गुल्मीमा आठौं राष्ट्रिय खेलकुद जिल्ला छनोट प्रतियोगिता

गुल्मीमा आठौं राष्ट्रिय खेलकुद जिल्ला छनोट प्रतियोगिता



रमेश विश्वकर्मा, गुल्मी

जिल्ला खेलकुद विकास समिति गुल्मीको आयोजनामा आठौं राष्ट्रिय खेलकुद जिल्ला छनोट प्रतियोगिताको मङ्गलबार उद्घाटन गरिएको छ । जिल्ला खेलकुद छनोट प्रतियोगिताको उद्घाटन गर्दै प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले खेलकुद व्यक्तिगत जीवनका लागि मात्र नभएर सामाजिक तथा राष्ट्रिय जीवनका लागि पनि महत्वपुर्ण विधा भएको बताए ।

हिजोको दिनमा खेलकुद मनोरञ्जनका रुपमा लिइने गरेता पनि अहिले खेलकुद व्यक्तिगत तथा राष्ट्रिय जीवनको लागि पनि यसको महत्वको भएकाले सरकारले एक महत्वपुर्ण विधाका रुपमा लिएको उनको धारणा थियो ।

उद्घाटन कार्यक्रममा आइटीएफ तोक्वान्दो साउथ यशिएन खेलमा प्रथम भएका वीरेन्द्र कुँवर, द्वित्तीय हुने आशिम बुचा, गरिमा छन्तेललाई सम्मान गरिएको थियो भने आइटीएफ तोक्वान्दो साउथ यशिएन खेलमा तेश्रो भएका सविना श्रेष्ठ, भुवन श्रेष्ठ, विपिन श्रेष्ठ, विक्रम पचभैया तथा राष्ट्रिय तेक्वान्दो खेलमा तेश्रो हुनु भएका सागर श्रेष्ठ, विकल पौडेल, प्रशान्त केसीलाई पनि सम्मान गरियो ।

यस्तै प्रदेशस्तरीय आइटीएफ तोक्वान्दो प्रतियोगितामा प्रथम स्थान हासिल गर्न सफल पुजा रसाइली, राष्ट्रिय खेलकुद परिषदको राष्ट्रिय च्याम्पियनसिप प्रतियोगितामा तेश्रो स्थान हासिल गर्न सफल सपना सारु मगर, १०औं राष्ट्रपति क्षेत्रीय प्रतियोगितामा दोश्रो स्थान हासिल गर्न सफल दिपा पुन, सचिन पुन अनि तेश्रो स्थान हासिल गर्न सफल कश्मिरा थापा, निशा पौडेल, दिपेश पुनलाई पनि सम्मान गरिएको थियो ।

यसैगरी सम्मानित हुने अन्य खेलाडीमा १०औं राष्ट्रपति रनिङ्गशिल्ड क्षेत्रीय खेलकुद प्रतियोगिता कबड्डी खेलमा प्रथम भएका सविन क्षेत्री, सचिन क्षेत्री, कल्पना कार्की, गंगा राकसकोटी, सिता राना, चुरी राना, बिना तरामु, सिर्जना राहडी रहेका छन् ।

छनोट प्रतियोगितामा महिला–पुरुष भलिबल, पुरुष फुटबल, महिला–पुरुष कबड्डी प्रतियोगिता, पुरुष क्रिकेट, तेक्वान्दोमहिला–पुरुष, कराँते महिला–पुरुष, बक्सीङ पुरुष, ब्याडमिन्टन महिला–पुरुष, टेबलटेनिस महिला–पुरुष, एथ्लेटिक्स महिला–पुरुष र आई।टि।एफ। तेक्वान्दो महिला–पुरुष प्रतियोगिता गरी ११ वटा खेलमा छनौट गरिने जिल्ला खेलकुद विकास समिति गुल्मीका कार्यालय प्रमुख डिल्ली विकले जानकारी दिए । छनोट प्रतियोगिता यही मंसिर २८ गतेसम्म सदरमुकाम तम्घासमा सञ्चालन हुनेछ ।