मौलिक उत्पादनको स्वाद र बास्ना कस्ले समाप्त गऱ्यो ?

(संयोगका पानाहरू–३०)

85 Shares

– गोपाल पराजुली

मलाई अझै सम्झना छ । हाम्रो घरमा दुई–तीनवटा भैँसी, २०–३० वटा बाख्रा, ८–१० वटा गाई थिए । गोठमा ती सबै चौपायालाई व्यवस्थापन गर्नुपर्ने हुन्थ्यो । बाख्राको जुत्तो, गाई र भैँसीको गोबरबाट प्रशस्त मलको प्रबन्ध गरी खेतीपाती हुन्थ्यो । घरमा नै सागसब्जी, मौसमअनुसारको फलफूल तथा तरकारीखेतीका अतिरिक्त धान, मकै, कोदो, तोरी, गहुँ, भटमास, मास, तिल, अदुवा, मेथी, अम्लिसो आदिको खेती हुन्थ्यो । खेतमा धानखेती हुन्थ्यो । खेतको आलीमा मास र भटमासबाहेक अरू खेती गरिँदैन थियो ।

संयुक्त परिवार प्रथाका कारण घरका प्रायः सबैजना वयस्क सदस्यहरू गाई, बाख्रा चराउन जाने र खेती–किसानीमा नै व्यस्त रहने चलन थियो । मिहिनेत कति थियो ? उत्पादन कति हुन्थ्यो ? उत्पादन खर्च कति पर्थ्यो ? कुनै हेक्का नभए पनि आफूले गरेको मिहिनेतबाट जीविकोपार्जन सजिलै चल्ने गर्दथ्यो । केही लगानी व्याज खाने प्रयोजनमा आसामीहरूलाई दिने चलन थियो । आसामीले दिने व्याज र खेतीपातीमा कडा परिश्रमका कारण इज्जत आमदअनुसारको व्यवहारबाट वञ्चित हुनु पर्दैनथ्यो । तथापि बेलाबखत हुने दैवीय विपत्ति र खासगरी असिनाको प्रकोपले अनिकालको स्थिति पनि निम्त्याउँथ्यो । धान भने अलिक अगाडिको पुरानो नै प्रयोग गरिन्थ्यो ।

बिहान सबेरै उठेर महिलाले ढिकीजाँतो गर्नुपर्ने र नजिकैको पँधेराबाट पानी बोकेर पशु चौपायाका लागि कुँडो–पानीलगायतका सबै काम सकेपछि खानपिनको व्यवस्था गरिन्थ्यो । घरमा ब्रतबन्ध गरेका र विवाह भएकाजतिले धोती फेरेर भान्सामा जाने चलन थियो । पहिलो पाकेको मकै कूल–देवतालाई चढाउने गरिन्थ्यो । धान पाकेपछि मंसिरको द्वादशी तिथि पारेर ‘न्वागी’ खाने गरिन्थ्यो । सामूहिक रूपमा पूजा गरेर गाउँभरि नै नयाँ चामलसँग दही मिसाएर त्यसमा गुलियो खुदो वा मिस्रीसँगै मरमसला राखेर बनाइएको विशेष खान्की ‘न्वागी’ खाने र खुवाउने चलन थियो । ठाउँठाउँको भिन्न–भिन्न रीतिथिति जे भए पनि किसानहरूले अन्न भित्र्याइसकेपछि मनाइने चाडवाडहरूमा आफैँले उत्पादन गरेको अन्नका विभिन्न परिकारहरूलाई बढी महत्व दिएको पाइन्छ ।

त्यसताका गाउँमा बजारको अभावमा चिनीको धेरै प्रचलन नभए पनि घरघरमा आफूलाई चाहिने उखुखेती गर्ने र त्यसबाट उत्पादन गरेको खुदो घैँटामा भरेर खुदोपानीदेखि गुलियो खाद्य सामग्रीका लागि चाहिने खुदो त्यसैबाट प्रयोग गर्ने चलन थियो । घरवरिपरि फल्ने कागती, निबुबाजस्ता फलहरूलाई पेलेर अमिलो चुक बनाई घैँटा वा काठको भाँडामा सञ्चय गरी राख्ने चलन थियो । उखु पेलेपछि खुदो उत्पादन गर्दा ठूलो रसेटामा मुडाहरूको आगो बालेर धेरै समय तताएपछि ताउलामा लस्सा आएपछि उखुको खोस्टाहरूलाई बात्तीजस्तो बनाएर त्यही तातो खुदोमा भिजाउने र त्यसलाई हामी केटाकेटीहरूले चकलेट जसरी चुसेर एक किसिमले मिठाइ जसरी खाने गर्दथ्यौँ ।

