विधिको शासनका निम्ति काकाकुल जनता

विधिको शासनका निम्ति काकाकुल जनता


– राजबाबु शंकर

असल शासनमा कानूनी राज हुन्छ, जसलाई विधिको शासन भनिन्छ । नागरिक अधिकार बहाल हुन्छ र अन्यायमा परेकालाई न्यायको प्रत्याभूति हुन्छ । तर, प्राथमिक शर्त के हो भने शासक वर्ग, न्यायाधीश, कर्मचारी संयन्त्र सबैले इमानपूर्ण दायित्व निर्वाह गर्नुपर्छ । राष्ट्रभित्र बस्ने आम जनताबीच आपसी सद्भाव, समझदारी र सहअस्तित्वको बोध हुनुपर्छ ।

देशमा भ्रष्टाचार व्याप्त छ भन्ने गुनासो नयाँ होइन । भ्रष्टाचारका एउटा महत्वपूर्ण कारक कर्मचारीतन्त्र पनि हो, जसलाई शासनसत्तामा रहनेले कज्याउन सकेको छैन अर्थात् ऊ पनि भागशान्ति हातलागी गर्नमै लाग्नाले कर्मचारीलाई छाडा हुन निरन्तर मद्दत मिलेको छ । कर्मचारीले खुलेआम भ्रष्टाचार गरेको सञ्चारमाध्यममा सार्वजनिक हुन्छ, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि अक्सर साना तहका कर्मचारीलाई चाहिं बरोबर रंगेहात पक्राउ गर्ने गरेको समेत सुनिन्छ; तर भ्रष्टाचारको यो महाअपराध नियन्त्रण हुन नसक्नुले देश गरीब र व्यक्ति धनी बन्ने क्रम यथावत छ । भ्रष्टाचारले देशलाई धमिराले जस्तो भित्रभित्रै खाइरहेको छ । राष्ट्र र आम जनता गरीब बनिरहेका छन् ।

भ्रष्टाचार बढायो भनेर आरोपित पञ्चायती व्यवस्था फालिएको पनि २८ वर्ष नाघ्यो भने राजा ज्ञानेन्द्रको शाही शासन अन्त्य भएको पनि १२ वर्ष नाघिसकेको छ । जनताले ’०७ सालदेखि प्रजातन्त्र र बहुदलीय व्यवस्था मात्र होइन, लोकतान्त्रिक गणतन्त्रका निम्ति प्राणाहुति गरे । तर, ती ऐतिहासिक परिवर्तनपछि पनि देशमा लोकतान्त्रिक शासन व्यवस्थाको बहाली भएको आम जनताले अझै महसूस गर्न सकेका छैनन् । प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र जे–जे व्यवस्था ल्याएको भनिए पनि त्यसको खुद मुनाफा भने केवल राजनीतिक दलका ठूला नेताहरूका लागि मात्र भयो, भइरहेकै छ । इतिहासको हर घडीमा इमानको पराजय भएको छ र बेइमानीले पताका फहराएको छ ! जनताका खातिर जनताले नै लडेर ल्याएको भनिने लोकतान्त्रिक व्यवस्थामा किन देश–जनताप्रति यस्तो घात भइरहेको छ त ?

लोकतन्त्रमा जनता नै सर्वशक्तिमान हुन्छन् त भन्ने गरिन्छ, जनतालाई सार्वभौम बनाउनकै लागि पटक–पटक आन्दोलन भए पनि त्यसको उपलब्धि जनताजनार्दनसम्म पुग्न पाएकै छैन र त्यसको खास कारण शासनसत्तामा पुऱ्याइएका दलका नेतागणको गद्दारी नै हो ।

