुभएको थियो ।

यसरी बीपी समुन्नत वा समृद्ध राष्ट्रका लागि राष्ट्रवादी र प्रजातन्त्रवादीका बीच न्युनतम एकता र सहअस्तित्व चाहनुहुन्थ्यो । राजनीति वा सत्ताका लागि प्रतिस्पर्धा गर्दै गरौँला तर राष्ट्र र राष्ट्रियताको लागि राष्ट्रवादी र प्रजातन्त्रवादी बीचको बलियो एकतालाई अपरिहार्य ठान्नुहुन्थ्यो । भारतमा सिक्कीमको बिलय, सोभियत युनियनबाट अफगानिस्तानमा सैन्य हस्तक्षेप, सोभियतसंघ र अमेरीकाबीचको चरम शीतयुद्ध सोभियत सङ्घको ध्रुवमा भारतको समर्थन, इन्दिरा गान्धीको सत्ता विरुद्धमा जयप्रकाश नारायणको सम्पूर्ण क्रान्ति, दक्षिण एसियामा बढ्दो अशान्ति र संघर्ष, भारतमा इन्दिरा गान्धीको सरकारबाट संकटकालको घोषणा एवम् इन्दिरा गान्धी वा भारतबाट नेपालको प्रजातान्त्रिक आन्दोलनमा असहयोगको तत्कालीन भारतीय तथा अन्य वाह्य परिस्थिति तथा पञ्चायती शासकहरूको निर्मम गोली प्रहारबाट ओखलढुंङ्गाको टिम्मुरबोटेमा राम उपाध्याय, लक्ष्मण उपाध्याय (रामलक्ष्मण), महेश कोइराला, मानबहादुर बखिंम लिम्बु, पद्मप्रकाश पुरी, नेत्रबहादुर कार्की, लालबहादुर तामाङ, प्रजालाल राई, श्यामकुमार गुरुङ तथा अलि पर ठाडे भन्ने स्थानमा शिवकुमार राई, अगमणि राई, मानबहादुर तामाङ, चन्द्रबहादुर तामाङ र सो को भोलिपल्ट टिम्मुरबोटे ओडारमा मरणासन्न अवस्थामा फेलापरेका रामप्रसाद राईलाई सोलुखुम्बु पुर्याएर आततायी पञ्चायती शासक र सेनाबाट मच्चाइएको क्रुर, जघन्य तथा पासविक हत्याकाण्डबाट होनाहार यूवाहरूको साहादत जस्ता तत्कालीन भयावह परिस्थितीका बखत् बीपीमा ‘देश खतरामा छ’ भन्ने चेत (चेतना)को झिल्को उदय भएका कारण त्यस्तो विषम परिस्थितिबाट अन्य सबै विषयहरूलाई तत्कालका लागि गौण राखी मुलुकलाई जसरी हुन्छ बचाउनुपर्छ भन्ने एक मात्र उद्देश्यका साथ नेपालफिर्तीको साहसिक निर्णय भएको थियो भन्ने सत्यलाई आम नेपालीले बुझ्न जरुरी छ । यसलाई अन्यथा ढंगले बुझ्ने र ब्याख्या गर्ने गरियो भने साँचो अर्थमा बीपी र वहाँको राष्ट्रिय एकता र मेलमिलापको नीति र आवहनप्रति अन्याय मात्र नभएर बुझाई निरर्थक समेत हुन जाने छ भन्दा अत्युक्ति हुँदैन ।

यसरी नै बलियो राष्ट्रियताको आधारशिलामा रङ्गीबिरङ्गी फुलबारी रुपको नेपाल फुल्छ, फक्रन्छ र आमनेपाली जन–जनमा सुवास छर्दै जान्छ भन्ने निष्कर्ष बीपीको थियो । यो नै साँचो अर्थमा बीपी कोइरालाको राष्ट्रिय एकता र मेलमिलापको नीति र सन्देश थियो जुन आज पनि उत्तिकै अनिवार्य र सान्दर्भिक छँदै छ ।

