विश्वशान्तिका लागि गुरुकूल सम्मेलन

विश्वशान्तिका लागि गुरुकूल सम्मेलन


विश्वव्यापी रूपमा बढ्दै गएको तनाव, नकारात्मकता, प्रदूषण, राष्ट्र राष्ट्रका बीचको वैमनस्यता, वेमेल, अहङ्कार र प्राकृतिक नियमको उल्लङ्घनका कारण बढ्दै गएको सामाजिक असुरक्षा, हिंसा र गरीबीलाई अन्त्य गरी समुन्नत समाज निर्माण गर्ने उद्देश्यले दुईदिने गुरुकूल सम्मेलन काठमाडौंमा शुरु भएको छ ।

योग, ध्यान र वैदिक यज्ञका माध्यमबाट व्यक्ति, राष्ट्र हुँदै विश्व शान्ति स्थापना गर्ने उद्देश्यले स्थापित नेपाल महर्षि फाउन्डेसन फर वैदिक कल्चरले आयोजना गरेको सो सम्मेलनमा प्रदेश नं १ बाहेक छ प्रदेशका ४२ गुरुकूलको सहभागिता रहेको छ ।

विश्वव्यापी वैदिक अभियानकर्मी महर्षी महेश योगीले योगासन, भावातीत ध्यान, भावातीत ध्यानसिद्धि र यज्ञको माध्यमबाट पूर्वीय दर्शनका विज्ञ र वैज्ञानिकको सहकार्यमा यो अभियानको थालनी गर्नुभएको हो ।

सम्मेलनमा नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति डा कुलप्रसाद कोइराला, पूर्वगृहराज्यमन्त्री एवं फाउन्डेसनका अध्यक्ष दीपकप्रकाश बाँस्कोटा, विश्वव्यापी महर्षी अभियान, नेपालका लागि अन्तर्राष्ट्रिय निर्देशक राजा किङ्ग्स्ले ब्रुक्स, ब्रह्मचारीद्वय रामप्रसाद तथा आत्माराम, काठमाडौँ विश्वविद्यालयका पूर्वप्रशासक एवं नैमिषारण्य संस्कृत गुरुकूलका अध्यक्ष मुकुन्द शर्मा, प्राध्यापक नवराज कट्टेललगायतले गुरुकूलको महत्वमाथि प्रकाश पार्नुभएको थियो ।