शृङ्खलाले ‘घर फर्किंदा मिस नेपाल भएर आउँछु’ भनेकी थिइन्, जितेरै आइन्

– विरोध खतिवडा (नेकपाका नेता एवम् सांसद)

151 Shares

तत्कालीन नेकपा (एमाले)का चर्चित नेता विरोध खतिवडा ०४८ मा पहिलोपटक मकवानपुरबाट विजयी भई संसद् पुग्नुभएको थियो । त्यसपछि ०५१ र ०५६ मा भएका संसदीय निर्वाचनमा पनि उहाँ विजयी बन्नुभयो । संविधानसभाका दुवै निर्वाचनमा चाहिँ उहाँ उम्मेदवार बनाइनुभएन, तर ०७४ सालमा भएको निर्वाचनमा पुनः उहाँ मकवानपुरबाट सङ्घीय संसदमा निर्वाचित हुनुभएको छ । कुनैबेला कम्युनिस्ट नेता बद्रीप्रसाद खतिवडाका पुत्रका रूपमा पनि उहाँ चिनिनुहुन्थ्यो, तर राजनीतिक रूपमा उहाँको आफ्नै पहिचान छ । निष्ठाका साथ संलग्न यति लामो राजनीतिक जीवनमा पनि उहाँले अहिलेसम्म मन्त्रीको जिम्मेवारीचाहिँ पाउनुभएको छैन । ठीक यतिबेलाचाहिँ उहाँ विश्वसुन्दरी प्रतियोगिताकी सशक्त प्रतिस्पर्धी शृङ्खला खतिवडाका पिता भनेर पनि चिनिन थाल्नुभएको छ । कहिले बाबुको नामबाट त कहिले छोरीको नामबाट चिनिँदै गरेको परिवेशमा नेकपाका नेता विरोध खतिवडासँग गरिएको कुराकानी :

हेर्नुहोस् कुराकानीको भिडियो-

० तपाईं आफैंमा सक्रिय राजनीतिज्ञ हुनुहुन्छ, तथापि राजनीतिको शुरुवाततिर पिताजीको नामबाट चिनिनुहुन्थ्यो भने अहिले आएर फेरि छोरीको नामबाट चिनिँदै हुनुहुन्छ, कस्तो महसुस भइरहेको छ ?
– यसलाई म पोजेटिभ रूपमै लिन्छु । मेरा बुबा कुनै बेला शैक्षिक आन्दोलनका सर्वेसर्वा वा एकलौटि नेताकै रूपमा चिनिनुहुन्थ्यो । उहाँ सबैले मानेका नेता हुनुहुन्थ्यो जतिबेला म हुर्कंदै पढ्दै थिएँ । त्यस हिसाबले बुबाको नामबाट चिनिनु अस्वाभाविक भएन । यस्तै, मेरी छोरी यतिबेला मिसवल्र्ड प्रतिस्पर्धामा छिन्, सबैले राम्रै छ भनेर पोजेटिभ कमेन्ट दिएका छन् । यो दुवै कुरामा मलाई गर्व छ । चाहे जुनसुकै फिल्डमा होस् आफ्नो सन्तानले हासिल गर्न खोजेको विधामा अब्बल देखिनु भनेको खुसीकै कुरा हो, एक बाबुको नाताले गर्व गर्नलायक नै विषय हो । आफ्नो सन्तानको सफलतामा बाबुआमा खुसी हुन्छन् नै ।

