बेल्जियममा नेपाली ब्यवसायीको अधिवेशन सम्पन्न

बेल्जियममा नेपाली ब्यवसायीको अधिवेशन सम्पन्न


डिल्लीराम अम्माई, बेल्जियम

बेल्जियमका ब्यवसायी यामु निरौलाको अध्यक्षतामा १९ सदस्यीय समिति निर्माण गरी नेपाली ब्यवसायी संघ बेल्जियमको छैठौँ अधिवेशन सम्पन्न भएको छ। ९ डिसेम्बरका दिन सम्पन्न अधिवेशन बेनेलक्सका लागि नेपाली राजदुत लोकबहादुर थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । अधिवेशनको खुल्ला सत्रको सभापतित्व संघका तात्कालिक अध्यक्ष सिपी भट्टले गरेका थिए भने संचालन तात्कालिक महासचिव यामु निरौलाले गरेका हुन्।

आयोजक संघका संस्थापक अध्यक्ष राधाकृष्ण अधिकारी उपस्थित मञ्चमा एनआरएनए बेल्जियमका वरिष्ट उपाध्यक्ष कमल पन्थी, आइसीसी सरु चापागाइँ विशेष अतिथिको रुपमा उपस्थित थिए । अन्य अतिथिमा पत्रकार महासंघ युरोप शाखाका अध्यक्ष केजिन राई, केन्द्रिय संगठन विभाग सदस्य ओम शर्मालगायत बेल्जियममा भएका अधिकतम संघसंस्थाका प्रतिनिधिहरु उपस्थित थिए।

ब्यवसायिक अनुभवबारे ब्यवसायी संघका पुर्वअध्यक्ष तथा एनआरएनएका पुर्वसचिव अर्जुनकुमार श्रेष्ठले तयार पारेको पावर पोइण्टको प्रस्तुति विशेष आकर्षण रहेको उद्घाटन सत्रमा एनआरएनए आइसीसीको तर्फबाट सरु चापागाईं, एनसीसीको तर्फबाट कमल पन्थीले शुभकामना मन्तब्य दिएका थिए ।

त्यस्तै पुराना ब्यवसायी रविन्द्रमान श्रेष्ठले समेत आफ्नो ब्यवसायिक अनुभव सुनाउँदै अधिवेशन सफलताको शुभकामना दिएका थिए। तत्कालिन संघका उपाध्यक्ष तथा अधिवेशन ब्यवस्थापन समितिका संयोजक चिरन कुमार खवासको स्वागत मन्तव्य अगाडि प्रमुख अतिथिको हातबाट पानसमा बत्ति बाली अधिवेशन शुरु गरियो। त्यसपछि राष्ट्रियगान र मन्तव्यको क्रम चल्यो। बाणिज्यदुत रोजर द ग्रुनले आफ्नो मन्तब्य पढेर सुनाए पछि राजदुत लोकबहादुर थापाले आफ्नो मन्तब्य राखेका थिए।

उद्घाटन सत्रको अन्त्यमा संघले कुटनैतिक,ब्यवसायिक, पर्यटन र सुचनामा महत्वपुर्ण योगदान पुर्याएका ब्यक्ति तथा संस्थाहरुलाई समेत सम्मान गरिएको थियो। जसमा बेनेलक्सका नेपाली राजदुत लगायत दुतावास परिवार, बाणिज्य दुत रोजर द ग्रोन तथा घटना र विचार साप्ताहिक सम्मानित भए।

समाजमा विशेष योगदान पुर्याउने ब्यक्ति तथा संस्थाहरुको सम्मानको थालनीले योगदानको सम्मान गर्ने परम्परा बस्ने र फरक फरक क्षेत्रमा योगदान गर्नेहरुको प्रेरणाको लागि यो आवश्यक भएको आयोजकले बताए ।

सभापतिबाट पहिलो सत्र सकिएपछि ब्यवसायीहरुको बन्द सत्रले यामु निरैलाको नेतृत्वमा समिति चयन गरेको हो। पाँच उपाध्यक्षहरुमा चिरनकुमार खवास, भीम सुवेदी, उज्वल केसी, कौशल खनाल र पुष्पराज अधिकारी रहेका छन् । त्यस्तै, महासचिवमा मदन दवाडी, सचिव खड्क केसी, कोषाध्यक्ष काशीनाथ दनै तथा सहकोषाध्यक्ष रमेश दाहाल रहेका छन्।

सदस्यहरुमा जगदिश सापकोटा, रामबहादुर पुन, निशा गुरुङ, कृष्ण सिंखडा, जितेन्द्र केशी, तेजेन्द्र कँडेल र ईश्वरी कँडेल छानिएका छन्। क्षेत्रीय सन्तुलनलाई ख्याल गर्दै अन्य दुई सदसय संघको बैठकले पछि गरिने सहमति भएको कुरा नवनिर्वाचित अध्यक्ष निरौलाले बताए।