काङ्ग्रेस जीवन्त बन्दै कि अवसानको बाटोमा ?

काङ्ग्रेस जीवन्त बन्दै कि अवसानको बाटोमा ?


पार्टी–पङ्क्तिले अत्यन्त आशा र विश्वाससहित प्रतीक्षा गरेको, विपक्षी मत राख्नेले समेत निकै उत्सुकतापूर्वक हेरेको अनि शेरबहादुर देउवा सभापति भएपछिकै पहिलो नेपाली काङ्ग्रेसको महासमिति बैठक पाँच दिनको लागि बोलाइए पनि तन्किएर झन्डै दश दिन चल्यो । यसरी समय लम्बिनुको कारणचाहिँ मुलुकभरबाट भेला भएका महासमिति सदस्यहरूको आवाज वा गुनासोको सम्बोधन थिएन, बरु नेतृत्वको असहिष्णु, असमन्वयकारी र अव्यावहारिक स्वभावको बन्दी बनेर महासमिति बैठक तन्कियो र तथाकथित ‘मेलमिलाप सन्देश’को ढोल पिटाउँदै अन्त्य भएको घोषणा गरियो ।

गाउँ–गाउँबाट केन्द्रमा भेला भएका महासमिति सदस्यहरूसँग आफ्ना असन्तुष्टि, स्थानीय गुनासा र सङ्गठनमा भोग्नु–झेल्नुपरेका समस्याहरूको चाङ नै थियो । ती सबै मामलालाई खुलेर केन्द्रीय नेतृत्वसमक्ष राख्ने, तमाम सदस्यबीच छलफल र मन्थन गर्ने अनि समाधानको नौनी झिकेर आ–आफ्ना गाउँ–क्षेत्र फर्कने उनीहरूको चाहना थियो । तर, काङ्ग्रेसका स्थानीय नेताजनका लागि अपरिहार्य यो चाहनालाई नेतृत्वले जानाजान कुण्ठित तुल्याइदियो । अधिकांश महासमिति सदस्यहरूको अनुभूति यस्तै रहेको बुझियो ।

झन्डै दश दिन चलेको काङ्ग्रेसको महासमिति बैठक मूलतः विधानमा सहमति हुन नसक्दा तन्किएको जगजाहेर छ । एकताको सन्देश दिँदै ऐतिहासिक तवरले सम्पन्न भएको, सर्वोत्कृष्ट विधान सहमतिबाटै पारित भएकोजस्ता अभिव्यक्ति बैठकपछि नेतृत्वतहका कतिपय नेताले सार्वजनिक गरेका सुनिँदै छ । विगतका कमी–कमजोरी अब नदोहोऱ्याइने कसम नेताहरूले खाएका किस्सा पनि सुनिँदै छन् । शीर्षतहमै रहेका केही नेताले त अबको निर्वाचनबाट काङ्ग्रेसले दुईतिहाइ बहुमतका साथ मुलुक हाँक्ने जिम्मेवारी हासिल गर्ने दाबी गरेकोसमेत सुनियो । पानीका फोकाजस्ता यस्तै बोली–व्यवहारमाथि विश्वस्त हुँदै यस्तै–यस्तै कुरालाई सफलताको आधार मान्ने हो भने त अलग कुरा, अन्यथा हरेकपटक एकताको सन्देश भन्ने अनि स–साना कुरामा गुट जमाएर झगडा र अन्तर्घात गर्ने काङ्ग्रेसी चरित्र अब निमिट्यान्न भयो भनी मान्ने कुनै आधार तयार भएको छैन ।