० फलाना बाबुको छोरा भनेर चिनिँदा र फलाना सन्तानका बाबु भनेर चिनिँदा कस्तो अन्तर महसुस हुँदोरहेछ नि ?
– यस्तो खास फरक भएको महसुस भएको छैन मलाई । यो केवल पुस्ताको कुरा हो । करिब ४० वर्षमाथिका मानिसले उनलाई विरोध खतिवडाकी छोरी भनेर चिन्छन् होला, अनि भर्खरै परिपक्व बन्न लागेकाहरूले चाहिँ मलाई शृङ्खलाका बाबु भनी पुकार्दा हुन् । कुनैबेला मेरा पितालाई चिन्नको लागि ‘विरोध खतिवडाका बाबु’ भन्ने समय पनि आएको थियो । त्यस्तो सुन्दा मेरा बुबालाई गर्वानुभूति नै भएको थियो । यसैगरी यतिबेला मेरी छोरीको नामबाट कसैले मलाई चिन्छन् या चिन्न खोज्छन् भने नराम्रो कुरा के भयो र ? यसमा अनुभूतिकै अन्तरचाहिँ महसुस भएको छैन ।

० तपाईंकी छोरीले यसरी सुन्दरी प्रतियोगितामा भाग लिने कुरा पहिलेदेखि नै सोच्ने गर्दथिन् कि अचानक यस्तो निर्णय लिइन् ?
– यो पछि अचानक नै हो । मेरी छोरीको स्वभाव नै यस्तो छ कि जे कुरा गर्छु भन्ने लाग्यो उनी त्यसमा दत्तचित्त भएर लाग्छिन् र त्यसलाई अब्बल रूपमै पूरा गर्छिन् । एसएलसीमा अब्बल नम्बर ल्याएर पास हुन्छु भन्थिन्, ९२ प्रतिशतभन्दा माथि ल्याइन्, एघार–बाह्र साइन्समा पनि त्यस्तै नम्बर ल्याइन् । त्यसपछि आर्किटेक्ट इन्जिनियर पढ्छु भनिन् र पुल्चोक क्याम्पसमा इन्ट्रान्स दिएर राम्रो नम्बर ल्याई भर्ना भइन् । आर्किटेक्ट इन्जिनियरको रूपमा पनि उनी मुलुकभरकै प्रतिस्पर्धीमध्ये अगाडि परेकी थिइन् । यसअघि पढाइबाट केही समय फुर्सद निस्किएको बेला मिस नेपाल प्रतियोगितामा भाग लिने निर्णय लिइन् । उनी प्रतियोगिता जितेरै छाड्छु भन्थिन् । अन्तिम प्रतियोगिताको दिन बिहान घरबाट निस्कँदा आफ्नी आमासँग ‘ममी अहिले म शृङ्खला भएर जाँदै छु बेलुका घर फर्किंदा मिस नेपाल शृङ्खला भएर आउँछु’ भनेकी थिइन्, साँच्चै जितेर आइन् । मतलब, आफूलाई इच्छा लागेको विधामा उनी यस्तो लगाव र लगन देखाउँछिन् ।

० उनले सुन्दरी प्रतियोगिताप्रति रुचि दर्शाएको बेला तपाईंलाई यस्तो लागेन कि म एउटा कम्युनिस्ट पार्टीको नेता, मेरी छोरीचाहिँ यस्तो प्रतियोगितामा किन जाने ?
– प्रश्न त यो ठीकै हो, तर त्यस्तो ‘कन्जरभेटिभ’ सोचबाट म धेरै नै अघि बढिसकेको थिएँ । पहिले–पहिले अलि–अलि विरोध गरे पनि वास्तवमा यो आवश्यक या सही होजस्तो लााग्दैनथ्यो । सुन्दरी प्रतियोगिताका अनेक आयाम छन्, यसबाट व्यक्तित्व विकासमा योगदान पुग्छ, सोच्ने दायरा फराकिलो हुन्छ भन्ने बुझ्न थालेको थिएँ । पहिले–पहिले सामन्ती समाजमा बन्द कोठामा यस्ता प्रतियोगिताका तयारीहरू हुन्थे भने अहिले त्यो अवस्था रहेन । सब कुरा पारदर्शी छ, छिनछिनमा के भइरहेको छ हेर्न–बुझ्न सकिन्छ । त्यतिबेला पत्रपत्रिकामा आएका समाचार हेरेर मात्र कुनै अनुमान लगाउन सकिन्थ्यो । त्यसभित्र व्यापक शोषण गरिन्छ, अथवा नाङ्गै पारिन्छ भन्नेजस्ता चर्चा चल्दथे र त्यसको विरोध गरिन्थ्यो । तर, आजको अवस्थामा म बुझ्दै छु कि हामीले भन्ने गरेका विकृति त्यसभित्र मैले पाएको छैन । अर्को कुरा आयोजकहरू र प्रतियोगीहरू पनि आधुनिक हुँदै गए । मानवअधिकारका प्रश्नहरू उठ्यो, महिलाका व्यक्तिगत स्वतन्त्रता र महिला अस्मिताका सवालहरू उठे, त्यसलाई पनि महिला हिंसाको रूपमा व्याख्या हुन थालेपछि सुन्दरी प्रतियोगिताको बुझाइमै व्यापक बदलाव आएको छ ।

