को, कहाँबाट, किन परे पक्राउ ?

को, कहाँबाट, किन परे पक्राउ ?


प्रहरीलाई गालीगलौज एवं हातपात गर्ने पक्राउ

काठमाडौं महानगरपालिका–५ स्थित हाँडिगाउँ खहरेचोकमा जाँचको क्रममा सोमबार बेलुका ड्युटीमा रहेका प्रहरीलाई गालीगलौज एवं हातपात गर्ने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं चावहिल बस्ने सप्तरीका २७ वर्षीय प्रयास क्षेत्री र ललितपुर नख्खु बस्ने २६ वर्षीय पुस्सक शाह रहेका छन् । प्रयास क्षेत्रीले मादक पदार्थ सेवन गरी चलाएको बा.७० प ४१६४ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई पल्टिँदा महानगरीय प्रहरी वृत्त कमलपोखरीबाट खटिएको प्रहरीले उठाउन जाँदा प्रहरीलाई गालीगलौज तथा हातपात समेत गरेकोले उनीहरूलाई प्रहरीले पक्राउ गरेको बताइएको छ ।

नक्कली सुन विक्री वितरण गर्ने पक्राउ

नक्कली सुनलाई सक्कली सुन भनी नगद ६६ लाखमा विक्री वितरण गर्न लागेको अवस्थामा २ जनालाई काठमाडौं बौद्ध स्तुपाबाट प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं चाबहिल बस्ने सिन्धुपाल्चोक बलेफी घर भएका २३ वर्षीय लालबहादुर लामा र सोही ठाउँ बस्ने सिन्धुपाल्चोक मेलम्ची घर भएका २२ वर्षीय राजिव तामाङ रहेका छन् । उनीहरूको साथबाट प्रहरीले विस्कुट आकारमा रहेको १–१ केजीका २ थान सुन जस्तो देखिने बस्तु बरामद गरेको छ ।

भरूवा बन्दुकसहित तीन व्यक्ति पक्राउ

रामेछाप खाँडादेवी गाउँपालिका–७ अग्लेश्वरीडाँडास्थित सल्लाघारी जंगलबाट एकथान भरुवा बन्दुकसहित सोही ठाउँ बस्ने २३ वर्षीय प्रज्वल मगर समेत तीनजनालाई सोमबार बेलुका प्रहरीले पक्राउ गरेको छ । उनीहरूलाई कालिज मारिरहेको अवस्थामा अस्थाई प्रहरी पोष्ट गाल्पाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
यस्तै, लमजुङ दुधपोखरी गाउँपालिका–६ डांडाथोक बस्ने दिलबहादुर गुरुङसहित तीनजनालाई एकथान भरूवा बन्दुकसहित पक्राउ गरिएको छ । उनीहरूलाई करिब १२ केजीको मृग मारेर घरमा ल्याइ काटिरहेको अवस्थामा प्रहरी चौकी गौंडा लमजुङबाट खटिएको टोलीले हतियारसहित पक्राउ गरेको हो ।

पाटे बाघको छालासहित पक्राउ

काठमाडौं महानगरपालिका–२६ नयाँबसपार्कस्थित आकासे पुलनजिकबाट संरक्षित वन्यजन्तु पाटेबाघको छालासहित दुई जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं जोरपाटी बस्ने सिन्धुली दुधौली नगरपालिका–५ का २२ वर्षीय तेज अधिकारी र काठमाडौं जोरपाटी बस्ने दोलखा झ्याकु गौरीशंकर गाउँपालिका–४ का ३४ वर्षीय विक्रम तामाङ रहेका छन् । महानगरीय प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरी टोलीले अधिकारीको झोलाबाट उक्त छाला बरामद गरी उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

पहेँलो धातुसहित पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पार्किङ एरियाबाट करिब १ सय ६० ग्राम सुन जस्तो देखिने पहेँलो धातुसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । थाई एयरबाट काठमाडौं आएकी राहदनी नम्बर एन ००९२८३०० बाहक कम्बोडियन नागरिक मोम चेन्जको साथबाट सिक्री एक थान, औंठी एक थान गरी ८० ग्राम र सोही एयरबाट आएका भारतीय नागरिक राहदानी नम्बर जेड ४५०१५९५ बाहक राजेशको साथबाट सिक्री १ थान, औठी १ थान गरी ८० ग्राम उक्त धातु सहित प्रहरीले पक्राउ गरेको हो ।

करणी गरेको अभियोगमा पक्राउ

काभ्रे भुम्लु गाउँपालिका–१ सापिङ बस्ने २० वर्षीय युवतीलाई सोमबार बेलुका जबर्जस्ती करणी गरेको अभियोगमा सोही ठाउँ बसी मिस्त्री काम गर्ने दाङ तुल्सीपुर नगरपालिका–७ का ३१ वर्षीय रजवीर बुढा मगरलाई प्रहरीले पक्राउ गरेको छ । यस्तै, धनुषा बटेश्वर गाउँपालिका–५ बस्ने १२ वर्षीया बालिकालाई मङ्सिर २१ गते बिहान जबर्जस्ती करणी गरेको अभियोगमा सोही ठाउँ बस्ने २८ वर्षीय सुरेन्द्र पाण्डेलाई सोमबार बेलुका प्रहरीले पक्राउ गरेको छ । पैसाको प्रलोभन देखाई फकाईफुलाई सोही ठाउँ कालिपुरचौरस्थित खाली चौरमा लगी बालिकालाई करणी गरेको खबर प्राप्त हुनासाथ प्रहरी चौकी बटेश्वर र ईलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो ।