साततले दरबारको पुनःनिर्माण चैतदेखि

साततले दरबारको पुनःनिर्माण चैतदेखि


नुवाकोटको ऐतिहासिक साततले दरबार पुनःनिर्माण यही वर्ष चैतदेखि शुरु हुने भएको छ ।

रााष्ट्रिय पुनःनिर्माण प्राधिकरणका कार्यकारी अधिकृत सुशील ज्ञवालीले साततले दरबारको आज अवलोकन गर्दै चीन सरकारसँग दरबार पुनःनिर्माणका लागि सम्झौता भइसकेको र वर्षको अन्त्यदेखि नै दरबारको पुनःनिर्माण हुने जानकारी दिए ।

भूकम्पले पूर्ण क्षति पु¥याएकोे दरबार पुरातत्व विभागअन्तर्गत रहने गरी चिनियाँ टोलीले पुनःनिर्माण गर्नेछ । भूकम्प गएको करीब साढे तीन वर्ष बित्दासमेत दरबार निर्माणका लागि सरकार उदासीन भएको स्थानीय बासिन्दाले आरोप लगाइरहँदा ज्ञवालीले दरबार पुनःनिर्माण अब छिट्टै शुरु हुने बताए । ज्ञवालीले चीन सरकारको नयाँ वर्ष शुरु भएकाले दरबार पुनःनिर्माणमा ढिलाइ भएको स्पष्ट गरे ।

दरबार पुनःनिर्माणमा ढिला भएको भन्दै विदुर नगरपालिका वडा नं २ का वडाध्यक्ष वीरेन्द्र शाहीले दुखेसो पोख्दै देशको पहिचानका रुपमा रहेको दरबार छिट्टै पुनःनिर्माण गरिदिन पहल गर्नुपर्ने बताए । दरबारको समयमै निर्माण हुन नसक्दा इतिहास मेटिने अवस्था आएको शाहीको भनाइ थियो ।

चीन सरकारले दरबार पुनःनिर्माणका लागि आन्तरिक तयारी शुरु गरिसकेको र ठेकेदार छनोट प्रक्रियामा रहेको जनाइएको छ । पहिलो चरणमा साततले दरबार र त्यसपछि तलेजु भवानीको मन्दिर, रङ्गमहल, लामपाटी र सेतोपाटी निर्माण गर्ने गरी सम्झौता भइसकेको ज्ञवालीले बताए ।

विदुर–२ स्थित सो दरबारको पश्चिमको पाँचौँ तलाको छाना भत्केर दिनहुँ झिँगटी, इँटा र कलात्मक काठ खसिरहेका छन् । तिनको संरक्षण गर्न र चोरी हुन नदिन दरबार परिसरमा रहेको श्रीनाथ गणको नेपाली सेना लागिपरेको छ । दरबार समयमा नै पुनःनिर्माण हुन नसक्दा गारो चिरा पर्न थालेको छ । तलबाट टेको दिएर बाँसले अड्याइएको छ ।