पहिले सामन्ती समाजमा बन्द कोठामा यस्ता प्रतियोगिताका तयारीहरू हुन्थे, त्यसभित्र व्यापक शोषण गरिन्छ, अथवा नाङ्गै पारिन्छ भन्नेजस्ता चर्चा चल्दथे र त्यसको विरोध गरिन्थ्यो । तर, अहिले त्यो अवस्था रहेन, सब कुरा पारदर्शी छ, छिनछिनमा के भइरहेको छ हेर्न–बुझ्न सकिन्छ । हामीले भन्ने गरेका विकृति आजको अवस्थामा त्यसभित्र मैले पाएको छैन ।

० शृङ्खलाको स्वभाव सानैदेखि ‘जिद्दी’ हो कि कसो ?
– जिद्दी होइन, दृढचाहिँ हो । लागेको काम या चाहेको कुरा पूरा हुनैपर्छ या पाउनैपर्छ भन्ने खालको स्वभावचाहिँ हो । कुन कुरा सही या गलत भनेर आफैँले सोच–समझ बनाएर निर्णय लिन सक्ने खुबी या परिपक्वता उनमा रहेकोले हामीले अवरोध गरिरहनुपरेन । तर, पढाइप्रति लापरबाह नबन्नचाहिँ हामी झकझक्याइरहन्थ्यौँ ।

० ठ्याक्कै यस्तै हो भनी छोरीको स्वभावबारे तपाईंले बताउनुपर्दा तपाईं के भन्नुहुन्छ ?
– मिलनसार स्वभाव हो, तर सर्कल सीमित थियो र पढ्ने थलो र ‘एज फ्याक्टर’अनुसारका आफ्ना साथीहरूसँग हरदम सामिप्यता राख्ने उनको स्वभाव हो । आफ्नी आमासँग बढ्ता निकट हुनु त हरेकजसो छोरीको विशेषता नै हो जस्तो लाग्छ । हरेक समस्या उनी सेयर गर्छिन् आफ्नी आमासँग । सबभन्दा महत्वपूर्णचाहिँ जे काममा लाग्ने हो त्यो अवस्थामा अरू कुरामा ध्यान नदिने लगनशील र समर्पित स्वभाव छ उनको ।

० मिस नेपालमा जाँदा जितेरै आउँछु भनेजस्तै मिस वल्र्डमा जानुअघि चाहिँ उनको अभिव्यक्ति के थियो नि ?
– अब फर्किंदा तपाईंले मलाई मिस वल्र्डको रूपमा भेट्नुहुनेछ आमा भनेर गएकी हुन् । आफू सुत्ने बेडमाथि पहिले नै ‘मिस वल्र्ड २०१८’ लेखिएको काठमा कुँदिएको ब्यानर नै झुन्ड्याएर गएकी छन् । यसले दर्शाउँछ कि उनको आत्मविश्वास दह्रिलो छ ।

