‘आगोसँग नखेल्न’ कमल थापाको सुझाव

‘आगोसँग नखेल्न’ कमल थापाको सुझाव


– रेजिना गौतम, झापा

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘आगोसँग नखेल्न’ सुझाव दिएका छन् ।

राप्रपा नेपालद्वारा विर्तामोडमा आयोजित हिन्दुराष्ट्र पुनःस्थापना राष्ट्रिय जनजागरण अभियान कार्यक्रममा बोल्दै राप्रपाका केन्द्रीय अध्यक्ष थापाले ९४ प्रतिशत ओमकार धर्मावलम्बी भएको देशमा सरकारले जनताको सम्पत्ति खर्चेर क्रिश्चियन धर्मको प्रचार गरी धार्मिक द्वन्द्व निम्त्याउन खोजेको आरोप लगाए ।

कार्यक्रममा बोल्दै थापाले धार्मिक द्वन्द्व सबैभन्दा खतरा हुनेतर्फ सचेत गराउँदै देशलाई धार्मिक आगोमा नहोम्न सुझाव दिएका हुन् ।

गत मंसिर १४ देखि १६ गतेसम्म काठमाडौंमा सञ्चालित एसिया पिस फेडेसेसन नामक क्रिश्चियन धर्म प्रचारक संस्थाले आयोजना गरेको एउटा कार्यक्रममा सरकारी रकम खर्चेको थियो ।

विश्वका जुनसुकै मुलुक पनि कुनै न कुनै धार्मिक मूल्य–मान्यताअनुसार नै चलेको उल्लेख गर्दै थापाले नेपालको राज्य व्यवस्था पनि सनातन मूल्य र मान्यता अनुसार नै सञ्चालन गर्नुपर्नेमा जोेड दिए ।

जनताको अभिमतविना नै धर्मनिरपेक्षता लादिएको उल्लेख गर्दै अध्यक्ष थापाले देशमा धार्मिक द्वन्द्वको विजारोपण यसअघि नै भइसकेको बताए । हिन्दु सनातन नेपाली जनताको मौलिक हक भएको उनको भनाई थियो ।

कार्यक्रममा बोल्दै अध्यक्ष थापाले हिन्दुराष्ट्र र हिन्दू धर्मको एजेण्डा लिएको पार्टी यसअघिका सरकारमा सहभागी भएको जनताले नरुचाएको आफूलाई महसुस भएको बताए । केपी ओली नेतृत्वको सरकारमा जानु गम्भीर राजनीतिक भूल भएको स्वीकार गर्दै आगामी दिनमा सत्ताकेन्द्रीत फोहोरी खेलमा नफस्ने सार्वजनिक प्रतिबद्धता समेत उनले जनाए ।

२०७० सालको निर्वाचनमा देशभरबाट २५ जना समानुपातिक सिट जितेको राप्रपाले गएको संसदीय निर्वाचनमा भने झापाबाट प्रत्यक्षतर्फबाट एक सिट मात्र जितेको थियो ।

कार्यक्रममा राप्रपाका महामन्त्री तथा झापा क्षेत्र नम्बर–३ का सांसद राजेन्द्र लिङ्देनले देशको पहिचान नै संकटमा परेको बताए । राजनीतिलाई कमाइ खाने भाँडो बनाएको उल्लेख गर्दै सांसद लिङदेनले सरकार नै धर्म परिवर्तनको पक्षमा लागेको आरोप लगाए ।

धर्म परिवर्तन गराउने कार्य राजनीतिभित्रको फोहोरी खेल भएको टिप्पणी गर्दै त्यसलाई राजनीतिले नै सच्याउनु पर्ने र त्यसैका लागि आफूहरु लागि परेको उनको भनाई थियो ।

सोही कार्यक्रममा धार्मिक व्यक्तित्व लक्ष्मीप्रसाद खतिवडाले धर्मको मुद्दा किनारा लगाउन जनमत संग्रहको माग गरे ।

राप्रपा झापाका अध्यक्ष अमर विष्टको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन केशव ओझाले गरेका थिए ।