विद्यार्थीलाई दिवा खाजाको व्यवस्था

विद्यार्थीलाई दिवा खाजाको व्यवस्था


रमेश विश्वकर्मा, गुल्मी

जिल्लाको सदरमुकाम तम्घासमा रहेको महेन्द्र नमुना माध्यमिक विद्यालयले आज (पुष १)देखि विद्यार्थीहरुलाई दिवा खाजाको व्यवस्था गरेको छ । दिवा खाजा विद्यालयमा रहेको बालविकास केन्द्रदेखि कक्षा ५ सम्मका सम्पूर्ण छात्र÷छात्राले प्राप्त गर्नेछन् ।

दिवा खाजा कार्यक्रमको एक कार्यक्रमका बीच शुभारम्भ गरिएको छ । रेसुङ्गा नगरपालिकाका नगरप्रमुख डिल्लीराज भुसालले बालबालिकाहरुलाई खाजा वितरण गरी कार्यक्रम आरम्भ गरेका हुन् ।

महेन्द्र नमुना माध्यामिक विद्यालयले फरक बारअनुसार फरक–फरक दिवा खाजाका परिकार खुवाइने विद्यालयका प्रधानाध्यापक केशरबहादुर थापाले बताए । जसअनुसार आइतबार खीर र अचार, सोमबार चना र भुजा, मङ्गलबार समोसा र मटर, बुधबार हलुवा र अचार, विहिबार खीर र अचार, शुक्रबार हलुवा र अचार तथा शुक्रबार अण्डा खुवाइने छ ।

खाजा वितरण गर्दै नगरप्रमुख भुसालले विपन्न परिवारका बालबालिकाहरु यसबाट बढी लाभान्वित हुने बताए । खाजा गुणस्तरयुक्त छ/छैन भनी बेलाबेलामा विद्यालयबाट अनुगमन समेत गरिनुपर्ने उनको सुझाव थियो ।

नेपाल सरकारको कार्यक्रमअनुसार रेसुङ्गा नगरपालिकाभित्र रहेका ३२ ओटा सामुदायिक विद्यालय तथा १० वटा समुदायमा आधारित बालविकास केन्द्रहरुमा यसअघि नै विद्यालयका प्रधानाध्यापकहरुसँगको बैठकमा पौष १ गतेदेखि लागु हुने गरी कक्षा १–५ का विद्यार्थीहरुका लागि दिवा खाजा कार्यक्रम सञ्चालन गर्ने निर्णय गरिएको थियो । प्रतिविद्यार्थी रु १५ रुपैँयाका दरले दिवा खाजा खुवाइने बताइएको छ ।

कार्यक्रममा रेसुङ्गा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासीनी, रेसुङ्गा नगरपालिकाका शिक्षाप्रमुख उप–सचिव रामप्रसाद पाण्डेय लगायतको आतिथ्यता रहेको थियो । महेन्द्र नमुना माध्यामिक विद्यालयका विद्यालय व्यवस्थापन समिति अध्यक्ष चुडामणि पन्थीको अध्यक्षता रहेको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक केशरबहादुर थापाले स्वागत मन्तव्य दिए भने विद्यालयका शिक्षक युवराज ज्ञवालीको सञ्चालनमा कार्यक्रम सम्पन्न गरिएको हो ।