० छोरीको यसखालको स्वभाव हुनु र उनले सफलता पनि पाउँदै जानुमा तपाईंको आफ्नो योगदानचाहिँ के छ भन्ने लाग्छ ?
– मेरो क्षमता र चासोको विषय नभएकोले यसमा मेरो केही योगदान छ जस्तो लाग्दैन । उसले पढाइका लागि जे विषय रोजेकी हो, त्यसमा मैले केही बुझ्ने सवालै छैन । अतिरिक्त क्रियाकलाप, जस्तो कि खेलकुद, गीत–सङ्गीत आदिमा उसको सहभागिता नभएकोले त्यसमा पनि मैले कुनै सहयोग गरूँ भन्ने कुरा रहेन, ओभरअल रूपमा एउटा अभिभावकले निर्वाह गर्नुपर्ने आमभूमिका मात्र मैले उनको हकमा निर्वाह गर्दै आएको छु ।

० यदि छोरी मिस वल्र्ड भएर फर्किइन् भने त्यसबेला तपाईंले उनलाई दिने उपहार के हुन सक्छ ?
– यस्तो त मैले केही सोचेको छैन । अँगालो हाल्छु होला, बस् ।

हामीले चाहिनेभन्दा बढी आशा जगाइदियौँ । बीस वर्षपछि हुने कामको तृष्णा अहिले नै नजगाइदिएको भए हुन्थ्यो । बोलिहालियो र पनि त्यसलाई त फेरि बोलेरै मिलाउँला, ढाकछोप गरौँला, तर आधारभूत तवरले गर्नैपर्ने काम पनि गर्न सकिएन भनेचाहिँ मुस्किल नै पर्नेछ । अब ‘तर’, ‘किन्तु’, ‘परन्तु’, ‘कर्मचारीले टेरेनन्’, ‘मिडियाले अवरोध गऱ्यो’, ‘प्रतिपक्षले दुःख दियो’ जस्ता आदि-इत्यादि भन्दै अर्कालाई दोष लगाएर भाग्न खोज्नु भनेको सुतुरमुर्गले मुन्टो लुकाएजस्तो मात्रै हुनेछ ।

० प्रसङ्ग बदलौँ । राजनीतिमा धेरै वर्षदेखि निष्ठावान् भएर लागिरहनुभएको छ, तर मन्त्री बन्ने प्रस्तावचाहिँ नआएको हो कि इच्छा नराखेको हो ?
– यो दुवै कुरा हो भन्दा पनि हुन्छ । एक त प्रस्ताव पनि आएको छैन र मैले नाजायज इच्छा राखेको पनि छैन । इच्छा राखेको भए त्यो इच्छा पूर्ति गर्न–गर्नुपर्ने विभिन्न हर्कतहरू मैले गर्दथेँ होला । …

० कस्तो हर्कत ?
– नेताहरूसँग बेग्लै प्रकारको भेटघाट, विशेष प्रकारको नमस्कार गर्ने, विभिन्न ढोका चहार्ने गरिन्थ्यो होला, तर यसो गर्न मेरो आदतले दिँदैन । पार्टीको कामले बाहेक अन्य अमूर्त प्रयोजनले म नेताको ढोका ढकढक्याउन पुग्दिनँ ।

० तपाईंलाई घरमै आएर मन्त्री पद दिइयोस् भन्न खोज्नुभएको हो ?
– त्यस्तो होइन । नेताहरू भन्नुहुन्छ कि पार्टीले काम र योगदानको मूल्याङ्कन गर्छ, यही शिरोपर गरेर म आफ्नो काम गर्दै गएको छु ।

० यसको मतलब तपाईंले आन्दोलनमा, सदनमा र पार्टीका अन्य काममा निर्वाह गर्नुभएको कार्यको पार्टीले मूल्याङ्कन गरिरहेको छ भन्नेमा तपाईं विश्वस्त हुनुहुन्छ ?
– मेरो पार्टीले त्यही भनिरहेको छ, त्यसैलाई मैले मानेको छु ।

