सूर्यविनायकमा सडक विस्तार गर्न संरचना भत्काइँदै

सूर्यविनायकमा सडक विस्तार गर्न संरचना भत्काइँदै


सडक विस्तारकार्यलाई महाअभियानको रूपमा लिएको सूर्यविनायक नगरपालिकाले सडक अतिक्रमण गरी निर्माण गरिएका संरचना भत्काउन शुरु गरेको छ । भक्तपुरको सिर्जनानगर चोकबाट नगरपालिका जाने सडकको दायाँबायाँ रहेका सडक अतिक्रमण गरी बनाएका घरका पर्खाल एवं टहरा हटाउन शुरु गरेको हो ।

नगरपालिकाका प्रमुख वासुदेव थापा, वडा नं. ५ का वडाध्यक्ष राजकुमार जोशी, सदस्य दीपक बिसुंगेलगायतको प्रत्यक्ष अनुगमनपछि सडक सीमांकन गर्दै डोजर लगाएर सडकको संरचना हटाउन थालिएको हो । स्थानीय पूर्वाधार लागत साझेदारी कार्यक्रमअन्तर्गत प्रतिनिधिसभा सांसद महेश बस्नेतको सांसद कोषको रु. २० लाख र नगरपालिकाको रु. ३० लाख गरी कुल रु ५० लाखको लागतमा सडक विस्तार कार्य शुरु भएको नगरप्रमुख थापाले बताए ।

सडकलाई आठ मिटरको चौडा बनाउने र त्यसमा ढल, खानेपानीको पाइप, फुटपाथ र कालोपत्र गर्ने गरी विस्तारकार्य शुरु गरिएको र आगामी दुई महिनाभित्र सबै निर्माणकार्य सम्पन्न गर्ने लक्ष्य लिएको नगरप्रमुख थापाको भनाइ छ ।

वडाध्यक्ष जोशीले यसअघि नै पटक–पटक घरटहरा भत्काउन सूचना जारी गरे पनि नहटाउनेको नगरपालिकाले डोजर लगाएर भत्काउन शुरु गरेको बताए । अहिले घर नभत्काउने तर मापदण्डभित्र परेको पर्खाल, पेटी र टहरा भने भत्काउने योजनाअनुरूप डोजर लगाउन थालिएको उनको भनाइ छ । नगरपालिकाका इन्जिनियर जनक न्यौपानेले सडक विस्तारका क्रममा गुणस्तरीयता कायम राख्न दैनिक इन्जिनियरसहितको टोलीले अनुगमन एवं निरीक्षण गर्ने बताए ।