ऊर्जासचिव उपाध्यायको राजीनामा किन ?

ऊर्जासचिव उपाध्यायको राजीनामा किन ?


ऊर्जासचिव अनुपकुमार उपाध्यायले पदबाट राजीनामा दिएका छन् । लामो समयदेखि ऊर्जा मन्त्रालयमा रहेर कुशल भूमिका निर्वाह गरेका उनी आगामी फागुनमा सेवानिवृत्त हुँदै थिए । उपाध्यायले दिएको राजीनामा मन्त्रिपरिषदबाट स्वीकृत भइसकेको बताइन्छ ।

जनार्दन शर्मा ऊर्जामन्त्री रहेका बेला लोडसेडिङ हटाउने अभियानमा विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङसँगै सचिव उपाध्यायको पनि महत्वपूर्ण भूमिका रहेको मानिन्छ । विद्युत प्राधिकरणलाई व्यवस्थित गर्दै नाफामा लैजान उनको महत्वपूर्ण भूमिका रहेको बताइन्छ ।

सरकाले विद्युत नियमन आयोग गठन गर्न लागेको अवस्थामा उपाध्यायको राजीनामा आउनुलाई यसैसँग जोडेर हेरिएको छ । ऊर्जा क्षेत्रका ज्ञाता उपाध्याय गठन हुन लागेको नियमन आयोगको अध्यक्ष बन्न इच्छुक रहेकोले राजीनामा दिएको बताइन्छ ।

विद्युत नियमन आयोग गठन गर्न ऊर्जा मन्त्रालयकै अर्का सचिव सञ्जय शर्माको नेतृत्वमा बनेको समितिले आयोग गठनका लागि अध्यक्षसहित चारजनाका लागि कात्तिक ३० गते दरखास्त मागेको थियो, त्यसका लागि दरखास्त बुझाउने आज अन्तिम दिन हो । गठन हुन लागेको आयोगको अध्यक्षका लागि उपाध्यायसँगै सुमन शर्मा र जगतकुमार भुसाल पनि दाबेदार रहेको मानिन्छ । शर्मा पूर्वऊर्जासचिव हुन् भने भुुसाल विद्युत महसुल निर्धारण आयोगका पूर्वअध्यक्ष हुन् ।