युरोपको सांगीतिक टुर सकेर फर्किइन् माया

युरोपको सांगीतिक टुर सकेर फर्किइन् माया


पोखरेली गायिका माया पुन युरोपको एकमहिने सांगीतिक कार्यक्रम सकेर नेपाल फर्किएकी छिन् । युरोपमा उनले मोना आइसी, एनआरएन नेदरल्याण्ड, युरोप नेपाल आर्टिष्ट एसोसिएसन, विश्व मगर संघ बेल्जियमको कार्यक्रममा सांगीतिक प्रस्तुति दिएकी थिइन् ।

मायाले आफ्ना चलेका गीत ‘मसँग नेपाली मन छ, झयाउँकिरी, पोखरेली सोल्टिनी, आज तिमिलाई, सालको पात..’ लगायतका गीत गाएर युरोपमा रहेका नेपालीलाई मनोरञ्जन प्रदान गरेकी थिइन् ।

मायाले गुन्यू चोलो लगाएर स्टेजमा गीत गाउँदा स्थानीय नेपालीले नाच्दै ताली बजाएर हौसला दिएको बताइन् । ‘मेरो पहिलो युरोप टुर असाध्यै रमाइलो भयो, त्यहाँ रहेका नेपाली दाजुभाइ दिदी–बहिनीहरूले गरेको मायँ सँगालेर आएकी छु’ गायिका मायाले भनिन्– ‘युरोपमा नेपाली पुरानो सँस्कृति, सँस्कारलाई अझैसम्म संरक्षण गरेको देखेर म असाध्यै खुसी भएँ ।’

सांगीतिक कार्यक्रमका क्रममा माया जर्मनी, नेदरल्याण्ड, स्पेन, बेल्जियम लगायत देशमा पुगेकी थिइन् । उनलाई युरोप लैजाना मोना नेदरल्याण्डका अध्यक्ष एवं मोना आइइसिका साँस्कृति संयोजक जंगबहादुर पुन, विश्व मगर समाज बेल्जियमका उपाध्यक्ष सोनिया पुन, हिमालय प्रोजेक्टकी महासचिव निता बवदुजा लगायतले विशेष पहल गरेका थिए ।

गायिका मायाले एनआरएन नेदरल्याण्डले गरेको कार्यक्रममा अध्यक्ष मनोहरी शर्मालाई मायाको चिनो स्वरुप नेपालको झन्डा दिएकी थिइन् । झन्डा ग्रहण गरेपछि अध्यक्ष शर्माले नेपालबाट थुप्रै कलाकारलाई युरोपमा बोलाए पनि अहिलेसम्म कसैले झन्डा उपहार नदिएको भन्दै मायालाई धन्यवाद दिएको उनले सुनाइन् ।