पति–पत्नी मिलेर सहकारीमा करोडौँको ठगी

पति–पत्नी मिलेर सहकारीमा करोडौँको ठगी


देशकै प्रमुख व्यापारिक केन्द्र न्युरोडको धर्मपथस्थित एयरटेल बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष सुमन केडिया र संस्थाकै प्रबन्ध सञ्चालकसमेत रहेका उनकै पति अशोक गोयल (जैन)ले सहकारी संस्थामा सर्वसाधारण सेयर बचतकर्ताले जम्मा गरेको करोडौँ रकम हिनामिना गरी फरार भएपछि उक्त सहकारी संस्थामा बचत गर्ने सेयर सदस्यहरू तनावमा छन् । उनीहरूको दैनिकी टेकुस्थित काठमाडौं प्रहरी परिसरमा धाउँदैमा ठिक्क छ ।

झन्डै ५० करोडबराबरको रकम हिनामिना भएको प्रारम्भिक अनुमान गरिएको छ । सहकारी संस्थाका अध्यक्ष र प्रबन्ध सञ्चालकसहित उनीहरू निकटस्थ रहेका सहकारीमै आबद्ध सीमा वंशल (अग्रवाल), सारिका जैन, सुरेन्द्रकुमार अग्रवाल, पुरुषोत्तम अग्रवाल, रवीन्द्र सिंह र दीपेन्द्र शर्मामाथि सहकारीपीडितले आफूहरू ठगिएको भन्दै किटानी जाहेरी दिएका छन् ।

प्रदेश ३ को प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयबाट २०७५ असोज १९ न्युरोडस्थित एयरटेल बचत तथा ऋण सहकारी संस्थामाथि भएको आर्थिक अनियमितता प्रकरण छानबिन गरी कारबाही गर्न महानगरीय प्रहरी परिसर, काठमाडौंलाई पत्राचारसमेत भइसकेको छ । तर, लामो समय बित्दासमेत काठमाडौं प्रहरीले उक्त प्रकरणमा छानबिन गरिरहेजस्तो गरे तापनि अनुसन्धान प्रभावकारी नदेखिएको पीडित पक्षको गुनासो छ । यसअघि सहकारीकै एक सदस्य सुरेन्द्रकुमार अग्रवाल पक्राउ परेपछि प्रहरीकै उच्च अधिकारीसमेतको दबाबमा फरार रहेका अध्यक्ष सुमन केडिया र प्रबन्ध सञ्चालक अशोक गोयल (जैन) लाई झिकाउने सर्तमा उसलाई हिरासतमुक्त गरिएको थियो । पक्राउ परेका सुरेन्द्रलाई छोडाउन आफूलाई नेपाली काङ्ग्रेसको नेता भन्न रुचाउने पशुपति विकास क्षेत्रका पूर्वसदस्यसचिव सुशील नाहाटाले निकै चलखेल गरेका थिए । उनकै दौडधुपले गर्दा अनुसन्धानमा केही असर परेको पीडित पक्षको दाबी छ । ‘सुशील नाहाटाकै नाममा हामीलाई तर्साउनेसमेत काम भएको छ,’ पीडितमध्येका एकले भने, ‘प्रहरी हेडक्वार्टरका एक एआईजीको समेत नाम बारम्बार लिएर मुद्दा फिर्ता लिन दबाब परिरहेको छ ।’ तर, जस्तोसुकै दबाब थेग्न आफूहरू तयार रहेको भन्दै मुद्दा फिर्ता नलिने पीडित पक्षको भनाइ छ ।

पीडित पक्षका अनुसार सहकारीमा जम्मा भएको बचतकर्ताको रकममध्ये केही विभिन्न व्यक्तिका नाममा ऋण प्रवाह गरिएको तथा केही रकम ललितपुर फाइनान्समा लगानी देखिएको छ भने बाँकी रकममध्ये सीमा वंशल, सारिका जैन, सुरेन्द्र अग्रवाल, पुरुषोत्तम अग्रवाल, रवीन्द्र सिंह र दीपेन्द्र शर्माका नाममा प्रत्यक्ष लगानी गरिएको पाइएको छ भने कतिपय रकम अघोषित रूपमा उनीहरूले नै चलाइरहेको अवस्था छ । ‘सहकारीबाटै रकम लिएर आफ्नो नाममा जग्गा पास गरेका छन्, तर उक्त जग्गा आफूले आफ्नै सम्पत्तिबाट खरिद गरेको भनिरहेको अवस्था छ,’ पीडितले भने, ‘त्यसरी जग्गा खरिद गर्ने सम्पत्ति कहाँबाट आयो, त्यसको त्यतिबेलाको मिति मात्र खोज्यो भने सम्पत्तिको स्रोत आफँै पत्ता लाग्छ ।’

पीडितहरूले सहकारीको नाममा जम्मा भएको रकम सहकारीकै पदाधिकारीका नाममा रहेकाले उक्त चल–अचल सम्पत्ति फिर्ता गराएर आफूहरूलाई भागवण्डामै भए पनि दिलाइदिन प्रहरीसमक्ष गुनासो गर्दै आएका छन् । तर, यसअघि काठमाडौं प्रहरी परिसरका मुद्दा शाखा प्रमुख डीएसपी मोहन थापाले हेर्दै आएको उक्त छानबिन प्रकरण पछिल्लो साता एकाएक अर्का डीएसपी होवेन्द्र बोगटीकोमा स्थानान्तरण गरिएको छ ।

आर्थिक अनियमितता प्रकरणबाट उम्कन नसक्ने देखिएपछि र उक्त रकम आफू र आफ्नी श्रीमतीले मात्र हिनामिना गरेको नभएर सहकारीका अन्य पदाधिकारीको पनि संलग्नता रहेको बताउँदै यसअघि फरार सहकारीका प्रबन्ध सञ्चालक अशोक गोयल (जैन) पीडितहरूको सम्पर्कमा आएर प्रहरीसमक्ष आत्मसमर्पण गरेपछि यसअघि आफूहरूका नाममा रहेको धन सम्पत्ति फर्काउनुपर्ने भयले सहकारीका अन्य सञ्चालक यतिबेला छटपटाउन थालेका हुन् ।
‘लोग्ने–स्वास्नी नै फरार भए, अब आउँदैनन् भन्ने सोचेर उनीहरूमाथि सहकारीमा भएको आर्थिक बदमासीको आरोप लगाइरहेका थिए, तर प्रबन्ध सञ्चालक जैन प्रहरी सम्पर्कमा आएपछि आफूहरूको पनि अनुहार छरपष्ट हुने भयो भन्ने चिन्ता उनीहरूमा परेको हो,’ सहकारी पीडितको भनाइ छ ।

गोयलका श्रीमान्–श्रीमतीमाथि दोष थुपारेर आफू चोखिने नियत पालेकाहरू आफैं कारबाहीमा पर्ने भएपछि यतिबेला विभिन्न शक्ति केन्द्र धाएर प्रहरीले गर्दै आएको छानबिन कार्य अल्मल्याउने दुस्प्रयासमा लागेका छन्, सहकारीका केही सदस्यहरू । त्यसैको प्रभावस्वरूप प्रहरीले पक्राउ पुर्जी जारी भएकाहरूलाई पनि पक्राउ गर्न आनाकानी गरिरहेको देखिन्छ । तर, स्वयम् प्रहरीले भने पहिलो चरणको छानबिनपछि दोषी पाइएमा संस्थामा आबद्ध कसैले पनि उन्मुक्ति नपाउने बताएको छ ।