जङ्गबहादुर कति राष्ट्रवादी थिए ?

जङ्गबहादुर कति राष्ट्रवादी थिए ?


यसै साल (वि.सं. १९२०) श्री ३ जंगले जन्म–मरणको रेकर्ड (Record) राख्ने कार्यलाई अनिवार्य गरी पहाड–मधेसतर्फ– गौँडा, गोश्वारा, जिल्ला–जिल्लामा आदेश गरी पठाए । यसरी जन्म–मरणको रेकर्ड राख्नुपर्ने अनिवार्य नेपाल अधिराज्यभर सर्वप्रथम लागू गरियो ।

वि.सं. १९२१ असार, तदनुसार जुन १८६४ ई. ताका श्री ३ जंगले रेजिडेन्सअन्तर्गतका सम्पूर्ण व्यक्तिहरूलाई काठमाडौं चार–भञ्ज्याङभित्र स्वेच्छतापूर्वक घुमफिर गर्न र नेपालीहरूलाई पनि रेजिडेन्सी (लैन) भित्र पस्न र लैतनजिक मडारिरहनसमेत कडा प्रतिबन्ध लगाए । यस सम्बन्धलाई लिएर रेजिडेन्ट कर्णेल जर्ज ऱ्यामजेले जुलाई ६ ता. १८६४ ई. का दिन ब्रिटिस–भारत सरकारलाई सूचना गरे । सूचनामा ‘प्रधानमन्त्री जंगबहादुरको आदेशबिना न हामी याने रेजिडेन्सीअन्तर्गतका मानिसहरू काठमाडौंमा चार–भञ्ज्याङभित्र स्वेच्छताका साथ घुमफिर गर्न सक्दछौँ न नेपालीहरू नै रेजिडेन्सीवरिपरि घुम्न सक्दछन्’ आदि कुराहरू सूचना गरेका थिए । उक्त सूचना र प्रतिबन्धबाट रेजिडेन्ट ¥यामजेले फेरि पनि नेपाल सरकारविरोधी चालचलन खोजी कुनै नेपालीलाई गुप्तचर गराई कार्यसिद्ध गर्न खोजेको बुझेबाट जंगबहादुरले यसप्रकारको प्रतिबन्धको कार्य गरेको बुझिन्छ ।

यसै साल श्री ३ जंगले गोकर्णमा झैँ नागार्जुनमा पनि जङ्गलको चारैतर्फ पर्खालले घेर्न लगाई त्यहाँ बङ्गलासमेत निर्माण गराउन लगाए । तागार्जुनमा पनि जंगले गोकर्ण र छरीमायाझैँ जिउँदा जनावरहरू र चराहरू छोड्न लगाए ।

दिसम्बर १८६५ ई. को सुरुमै श्री ३ जंग तराईतर्फ पुनः सिकारको निमित्त ओर्ले । सिकार सवारी क्याम्प दर्दरा, डियो माडी, प्रतापपुर, महादेवटार, भवानी खटुवा र टमरयैलाहरूमा खडा भयो । उपरोक्त सबै ठाउँहरूमा श्री ३ जंगले सिकार खेले । अन्तमा ड्युमाको जङ्गलमा हात्ती खेदा गरे । हात्ती खेदामा दुईवटा ढोई हात्ती मात्र पक्राउमा परे । यसरी जनवरी २३ ता. १८६५ ई. का दिन श्री ३ जंग काठमाडौं फर्की आइपुगे । यस सालको सिकार सवारी अति छोटो भयो ।

पूर्व पहाडतर्फ जग्गा नापी गर्दा धेरैले जग्गा–जमिन बढी लिई सो जमिनको मालपोतसमेत नतिरी उपभोग गरेको देखिएकाले उपरोक्त देखिन आएको बढी जमिन जग्गावालहरूसँगबाट खोसी लिई सो बढी देखिएको सम्पूर्ण जग्गा–जमिनहरू सन् १८६५ ई. सम्ममा सुकुम्बासी भोटेहरूलाई वितरण गर्ने कार्य गराए ।
भारतका राजा–रजौटाहरूका साथै महामहिम जंगबहादुरलाई ‘१७’ तोपको सलामी दिई इज्जत गर्ने भन्ने त्यस समय भारतबाट प्रकाशित हुने पत्रिकामा लेखिएको जानकारी जंगबहादुरले पाएपछि रेजिडेन्ट ऱ्यामजेमार्फत वि.सं. १९२२ वैशाख वदी ८ रोज ४ का दिन श्री ३ जंगले ब्रिटिस–भारत सरकारलाई पत्र लेखी पठाए ।

सो पत्रको मस्यौदा मुन्सीखानामा राखिएकोमा अनुवाद गरी लेखिएको निम्नप्रकार छ– ‘ठूलो नेपाल दर्वारबाट जैल्हे अम्बासडर भै इंग्लैन्डतर्फ म दोस्त गयाथ्याँ म दोस्तलाई १९ तोपको इज्जतको सलामी भयाथ्यो, हिन्दुस्थानको गभरमेन्टलाई मदद् दिन र हिन्दुस्थान हंगामा र फसाद गन्र्याहरू फौजलाई दबाउन र सिकिस्त दिनालाई सर्कार नेपालका तरफबाट गोर्षाली फौज मेत स्मेत म दोस्त लखनौतिर जाँदा उसबखतमा पनि माथि लेषीया माफिक म दोस्तलाई १९ तोपको इज्जतको सलामी भयाको हो हिन्दुस्थानीका हङ्गामा गन्र्या र दङ्गा मचाउन्या फौजलाई दबायापटी ग्रान्ड.क्रस.अफ.दी. बाथको तग्मा मदोस्तले पाएको हो म दोस्तलाई गवरमेन्टबाट हिन्दस्थानको राजाहरूका सलामी लेष्याको कागजमा अघी भन्दा इज्जतमा कम गरी म दोस्तको सलामी १७ तोपको लेषी आयो अत्ती. अघि म दोस्त अम्बासडर भै विलायत जाँदामा र गोर्षाली फौजका कमान्डर–इन–चीफ भै लषनौ जादा पनी ई दुबै बषतमा १९ तोपको सलामी म दोस्तलाई मील्याको हो. यसै नीमीत्त गवरनर जनरल क्यानीङ्ग बहादुरका वषत्मा म दोस्तले इज्तमा जो पायाको हो सोही इज्जत अब पनी म दोस्तले पाउनुपर्छ ।’

(श्री ३ हरूको तथ्य वृत्तान्त)