एउटा अचम्मको कुरा के थियो भने तामाको ताउलोमा उखुको रस पकाएपछि खुदो तयार हुँदा र रसेटाबाट त्यो निकाल्दा बीच भागमा त्यति धेरै तातोपन हुँदैनथ्यो । त्यसरी खुदो तयार भयो कि भएन भनेर त्यसको लस्सा बस्नेबित्तिकै रसेटाबाट निकाल्दा छाम्न सक्ने ताप हुन्थ्यो । तर, केही समयपछि त्यसमा ताप आउने एउटा अनौठो क्रिया त्यहाँ हुन्थ्यो । त्यो मैले नै अनुभव गरेको छु । त्यसको वैज्ञानिक कारण भने आजसम्म पनि बुझ्न सकेको छैन । हुन त आजभोलि त्यस किसिमको रसेटा, उखु पेल्ने कोल तथा खुदो वा गुड बनाउने गाउँघरको त्यो प्रविधि लोप भइसकेको छ । यद्यपि तराईका कतिपय ठाउँमा भने उखुको रसलाई भट्टीमा पकाएर भेली (गुड) बनाउने पेसा अझै लोप भएको छैन । आजभोलि मानिसले ब्ल्याक सुगरको नामबाट त्यसको प्रयोग गर्न थालेका छन् ।

नेपालमा अब कृषिमा आत्मनिर्भरता रहेन । गाउँमा एउटा परिश्रमी परिवार स्वयंले यो व्यवसायबाट अब हामी उँभो लाग्न सक्दैनौँ भन्ने ठोकुवा गर्दै धेरैथोरै भएको जग्गा नै बेचेर भए पनि केही समयको गुजारा गर्ने र छोराछोरीहरूलाई विदेश पठाउने विडम्बनापूर्ण यथार्थ हामीमाझ छ ।

आफ्नै घरको जनशक्तिद्वारा खेती गर्ने प्रयोजनका लागि गोरुद्वारा खेतबारी जोत्ने र हलीको प्रबन्ध गर्ने नेपाली परम्परा रहेकोमा आजभोलि हलगोरु पालेर खेती गर्ने हाम्रो मौलिक कृषि प्रणाली लोप हुँदै गएको छ । प्रविधिको विकास र एकल परिवारको कारणबाट पनि कृषि पेसा नयाँ दिशातर्फ जाँदै छ । यहाँनेर मलाई के स्मरण हुन्छ भने हाम्रा पहाडका साना–साना गह्राहरूमा खेती गर्दा गोरुको जोताइबाट गरिन्थ्यो । साना–साना हिमाल भएको दक्षिणी युरोपको अल्वानियातिर मानिसलाई गोरु जसरी नारेर जोत्ने परम्परागत चलन रहेछ । यसप्रकारको युरोपेली परम्पराबारे १९५३ तिर हिमाल चढ्न यहाँ आउने पर्वतारोहीले लेखेको कुराहरू पढ्दा थाहा हुन्छ । यसबाट के आकलन गर्न सकिन्छ भने त्यो ताकातिर अल्वानियाभन्दा त नेपाल नै अलिक विकसित पो रहेछ कि ! हुन त कोरियामा खान नपुग्दा नेपालको उत्पादन पठाउने गरेको र तराईको समथर भागमा उत्पादित खाद्यान्न र तेलहन बालीको उत्पादनले छिमेकमा राम्रो बजार पाउने गरेको तथा तराईलाई समुन्नत तुल्याएको गौरवशाली विगतको अनुभव पनि हामीसँग छ । तर, दुःखको कुरा आजको अवस्था भिन्न छ ।

