प्रियङ्काको वैवाहिक समारोह किन पऱ्यो विवादमा ?

प्रियङ्काको वैवाहिक समारोह किन पऱ्यो विवादमा ?


बलिउड स्टार प्रियङ्का चोपडा र अमेरिकी गायक निक जोनासबीचको वैवाहिक सम्बन्ध यतिबेला निकै चर्चामा छ । प्रियङ्का जस्ती सुन्दरी एवम् लोकप्रिय अभिनेत्रीको विवाहको चर्चा हुनु कुनै अनौठो विषयचाहिँ होइन, र उमेरले आफूभन्दा करिव १० वर्ष जुनियर युवकसँग बिहे गरेको कारण उनी चर्चामा रहेकी पनि होइनन् ।

यतिबेला एक फरक कारणले प्रियङ्का–निक जोडीको विवाह विवादमा परेको छ । यसरी विवादमा तान्ने विषय हो– यो जोडीले पशुअधिकारमाथि खेलबाड गऱ्यो !

विश्वभरका पशुको अधिकारका लागि क्रियाशील रहँदै आएको संस्था ‘पशु अधिकार संगठन’ (पीईटीए) ले बलिवुड स्टार प्रियंका र निकले बहुचर्चित ‘जोधपुर विवाह समारोह’मा हात्ती र घोडाहरूको जुन रूपले ‘उपयोग’ गरे, त्यसबारे दुःख र चिन्ता प्रकट गरेको छ ।

विवाह समारोहमा ‘फायर क्रैकर्स’को प्रयोग गरिएको विषयलाई सामाजिक सञ्जाल उपयोगकर्ताको एक तप्काले निकै विरोध गरेको थियो भने विरोधको यही लहरमा पीईटीए उभिन पुगेको हो ।

घोडा र हात्तीजस्ता जनावरलाई सास्ती दिँदै आफ्नो विवाहमा प्रियङ्काले किन प्रयोग गर्नुपरेको थियो भन्ने सवाल उठाउँदै पशु-अधिकारवादी सो संस्थाले ट्वीटरको माध्यमबाट चिन्ता प्रकट गरेको हो । ‘सचेत मानिसहरू अहिले घोडा/हात्तीको दूरुपयोगमुक्त विवाह गरिरहेका छन्, यस्तोमा प्रियङ्का जस्ती हस्तीले जनावरलाई दुःख दिनु चिन्ताको विषय हो, जनावरको लागि उनको बिहे सुखद दिन बन्न सकेन’ भन्दै ब्यङ्ग्यात्मक शैलीमा पीईटीएले आलोचना गरेको छ ।

बताइएअनुसार विवाहको निम्ति निक घोडामा सवार भएर गएका थिए । यतिमात्र नभई क्रुरतापूर्ण तरिकाले ‘सजाइएका’ घोडाको प्रयोग विवाह समारोहमा गरिएको थियो ।

आफ्नो बिहेको शान बढाउन प्रियङ्काले यसरी हात्ती–घोडाको प्रयोग गरेको भए पनि यसैका कारण उनको मान चाहिँ बढ्नुको साटो घटेको पशु-अधिकारवादीको तर्क छ ।