दलाल, माफिया, तस्कर र डनहरू सरकार र दलका नेताभन्दा शक्तिशाली छन् । तिनले चाहेको व्यक्तिलाई आसनमा स्थापित र विस्थापित गर्न सक्षम तिनलाई कसले बनायो त्यत्ति शक्तिशाली ?– जवाफ अभेग छैन । अन्याय, भ्रष्टाचार, दुराचार र अराजकता कायमै छ । आम जनता पीडा बोकेर बाँच्न बाध्य छन् । भ्रष्टाचारीलाई कार्वाहीको प्रसङ्ग उधिन्ने हो भने ‘अरू परे पत्तासाफ, आफ्नालाई चाहिँ खुन पनि माफ’ प्रवृत्ति बहाल छ । कार्वाहीमा पर्नु अगावै राजीनामा दिलाउने र पेन्सन ख्वाउने चलन छ । तर, जबसम्म भ्रष्टाचारीले आफूले अनियमितता गरेको रकम तिर्ने थिति कडाइका साथ अनिवार्य गरिंदैन, तबसम्म किमार्थ भ्रष्टाचार नियन्त्रण हुँदैन ।

लोकतन्त्रमा जनता नै सर्वशक्तिमान हुन्छन् त भन्ने गरिन्छ, जनतालाई सार्वभौम बनाउनकै लागि पटक–पटक आन्दोलन भए पनि त्यसको उपलब्धि जनताजनार्दनसम्म पुग्न पाएकै छैन र त्यसको खास कारण शासनसत्तामा पुऱ्याइएका दलका नेतागणको गद्दारी नै हो । पटक–पटक व्यक्तिका अनुहार र दल त फेरिए, तर शासनको ढाँचाढर्रा चाहिँ उस्तै ! राजनीतिक दलहरूबीच जहिल्यै देश विकास र जनकल्याणतर्फ भन्दा सत्ताकै निम्ति छिनाझप्टी भइरहनु यो देश र हामी जनताको दुर्दशाको मूल कारक हो । जहिल्यै इमानको खडेरी परेको छ र बेइमानीराज चलेको छ । किन यस्तो भइरहेछ ? कमजोरी र अकर्मण्यता क–कसको ? नातावाद र कृपावादको हालिमुहाली, चाकरीप्रथाको बोलबाला भएकै कारण विद्वान्, योग्य, सक्षम, इच्छाशक्ति एवम् दूरसोच भएका आत्मस्वाभिमानी व्यक्ति नियोजित रूपमा पाखा पारिएका छन्; पलायन हुँदै गएका छन् ।

अर्थात् ‘मै खाऊँ, मै लाऊँ, सुखसयल सबै मै गरूँ, मै हाँसू मै बाँचू, अरू सब मरून् दुर्बलहरू’ नेपाली राजनीतिको चरित्र बनेको छ । देशमा झन्–झन् बलात्कार, हत्या, आतंक, बेथिति, अन्याय र अराजकता बढ्दै जानु यसैको कारण हो । सर्वहारा वर्गको सत्ता स्थापित गर्ने भन्नेहरू नै जनतालाई सधैं सर्वहारा बनाइराख्ने, तर आफू र तिनका आफ्ना सुखसयलपूर्ण आधुनिक जीवनशैली बिताउने र तिनै निम्सरा जनतामाथि गिर खेलिरहने मनपरीतन्त्र चुलिएको छ ।

देश र जनताको हितलाई केन्द्रमा राखेर गरिने राजनीति वैयक्तिक स्वार्थरहित हुनु पर्नेमा वर्तमान राजनीति आफू र आफ्ना भजनमण्डलीको स्वार्थमै केन्द्रित छ । जनताले चाहेको त जनताप्रति जवाफदेही जिम्मेवार नेता हो, जमिन्दार नेता होइन । जबसम्म देशमा गद्दार नेता, भ्रष्ट कर्मचारी, ठग व्यापारी, पार्टीका हनुमान नागरिक, अवसरवादी बुद्धिजीवी र कार्यकर्ता हावी भइरहन्छन्, त्यतिञ्जेलसम्म देशको उन्नति र जनताको प्रगति सम्भव छैैन । यस्तो विषादग्रस्त अवस्थामा ‘समृद्धि’का निम्ति नेपाली जनता कहिलेसम्म काकाकुल बनिरहने ?– वर्तमान समयले खोजेको जवाफ यही नै हो ।

(लेखक झापामा क्रियाशील सञ्चारकर्मी हुन् ।)