धर्म प्रचारमा सरकारको सहभागिता आपत्तिजनक : थापा

धर्म प्रचारमा सरकारको सहभागिता आपत्तिजनक : थापा


राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले एउटा धर्म प्रचारक संस्थाको कार्यक्रममा सरकारको सहभागिताप्रति आपत्ति जनाएका छन् ।

बिहीबार (आज) जनकपुरमा आयोजित एक कार्यक्रममा अध्यक्ष थापाले इसाई धर्म प्रचार गर्ने संस्थाको कार्यक्रममा सरकार नै सहआयोजक बन्नु आपत्तिजनक रहेको र सरकारको यस कार्यले देशमा अस्थिरताको खतरा बढाएको दाबी गरे ।

मिडिया नेपालद्वारा आयोजित सो कार्यक्रममा थापाले भने, ‘इसाई धर्म प्रचारक संस्थाको कार्यक्रममा सरकारको यसप्रकारको सहभागिता बहुसंख्यक हिन्दू आस्थावानमाथिको प्रहार हो ।’ उनले सरकारको यस कार्यले देशलाई द्वन्द्वतर्फ धकेलेको आरोप लगाए ।

जनआन्दोलनपछिको समयमा लाखौँ व्यक्तिलाई हरेक प्रलोभन दिएर धर्म परिवर्तन गराइएको उनको भनाइ छ । यसरी धर्म परिवर्तन बढ्दै गए देश धार्मिक तथा सांस्कृतिक द्वन्द्वमा फस्ने उनको भनाइ छ ।

सो अवसरमा अध्यक्ष थापाले आगामी फागुन ७ गतेदेखि संगठन सुदृढीकरण अभियान, पार्टी इकाइको पुनर्गठन, ५० हजार सदस्यता वितरण र हिन्दूराष्ट्र पुनर्जागरणको अभियान चलाइने जानकारी दिए ।