० तपाईं जहिलेदेखि पार्टीको काममा लाग्नुभएको थियो, त्यसबेला नजन्मिएकाहरू पनि अहिले मन्त्री बनिसके, उनीहरू तपाईंले भन्दा ज्यादा काम गरेरै मन्त्री भएका हुन् त ?
– मभन्दा अब्बल काम गरेर उहाँहरू मन्त्री बन्नुभएको त पक्कै होइन होला । मेरो विचारमा कतिपय अवस्थामा क्षेत्रले काम ग¥यो होला, कतै जात र लिङ्गले पनि काम गऱ्यो होला । अर्को पार्टमा भन्नुपर्दा अलिकता आफूलाई मन परेर पनि बनाइयो होला । कतिपयले मन्त्री पद नभई हुँदैन भनी मरिहत्ते पनि गरे होलान् र कतिपयका सवालमा नेताहरूले नै यसलाई मन्त्री बनाए कल्याण हुन्छ भन्ने ठानेर पनि बनाए होलान् । यस्ता–यस्ता चिजले काम गऱ्यो होला ।

० भनेपछि तपाईंचाहिँ नेताको प्रिय बन्न नसकेको हो ?
– मलाई त्यस्तै लाग्छ । म अलिक खरो स्वभावको छु, नेताहरूलाई अप्रिय लागे पनि मनमा लागेको कुरा बोल्नैपर्छ । कडा अनुशासनमा बाँधिएर बस्न सक्ने स्वभाव मेरो होइन, अलिक स्वतन्त्रताप्रिय छु । अनावश्यक रूपमा मसला दलेर गफ गर्ने आदत पनि छैन । यस्ता कारणले नेताको ‘प्रिय’ हुन नसकिएको हुन सक्छ ।

० २७ वर्ष लामो राजनीतिक जीवन मन्त्री नभएरै बित्यो, अब अर्को २७ वर्ष पनि यत्तिकै गयो भने त मन्त्री नभई जिन्दगी सकिने भयो त … ?
– के फरक पर्छ त ? यत्तिका नेपाली र संसारकै यत्तिका मान्छेले त्यो नभईकन बस्न–बिताउन सकेका छन् भने मैले मात्रै बिताउन नसक्ने हो र ? मतदाता नेपाली जनताले मलाई जहाँसम्म पुऱ्याउन सक्नेहुन् एकपटक पनि नछोडी मलाई पुऱ्याइदिनुभएको छ । अब योभन्दा माथि त जनताले नभई पार्टीकै उपल्ला पात्रहरूले पुऱ्याउन सक्ने हुन्, जो भइरहेको छैन त म के गरूँ ?

० कथम् कुनै नेतामा विवेक पलाएछ र तपाईंलाई मन्त्रीको जिम्मेवारी दिएछन् भने हालसम्मका मन्त्रीले गरेकोभन्दा फरक किसिमले के गर्न सक्छु भन्ने तपाईंमा सोच छ त ?
– यसमा धेरै काल्पनिक रूपले व्याख्या गरिरहनु आवश्यक पर्ला जस्तो मलाई लाग्दैन । मूल कुरा त जुन जिम्मेवारी हो, त्यो संविधान, कानुन र सम्बन्धित विभागीय नीति–नियमअनुसार तोकिएकै हुन्छ । सरकारको एक सदस्यका नाताले गर्नुपर्ने काम म इमानका साथ गर्ने नै छु । कस्तो जिम्मेवारी परेको छ भन्ने कुराले पनि ‘पर्फर्मेन्स’मा फरक पर्छ । आफ्नो चासो या खुबी देखाउन सकिने जिम्मेवारी भएमा कामको गुणवत्ता पनि देखिन्छ । अहिले मैले भन्न सक्ने भनेको त्यो ठाउँबाट हुन सक्ने काम अधिकतम् रूपमा गरेर देखाउन सक्छु भन्ने नै हो । विवादमा आउने कर्म नगरीकन म आफ्नो अवधि पूरा गर्छु भन्ने विश्वास ममा छ ।