महासमिति सदस्यहरूको जायज आवाज समेटिएको छैन । ‘सहमति’को विधानमा धेरै कुरा छुटेका गुनासो छताछुल्ल छन् । असन्तुष्टि कायम नै छ । पचास प्रतिशतभन्दा बढी महासमिति सदस्यहरूको लिखित माग हुँदाहुँदै देशलाई धार्मिक स्वतन्त्र मुलुक घोषणा गरिनुपर्ने सवाललाई काङ्ग्रेसले आफ्नो प्रतिवेदन र विधानमा समेट्न सकेन । प्रस्तावित विधानमाथि पर्याप्त छलफल गरिएन, केन्द्रमा हाबी भएका केही ‘नेता’ले लाद्न चाहेको अवधारणा नै ‘सबैको आवाज समेटेको दाबी’सहित पारित भएको घोषणा गरियो । सर्वसहमतिबाट विधान पारित गरिएको नौटङ्की अवश्य देखियो, तर आगामी महाधिवेशनमा आफूलाई कसरी नेतृत्वमा स्थापित गर्ने भन्ने दुराशयबाट नेताहरू प्रेरित छन् भन्ने आरोपबाट मुक्त रहन सकेन काङ्ग्रेसको नयाँ विधान । यस्तोमा देशभरबाट खर्च र समय लगानी गरेर त्यत्तिका महासमिति सदस्यलाई किन बोलाउनुपर्थ्यो भन्ने सवालसमेत उब्जन पुगेको छ ।

कम्युनिस्ट शासकहरूले धर्म–संस्कृतिमाथि खेलबाड गरेको परिवेशमा सनातन मूल्य–पद्धतिमाथि ह्रास आउने हो कि, धर्म–संस्कृतिमाथि अतिक्रमण हुने हो कि भन्नेमा काङ्ग्रेसजस्तो दल संवेदनशील हुनुपर्नेमा त्यो भाव देखिएन । सीमित स्वार्थी नेता यसप्रति वितृष्ण रहनु र यसैमा मूल नेतृत्व बग्नुलाई स्वाभाविक ठान्न सकिँदैन । संवैधानिक प्रावधान भए पनि धर्मनिरपेक्षतालाई धार्मिक स्वतन्त्रता भन्ने शब्दले प्रतिस्थापन गर्नु अपरिहार्य देखिएको र यही आवाज अधिकांश महासमिति सदस्यहरूले उठाएका थिए/छन् । तर, जुन खालका चरित्र वा प्रवृत्ति बोेकेका पात्रहरू काङ्ग्रेस नेतृत्वमा हाबी देखिएका छन्, यस आधारमा भन्नुपर्दा काङ्ग्रेसले मुलुकको सनातन विशेषता अनि आफ्नो मौलिकता जोगाउन सक्नेमा आशङ्का कायम नै छ ।

पुरानै विकृत शैलीका आधारमा काङ्ग्रेसले आफूलाई बौराउन सक्दैन । सरकार दिनानुदिन अलोकप्रिय बन्दै गएको परिवेशलाई काङ्ग्रेसले आफू बलियो हुने आधार ठान्नुहुँदैन । सरकार अलोकप्रिय हुनुको अर्थ काङ्ग्रेस बलियो हुनु हुँदै होइन । यसका लागि त आफैँसँग स्पष्ट नीति, एजेण्डा र त्यसलाई सिद्ध गर्ने प्रस्ट मार्ग हुनु अपरिहार्य छ । जनताको मन–माटोसँग जोडिएर उद्देश्यहरू तय हुनुपर्छ । अग्रगमनको नाममा कोही खाल्डोतिर फस्दै गर्दा आफू भीरबाट छलाङ मार्ने मूर्खता प्रकट गर्न मिल्दैन । दुर्भाग्यले काङ्ग्रेसचाहिँ यस्तै दिशातर्फ उद्यत् देखिँदै छ ।

अन्तमा, हरदम असहमति, असन्तुष्टि र पदीय आकाङ्क्षाका कारण उत्पन्न आपसी क्लेषका साथ ‘सहयात्रा’ गर्दै आएका शेरबहादुर देउवा र रामचन्द्र पौडेलजस्ता पाका उमेरका नेताहरूले कथित तवरमा दर्शाएको ‘आपसी प्रेम’लाई नै काङ्ग्रेसको एकता र सुदृढीकरणको यात्रा मान्न सकिन्न । अब पनि पुरानै ढर्रा र यिनै ‘डेट एस्पायर’ नेताको ‘ऊर्जा’ र ‘भिजन’माथि विश्वास गरेर अघि बढिने मान्यता यदि तमाम काङ्ग्रेसजनले बनाएका हुन् भने, सबभन्दा पुरानो प्रजातान्त्रिक दलको पगरी गुथ्दै आएको काङ्ग्रेस पार्टीले अवसानकै पथ पछ्यायो भनिदिँदा अतिसयोक्ति ठहरिने छैन ।