विधानसभा निर्वाचनमा बीजेपीलाई कङ्ग्रेसले दियो दह्रो झट्का

विधानसभा निर्वाचनमा बीजेपीलाई कङ्ग्रेसले दियो दह्रो झट्का


भारतका पाँच राज्यमा भएको विधानसभा निर्वाचनको मतगणना जारी छ । हालै निर्वाचन भएका राज्यहरुमा मध्यप्रदेश, राजस्थान, छत्तीसगढ, मिजोरम र तेलङ्गाना रहेका छन् ।

भारतीय सत्तारूढ दलको बलियो पकड रहेको राजस्थानमा प्रारम्भिक मतगणनाले भारतीय कङ्ग्रेसलाई मजबुत देखाएको छ । कङ्ग्रेस छत्तिसगढमा पनि भाजपाभन्दा अगाडी देखिएको छ भने मध्य प्रदेशमा समानान्तर मत परिणाम ल्याउने देखिएको छ ।

त्यस्तै तेलङ्गनामा क्षेत्रीय दल तेलङ्गना राष्ट्र समिति (टिआरएस)ले नेतृत्व गरेको छ भने मोजिराममा मिजो नेशनल फ्रन्टले प्रारम्भिक मतगणनामा निर्वाचनमा नेतृत्व गरिरहेका छन् ।

भारतमा वर्तमान निर्वाचनमा राहुल गान्धीको नेतृत्वलाई कति सफल वा असफल भनी मापन गर्ने कडीका रूपमा लिइएको छ भने प्रारम्भिक मतगणनाबाट कङ्ग्रेसको अवस्था मजबुत नै देखिएको छ । यद्यपि निर्वाचनको एकदमै प्रारम्भिक नतिजा आइरहेकाले यसैलाई मानक मानिहाल्न मिल्ने अवस्था भने छैन ।

जयपुरमा कङ्ग्रेस नेता सचिन पाइलटले निर्वाचन मतगणनाको प्रवाह हेर्दा भारतीय कङ्ग्रेसले राजस्थान, मध्यप्रदेश र छत्तिसगढमा राम्रो पकड जमाउने देखिएको दाबी गरे । शुरूवाती परिणामले अन्तिमसम्म निरन्तरता पाउने आफ्नो विश्वास रहेको उनको भनाई छ ।

यसैगरी प्रारम्भिक मतगणनामा देखिएको झुकावप्रति प्रतिक्रिया दिँदै भाजपा नेता तथा गृहमन्त्री राजनाथ सिंले भने, ‘निर्वाचन राज्य सरकारका गतिविधिलाई हेरेर आउने भएको र यसलाई नरेन्द्र मोदी नेतृत्वको केन्द्र सरकारसँग तुलना गर्ने र मोदी सरकारको सफलता र असफलतासँग दाँज्न मिल्दैन ।’

प्रारम्भिक मत गणना अनुसार राजस्थानमा कङ्ग्रेसको ९७ सीटमा, भाजपाको ७५ स्थानमा र १२ स्थानमा स्वतन्त्र उम्मेदवारले अग्रता लिएका छन् । यो प्रदेशमा कङ्ग्रेसको विकल्प भाजपा र भाजपाको विकल्प कङ्ग्रेस दिने गरेको इतिहास छ ।

यसैगरी परिणामले २३० सीट भएको राजस्थानको छिमेकी मध्यप्रदेशमा सुरुभएको २२४ सीटको मत गणनाले कङ्ग्रेसलाई ११२ सीट र भाजपालाई १०३ सीटमा अघि देखाएको छ ।

दक्षिणी राज्य तेलङ्गनामा क्षेत्रीय दल टिआरएसले ९० सीटमा अग्रता पाएको छ, कङ्ग्रेसले १६ सीटमा नेतृत्व गरेको छ भने टिडिपीले दुई र भाजपाले एक सीटमा नेतृत्व गरेको देखिएको छ ।

अर्को एक सानो राज्य मोजिराममा मिजो नेशनल फ्रन्टले २० सीट, कङ्ग्रेसले पाँच र भाजपाले एक स्थानमा अग्रता लिएको देखाइएको छ । निर्वाचन मत गणना मङ्गलबार अपरान्हसम्मको भएको सम्बन्धित राज्यका निर्वाचन कार्यालयहरूलाई उद्धृत गर्दै एएनआईले जनाएको छ ।