प्रधान पाँचौँ कार्यकालका लागि अध्यक्षमा निर्वाचित

प्रधान पाँचौँ कार्यकालका लागि अध्यक्षमा निर्वाचित


शारीरिक सुगठनको माउ संस्था नेपाल व्यायाम मन्दिरको अध्यक्षमा नारायण प्रधान पाँचौँ कार्यकालका लागि अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन् ।

२०१० सालमा स्थापित नेपाल व्यायाम मन्दिरको १८औँ साधारणसभा तथा निर्वाचनबाट अध्यक्ष प्रधान पाँच वर्षीय कार्यकालका लागि निर्विरोध निर्वाचित भएका हुन् । संस्थाको हालको विधानअनुसार दुई कार्यकालका लागि मात्र अध्यक्ष हुन पाउने प्रावधान रहेको छ । तर, प्रधान विधान संशोधन हुनुअघि पनि तीन कार्यकाल व्यायाम मन्दिरको अध्यक्ष भइसकेका छन् ।

अध्यक्षमा निर्वाचित भएपश्चात् प्रधानले आफूले व्यायाम मन्दिरको विकास, विस्तार र उत्थानमा गरेको योगदानको कदर गर्दै सदस्यहरूले पुनः पाँचौँ कार्यकालको लागि पनि आफूलाई जिम्मेवारी सुम्पेकोमा सवै मतदाताप्रति आभार व्यक्त गरे ।

यस्तै अजय बज्राचार्य व्यायाम मन्दिरको प्रथम उपाध्यक्षमा निर्विरोध चयन भएका छन् । उनी यसअघिको कार्यसमितिमा महासचिव रहेका थिए । यस्तै रत्नलाल मानन्धर पनि द्वितीय उपाध्यक्षमा निर्विरोध निर्वाचित भएका छन् । व्यायाम मन्दिरको विधानमा दुई उपाध्यक्षको प्रावधान रहेकोमा संस्थालाई अझ चुस्त दुरुस्त राख्नका लागि विधान संशोधन गरी थप तीन उपाध्यक्ष नियुक्त गरिने अध्यक्ष प्रधानले जानकारी गराए । विधान संसोधनपश्चात् दिनेश राजभण्डारी, नानीकाजी डंगोल र रविन्द्र कपालीलाई उपाध्यक्षमा चयन गरिने अध्यक्ष प्रधानले बताए । यसका लागि साधारण सभाबाट स्वीकृति प्रदान भइसकेको पनि अध्यक्ष प्रधानले बताए ।

व्यायाम मन्दिरको महासचिवमा सूर्यप्रसाद जोशी ५२ मतका साथ निर्वाचित भए । उनका प्रतिद्वन्द्वी प्रतापकाजी बरियाले २७ मत प्राप्त गरे । यस्तै प्रशान्त सिंह आफ्ना प्रतिद्वन्द्वी ईश्वर श्रेष्ठभन्दा ९ मत बढी प्राप्त गर्दै ४३ मतका साथ कोषाध्यक्षमा निर्वाचित भए । ईश्वरले ३४ मत प्राप्त गरे । निर्वाचनमा कुल ८० मत खसेको थियो । जसमा एक मत बदर भएको थियो ।

यसैगरी व्यायाम मन्दिरको ६ सदस्यीय पदका लागि ८ जनाको उम्मेदवारी परेकोमा दिनेश श्रेष्ठ सर्वाधिक ७१ मत प्राप्त गर्दै सदस्यमा निर्वाचित भएका छन् । यस्तै, अनिललाल श्रेष्ठ र रेणबहादुर बासुकलाले समान ६५ मत, रोशन महर्जन र निशान्त अमात्यले समान ५७ मत तथा ईश्वर खड्गीले ५४ मत प्राप्त गर्दै सदस्यमा निर्वाचित भए । अर्का उम्मेदवार सञ्जीव श्रेष्ठले ४५ र राजनकुमार श्रेष्ठले ४३ मत प्राप्त गरे ।

निर्वाचित कार्यसमितिका सदस्यहरूलाई निर्वाचन आयुक्त घनश्याम मुखियाले प्रमाणपत्र प्रदान गर्नुका साथै पद तथा गोपनीयताको शपथ गराएका थिए । घनश्याम मुखियाको संयोजकत्वमा सरोजकुमार श्रेष्ठ र संस्थाका कानुनी सल्लाहकार कुमार भट्टराईको तीन सदस्यीय निर्वाचनमण्डल गठन गरिएको छ ।