राजापाक्षेद्वारा प्रधानमन्त्री पदबाट राजीनामा

राजापाक्षेद्वारा प्रधानमन्त्री पदबाट राजीनामा


श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेनाद्वारा प्रधानमन्त्रीमा नियुक्त महेन्दा राजापाक्षेले शनिबार राजीनामा दिएका छन् । राजापाक्षेले आफ्नै निवासमा राजीनामापत्रमा हस्ताक्षर गरेको भिडियोहरू सार्वजनिक भएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले जनाएका छन् ।

राजापाक्षेको पार्टीका एकजना सांसद शेहान सेमासिंघेले राजापाक्षेले राजीनामा दिएको बताएका छन् । उनले आगामी दिनमा आफ्नो पार्टीले सशक्त र रचनात्मक प्रतिपक्षको भूमिका खेल्ने उल्लेख गरेका छन् । अहिलेको राजनीतिक द्वन्द्व अन्त्य गर्नका लागि संसदीय निर्वाचन माग गर्ने आफूहरूको मुख्य मुद्दा हुने उनको भनाइ छ ।

उनलाई सिरिसेनाले प्रधानमन्त्रीमा नियुक्त गरेको र संसद् विघटन गरेको विषयलाई सर्वोच्च अदालतले अवैध भएको फैसला गरेपछि उनले राजीनामा दिएका हुन् ।