बीपीको स्वदेश फिर्ती

ओखलढुङ्गाको टिम्बुरबाटे काण्डको केही दिनभित्रै भारतले सिक्किमलाई आफूमा मिलायो, ३२ सिट भएको लेन्डुपको पार्टीले भारतकै सहयोग र भूमिकाको बलमा ३१ सिट ल्याएको र संसदबाटै भारतमा विलय गर्ने प्रस्ताव पारित भई सिक्किमको सार्वभौमसत्ता र स्वतन्त्रता समाप्त भएको थियो, जसको पृष्ठभूमिको कारण सिक्किममा जनता र राजाबीचको संघर्ष द्वन्द्व र झगडा नै थियो । प्रजातन्त्र र निरङ्कुश राजतन्त्रबीचको संघर्षले ल्याएको सिक्किमको विपत्ति र नियतीलाई बीपीले एउटा दुखान्त आश्चर्यका रुपमा लिनुभयो । र, नेपालको राजतन्त्र र प्रजातन्त्रवादीहरूबीचको संघर्षको सम्भावित परिणामको रुपमा आँकलन गरीसक्नुभएको थियोे ।

नेपालमा दरबार र पञ्चायतको मलजलमा वामपन्थीहरूको संगठन शक्ति र प्रभाव क्रमशः बढ्दो थियो, जो प्रजातन्त्र र राजतन्त्र दुवैका विरुद्ध ऐनमौकामा प्रयोग हुन सक्थ्यो भन्ने तथ्य तत्कालीन परिस्थितिमा विश्वमा साम्यवादले प्रमाणित गर्दै थियो । सिक्किमको प्रजातन्त्रीकरणको अभियानको प्रारम्भमा बीपीले ठुलो उत्साह देखाउनुभएको थियो र सिक्किमका युवाहरूले नेपालको सारनाथमा आएर उँहासँग भेटघाट र सरसल्लाहसमेत लिएका थिए । सिक्किमको विलयले बीपीलाई गम्भीर र भावुक तुल्याउन पुग्यो भने तिनैताका जयप्रकाश नारायणको नेतृत्वमा हिन्दुस्तानमा सम्पूर्ण क्रान्तिको अभियान चलेकोे थियो । इन्दिरा गान्धीले त्यसबाट अत्तालिएर संकटकाल घोषणा गरिन् । जुन घटनाले बीपी कोइरालाको जीवनमा वैचारिक र राजनैतिक आघात पुगेको थियो । त्यस घटनाबाट इन्दिरा गान्धीले नेपालको प्रजातन्त्रको निम्ति मद्दत गर्ने आशा करीव समाप्त भयो । जयप्रकाश नारायण र चन्द्रशेखर लगायत बीपीका सबै शुभेच्छुक मित्रहरू जेल परे ।

यी घटनाहरू समेत बीपीको नेपाल फर्कने कारण बन्दै गए । जयप्रकाश नारायण र चन्द्रशेखरलाई जेल हालेपछि इन्दिरा गान्धीले आफ्नो नजिकका विश्वासी महाराजा कृष्ण रसगोत्रालाई नेपालमा राजदुत बनाएर पठाएकी थिइन् । राजदुत रसगोत्राको पनि स्पष्ट सल्लाह बीपीले नेपाल फर्कनुपर्छ भन्ने नै रह्यो । बीपीको स्वदेश फीर्तिअघि परीक्षणको रुपमा केबी (कुलबहादुर) गुरुङ, बासुदेव शरण कोइराला र धर्म गौतमहरू समेत साहसिक निर्णयका साथ पटनाबाट नेपाल फर्की सक्नुभएको थियो ।

अन्य आन्तरिक र वाह्य परिस्थिति

सिक्किमको भारत विलयको नियतिका साथसाथै विश्व तत्कालीन सोभियत संघ र अमेरिका बीचको शितयुद्धको चरमोत्कर्षमा थियो । एसिया अशान्त हुँदै थियो । अमेरिका भियतनामबाट पछि हट्न विवश भएको थियो भने तत्कालीन सोभियत युनियनले अफगानिस्तानमा सेना पठाएको थियो । अमेरिकाका निकट सहयोगी शाह सत्ताको विरुद्द इरानमा ठुलो संघर्ष र आन्दोलन चर्काइरहेका थिए, जुनबेला भारत प्रस्टसँग सोभियत संघको ध्रुवमा उभिएको थियो । अमेरिकामा जिमी कार्टर राष्ट्रपति थिए । उनले मानव अधिकार र प्रजातन्त्रको पक्षमा जोडदार वकालत गर्दैं थिए । राजा वीरेन्द्र पनि भारत सोभियत संघको ध्रुवमा उभिएको घटनाले भारतप्रति सशंकित थिए भने अर्कोतिर अमेरिकाप्रति केही झुकाव बढाउँदै थिए । यस्तो परिस्थितिमा बीपी कोइरालाले राजा वीरेन्द्रबाट प्रजातान्त्रिक व्यवस्थाका लागि सहानुभूति पाउने आशा राख्नुलाई स्वभाविक मान्नैपर्दथ्यो । तर यसैबीच इमर्जेन्सीपछि हिन्दुस्तानमा भएको आमचुनावमा इन्दिरा गान्धी नराम्ररी पराजित भइन् र बीपी कोइरालाप्रति सद्भाव राख्ने जनता पार्टीको सरकार बन्यो, जुन सरकारसँग बीपीको विश्वदृिष्ट मिल्थ्यो । बीपीकै प्रशंसक मित्र जनता पार्टीका अध्यक्ष चुनिएका थिए ।

