उपमहानगरमै छात्राको यो हरिविजोग

उपमहानगरमै छात्राको यो हरिविजोग


नेपालगञ्ज उपमहानगरपालिकाअन्तर्गत सञ्चालित अधिकांश सामुदायिक विद्यालयमा अध्ययन गर्ने छात्रा महिनावारीको समयमा विद्यालय जाँदैनन् ।

विद्यालयमा छात्रामैत्री शौचालय नहुनु र सरसफाइका लागि पानी अभाव हुने गरेका कारण छात्रा चाहेर पनि विद्यालय जान नसकेका हुन् । चाहेर पनि विद्यालय जान नसक्ने बाध्यताका कारण उनीहरूको अध्ययन प्रभावित हुने गर्छ भने मानसिक पीडाले पनि छात्रालाई पिरोल्ने गर्दछ ।

‘विद्यालयको शौचालय अत्यन्त फोहोर हुने गर्छ, प्याड फाल्ने स्थान र सरसफाइका लागि पानी अभाव हुने भएकाले महिनावारी भएका बेला चाहेर पनि विद्यालय जान सकिँदैन,’ कक्षा १० मा अध्ययनरत छात्रा श्वेता कनौजियाको भनाइ छ ।

नेपालगञ्ज उपमहानगरपालिकामा कुल ४३ सामुदायिक विद्यालयमा अध्ययन गर्ने छात्राको संख्या पाँच हजार ७७६ रहेको छ । यहाँका केही सामुदायिक विद्यालयमा अहिले छात्रामैत्री शौचालय निर्माण भइरहेका छन् । तर, अझै थुप्रै विद्यालयमा छात्रामैत्री शौचालय निर्माण हुन सकेको छैन । नेपालगञ्ज उपमहानगरपालिकाले पञ्चवर्षीय परियोजनाअन्तर्गत नगरका सामुदायिक विद्यालयमा छात्रामैत्री शौचालय निर्माण गर्ने योजना बनाएको शिक्षा शाखा प्रमुख मनप्रसाद रेग्मीले बताए ।

विशेषतः कक्षा ६ देखि १० सम्मका छात्रालाई सेनेटरी प्याड र छात्रामैत्री शौचालय विद्यालयमा नहुँदा उनीहरूको पठनपाठन प्रभावित हुने गरेको शिक्षिका मोहिनी योगीले बताइन् ।