तीनै तहका सरकारबीच समन्वय र सहकार्य अपरिहार्यः मन्त्री पुन

तीनै तहका सरकारबीच समन्वय र सहकार्य अपरिहार्यः मन्त्री पुन


ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले मुलुक नयाँ युगमा प्रवेश गरेको अनुभूतिका लागि तीनै तहका सरकारबीच समन्वय र सहकार्य अपरिहार्य भएको बताएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश नं २ संसदीय दलद्वारा आज यहाँ आयोजित ‘वर्तमान अवस्थामा ऊर्जा र सिँचाइ विकासमा तीनै तहका सरकारको भूमिका’ विषयक अन्तक्र्रिया कार्यक्रममा उनले सङ्घीयताका आधारमा संरचनागत रूपान्तरण कार्य सम्पन्न भएपछि परिणामसमेत आउन शुरू हुने विश्वास व्यक्त गरे ।

मन्त्री पुनले भने, ‘विविधता, भूगोल, बसोबासलाई दृष्टिगत गर्दै समन्वयात्मक ढङ्गले विद्यमान समस्याको समाधान गरी आम नागरिकलाई सुशासनको प्रत्याभूति गराउनु जरूरी छ ।’

‘सुशासन, विकास हुँदै समृद्धि हासिल गर्ने सरकारको लक्ष्य हो’, उनले भने, ‘सुशासन, विकास र समृद्धिको यात्रामा अब कुनै बहाना हुँदैन, धैर्यतापूर्वक जिम्मेवार भई तीनै तहका सरकारले आ आफ्नो भूमिका निर्वाह गर्न सक्नुपर्दछ ।’

मन्त्री पुनले आगामी वर्षमा आर्थिक विकासको विकसित जगको परिकल्पना सरकारले राखेको स्पष्ट पार्दै गैर जिम्मेवार प्रवृत्तिको अन्त्यका लागि तीन वटै तहका सरकारको अग्रसरताको खाँचो रहेको बताए ।

प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले सुनकोशी–कमला डाइभर्सन सिँचाइ परियोजनाको कार्यान्वयन, चुरेको संरक्षण र सङ्घीयताको अनुभूति गराउने कार्यलाई सङ्घीय सरकारले गम्भीरतापूर्वक लिनुपर्नेमा जोड दिए ।

प्रदेश नं २ का भौतिक पूर्वाधार विकासमन्त्री जीतेन्द्रप्रसाद सोनारले प्रदेशमा कार्यालय स्थापना हुने तर अधिकार र कागजात केन्द्रमा नीहित रहेका कारण अन्योलको अवस्थातर्फ सङ्घीय सरकारको ध्यानाकर्षण गराउँदै सङ्घीयताको मर्मअनुसार क्षेत्राधिकारको विनियोजन हुनुपर्दछ भने ।

पूर्वमन्त्री प्रभु साहले कोशीको पानी कमला र वाग्मतीमा ल्याउने सिँचाइ परियोजनाको कार्यान्वयनमा जोड दिनुपर्ने बताउँदै परम्परागत नहर प्रणालीलाई आधुनिकीकरण गर्नुपर्ने धारणा व्यक्त गरे ।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्रदेश नं २ का ७२ प्रतिशत जनताले विद्युत् सेवा पाइरहेको उल्लेख गर्दै यस प्रदेशका करीब एक लाख जनता गरीबीका कारण मिटर जडान गर्न नपाएको तथ्य प्रस्तुत गरे ।

प्राधिकरणले यस प्रदेशमा विद्युतीकरण र वितरण प्रणालीका लागि रु साढे सात अर्ब रकम बराबरको योजना तर्जुमा गरेको जानकारी दिदैं उहाँले विद्युत् चोरी नियन्त्रण कार्यमा सबैको सहयोगका लागि आग्रह गरे ।

नेकपा संसदीय दलका नेता सत्यनारायण मण्डलको सभापतित्वमा भएको सो कार्यक्रममा प्रदेशसभा सदस्य रामचन्द्र मण्डल र सिँचाइ विभागका सचिव डा सञ्जय शर्माले प्रदेश नं २ को ऊर्जा, जलस्रोत र सिँचाइ, विकासका पूर्वाधार र आवश्यकतामाथि प्रकाश पारे ।