प्रदेश १ बाट १२ बक्सिङ खेलाडी छनोट

प्रदेश १ बाट १२ बक्सिङ खेलाडी छनोट


गणेशमान सिंह फाउन्डेसनको आयोजनामा काठमाडौंमा माघको अन्तिम सातादेखि हुने वीर गणेशमान सिंह स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगिताका लागि प्रदेश १ बाट महिला र पुरुष गरी १२ खेलाडी छनोट भएका छन् । प्रदेश १ को छनोट प्रतियोगिता विराटनगरमा मंसिर २९ गते शनिबार सम्पन्न भएको हो ।

प्रदेश १ बाट पुरुषतर्फ ८ र महिलाबाट ४ खेलाडी छनोट भएका हुन् । पुरुषको ४९ केजीमा झापाका धर्मेन्द्र राई, ५२ केजीमा सुनसरीका सुलभराज तुलाधर, ५६ केजीमा झापाका सुरेन्द्र राई छनोट भए । त्यसैगरी पुरुषको ६० केजीमा झापाका तोबिन प्रधान, ६४ केजीमा झापाका अभिनय राई, ६९ केजीमा सुनसरीका राजेश गुरुङ, ७५ केजीमा झापाका बसन्त बुढाथोकी र ८१ केजीमा झापाकै प्रसिस रुचाल छनोट भए ।

महिलातर्फ चार खेलाडी छनोट भएका छन् । जसमा ४८ केजीमा सुनसरीकी दिलकुमारी श्रेष्ठ, ५१ केजी समूहमा झापाकी अरुणा योङयाङ, ६० केजीमा झापाकै पवित्रा धिमाल र ६४ केजीमा पनि झापाकै त्रिसा जबेगु रहेका छन् । प्रदेश १ बाट छनोट १२ जना खेलाडीमध्ये ९ जना झापाका खेलाडी रहेका छन् ।

छनोट भएका खेलाडीलाई गणेशमान सिंह फाउन्डेसनका संस्थापक अध्यक्ष टेकेन्द्रमानसिंह प्रधान, वीर गणेशमान सिंह स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगिताका संयोजक राजीव श्रेष्ठ, प्रदेश १ का संयोजक श्याम पौडेल र सहसंयोजक अविशेष श्रेष्ठलगायतले एक कार्यक्रमबीच पुरस्कार वितरण गरेका थिए ।

माघ २२ गतेबाट हुने राष्ट्रिय बक्सिङ प्रतियोगितामा भने पुरुषबाट ८ र महिलाबाट ६ तौल समूह गरी १४ तौल समूहमा प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा सातै प्रदेशमा छनोट प्रतियोगिता सञ्चालन हुने प्रतियोगिता संयोजक राजीव श्रेष्ठले बताए ।

वीर गणेशमान स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगिता सञ्चालनका लागि राष्ट्रिय खेलकुद परिषद्ले सहयोग उपलब्ध गराएको छ । प्रदेश छनोट मंसिर २८ बाट प्रदेश १ बाट शुरु भएको हो । पुस मसान्तसम्म सबै प्रदेशको छनोट प्रतियोगिता सम्पन्न गर्ने आयोजकको योजना छ ।