० नेपालको इतिहासमै कम्युनिस्ट पार्टीले सर्वाधिक अवसर पाएको छ र सरकारका १० महिना गुज्रिएका छन् । सरकारको अहिलेसम्मका कामबाट सन्तुष्ट हुनुहुन्छ ?
– सन्तुष्टिले प्रगतिको बाटो रोकिन्छ भन्ने गरिन्छ, यो निकै हदसम्म सही पनि हो । त्यसैले सन्तुष्ट हुन त मिल्दै मिलेन । जहाँसम्म हुन सक्ने र हुनुपर्ने काम जनताले अनुभूत गर्ने गरी भए कि भएनन् भन्ने सवालमा चाहिँ सन्तुष्ट हुन सकिने गरी काम भएका छैनन् । आफ्नै पार्टीको सरकार भए पनि यो वास्तविकता बोल्नैपर्छ । तर, कार्यकारी भूमिकामा रहनुभएका प्रधानमन्त्री, मन्त्रीहरूका कुरा सुन्दा कामको परिणाम आउन ढिला भएको मात्र हो, परिणाम आउने गरी भित्रभित्रै धेरै काम भएका छन् । सय डिग्री तापक्रम नपुगेसम्म पानी उम्लिँदैन, नब्बे भइसकेको छ, अब दश डिग्री चढेपछि एकैचोटि पानी उम्लिएको देखिन्छ अर्थात् सरकारका काम एकैचोटि देखिनेछ भन्ने उहाँहरूको तर्क छ । यसैमा विश्वास गरेर म कुरिरहेको छु र आमनेपालीलाई पनि केही समय अझै कुर्न आग्रह गर्दछु ।

० कम्युनिस्ट पार्टीले पाएको यो सुवर्ण अवसरको सदुपयोग हुन सकेन भने यो पार्टीको भविष्यचाहिँ कस्तो होला ?
– आशा हामीले नै जगाइदिएका हौँ, भन्ने नै हो भने त चाहिनेभन्दा बढी आशा जगाइदियौँ हामीले । बीस वर्षपछि हुने कामको तृष्णा अहिले नै नजगाइदिएको भए हुन्थ्यो । बोलेपछि बोलिहालियो र पनि त्यसलाई त फेरि बोलेरै मिलाउँला, ढाकछोप गरौँला, तर सामान्य रूपले गर्न सकिने र आधारभूत तवरले गर्नैपर्ने काम पनि गर्न सकिएन भनेचाहिँ मुस्किल नै पर्नेछ । किनकि, अब तर, किन्तु, परन्तु, कर्मचारीले टेरेनन्, मिडियाले अवरोध गऱ्यो, प्रतिपक्षले दुःख दियो जस्ता आदि–इत्यादि भनेर अर्कालाई दोष लगाएर भाग्न खोज्नु भनेको सुतुरमुर्गले मुन्टो लुकाएजस्तो मात्रै हुनेछ । अब त्यस्ता नालायकी, कमजोरीको जिम्मा हामीले लिन सक्नुपर्छ । यस्तै हालतले अब चुनावमा जाँदा जनताले पत्याउने छैनन् र पत्याउनु पनि हुँदैन । आफूले बोलेका काम साँच्चै गर्न सकेनौँ भने फर्सी कुहिएकोजस्तो अवस्था आइपर्नेछ भन्ने मलाई लाग्छ । तर, अर्को एउटा वर्षचाहिँ अझै कुरेर हेर्नुपर्ला, दोस्रो वर्षमा पनि काम देखिएन भनेचाहिँ आशा मारे हुन्छ ।

151 Shares

प्रतिक्रिया