तर नेपालमा प्रजातन्त्रका खातिर नेपाली काँङ्गे्रसले स्वदेश र प्रवासबाट सञ्चालन गरेको सशस्त्र क्रान्ति तथा कयौँ अनुचित कारण र वहाना देखाएर थुप्रै घटना, काण्ड र क्षतिका नायकका रुपमा बीपीमाथि ७÷८ वटा संगीन अपराधको आरोप र अभियोग अदालतमा थियो जसको बयानका लागि मात्र १ महिना भन्दा बढि समय लगाइएको थियो । दरबार र पञ्चायती शासकहरूले बदनियतपूर्वक लगाइएको झुट्टा मुद्धामध्ये कुनै एउटा मात्र मुद्धामा बीपीले हारेमा मुत्युदण्ड हुन्थ्यो ।

यस्ता जोखिमपूर्ण र मुत्युवरणको तयारीका साथ बीपीले भारतमा बसेर आयु लम्याउनुभन्दा बरु नेपालमा गएर तुरुन्त मर्ने कडा वक्तव्यमार्फत आफ्ना सहकर्मीहरू गणेशमान सिंह, रामबाबु प्रसाई, शैलजा आचार्य, खुमबहादुर खड्का र निलाम्बर पन्थीका साथ ज्यानको बाजी थापेर भारत प्रवास त्याग गरी नेपाल फर्कनुभयो । तर पनि राष्ट्रिय मेलमिलापको निती र आव्हानका साथ भएको बीपीको स्वदेश फिर्तीको त्यस साहसिक तथा ऐतिहासिक कदमलाई नेपालका बामपन्थीहरूले रुचाएनन् र स्वागत पनि गरेनन् । यस्तै, दरबारको आदेशमा उहाँलाई काठमाडौं विमानस्थलबाट सिधै सुन्दरीजल जेलमा लगेर हालियो जहाँ प्रजातन्त्रको अपहरणलगत्तै राजा महेन्द्रले २०१७ देखि २०२५ सम्म ८ वर्ष सम्म बीपीलाई काराबासको सजाय दिएका थिए । यस घटनालाई बलियो नेपाली राष्ट्रियताको जगमा प्रजातान्त्रिक–लोकतान्त्रिक नेपालको भविष्यका लागि दुर्भाग्य शिवाय अरु केही भन्न सकिन्न । त्यसको परिणति कालान्तरमा २४० वर्ष लामो राजतन्त्रको समाप्ति अवश्यम्भावी थियो, त्यस्तै भयो ।

अन्त्यमा, बीपीको मेलमिलाप निती र सन्देशको अपव्याख्या निर्दलीय पञ्चायत, दरबार र बामपन्थीहरू लगायतले त गरे–गरे तर स्वयं नेपाली काङ्ग्रेसले समेत आत्मसात गर्न सकेको देखिँदैन र कतै काङ्ग्रेस बीपीकै निती सिद्धान्त, विचार र ब्यवहारबाट अल्मलिएको वा त्यसलाई नजरअन्दाज गर्दै गएको त होइन भन्ने प्रश्न र जिज्ञासाको उत्तर दिन नेपाली काङ्ग्रेसले अब रत्तीभर ढिलो गर्नुहुन्न । आमजनता र जिज्ञासुहरूमा बीपीको राष्ट्रिय मेलमिलाप नितीको आव्हान सन्देश र सान्दर्भीकतालाई काङ्ग्रेसका जन–जनमा मात्र नभएर सम्पूर्ण राजनीतिक दल, दर्शन र विचारका जनतासमक्ष आजको समसामयिक सन्दर्भमा बीपी विचारको पक्षपोषण, कार्यान्वयन र अनुशरणमा समेत नेपाली काङ्ग्रेसले आफ्नो सिद्धान्त, आदर्श, निती, व्यवहार र अभ्यासबाट यथाशीघ्र प्रमाणित गर्न सक्नु पर्दछ । सबैलाई चेतना भया ।