म केही दिनअघि भित्री मधेसको आफ्नो गाउँमा जाँदा किसान परम्परागत खेती प्रणालीबाट निकै दिक्क भएको पाएँ । उनीहरूले राम्रो बिउ नपाउने र पाए पनि महँगो मूल्य तिर्नुपर्ने, रासायनिक मल चाहिएको समयमा नपाइनेजस्ता समस्या सुनाए । त्यसभन्दा पनि अझ दुःखको कुरा फसल उत्पादनपछि त्यसको व्यवस्थापन, भण्डारण र त्यसको लागि चाहिने जनशक्तिको तालमेलसमेत नमिल्ने रहेछ । खासगरी परम्परागत धानखेतीकै कुरा गर्ने हो भने अचेल गाउँमा बिउ उखेल्ने मान्छे, रोपाहार र बाउसे अनि जमिन सम्याउन चाहिने जनशक्तिको अभाव देखिन्छ । घरको वयस्क र काम गर्न सक्ने जनशक्ति रोजगारको लागि कहीँ न कहीँ पलायन भएको देखिन्छ ।

ट्याक्टरको प्रयोगद्वारा गरिने खेती र त्यसको खर्च हिसाब गर्दा उत्पादनको तुलनामा अधिक हुने भएकोले प्रविधिको प्रयोगद्वारा खेती गर्नेहरूले लगानीको तुलनामा ज्यादा आम्दानी गर्न सकेको देखिँदैन । हाम्रा थुप्रै गाउँ यो समस्याबाट पीडित छन् । कृषिको आधुनिकीकरण गर्ने जतिसुकै ठूला नारा दिए पनि व्यवहारमा त्यो रूपान्तरित हुन सकेको छैन । एउटा ट्याक्टर वा थ्रेसर राख्ने पहुँचवाला धनी र गरिब किसानबीच ठूलो खाडल छ । कृषि पेसामा निर्भर किसान दिनानुदिन गरिबीको रेखामुनि पर्न बाध्य छन् । यदि घरको कुनै वयस्कले विदेशबाट आर्थिक सहयोग गरेको छैन भने खेतीकै भरमा जीविकोपार्जन गर्नै नसकिने अवस्था छ । आफ्नै जनशक्तिको मूल्य कति हो र कति उत्पादन भयो भन्ने हिसाब किटान नहुँदा गाउँका किसानको पीडालाई राज्यले सम्बोधन गर्न नसकेको यथार्थलाई नकार्न सकिँदैन । भैँसी र गाईपालन गर्नेहरूमा पनि महँगो प्रविधि र उत्पादन ह्रासले गर्दा कृषि पेसाप्रतिको विकर्षण बढ्दो छ ।

गाउँमा सक्षम जनशक्तिको अभाव छ । पश्चिम बंगाल र बिहारबाट ल्याइएका मजदुरहरूले पनि बिस्तारै आफ्नै देशको ज्यालासँग तुलना गरेर हेर्ने गरेको पाइन्छ । एउटा किसानले आफ्नै बाहुबलले उत्पादन गरेको फसलको उचित मूल्य नपाउने, बिक्री गरेको वस्तुको समयमा भुक्तानी नहुने र महँगो ढुवानीको कारण उनीहरूको पीडा भयानक छ । राज्यसँग यो पीडालाई बुझ्न सक्ने सामर्थ्यको अभाव छ । एकातिर उत्पादनको ह्रास अर्कोतिर उत्पादन लागतमा वृद्धि तथा उत्पादित वस्तुहरूको उचित मूल्यको अभावमा कृषि पेसाप्रतिको विकर्षणले भयावह स्थिति देखाएको छ ।

यो किसानको देश हो । स्वाभिमानी परिवर्तनकामी जनशक्तिद्वारा नै राष्ट्र र राष्ट्रियता बच्न सक्छ । आजका विकृति भनेकै किसानको वास्तविक समस्याको सम्बोधन हुन नसक्नु र गरिबीको पीडाभित्र धर्म परिवर्तन र जातीय व्यवस्थाको विकृतिभित्र एनजीओ, आईएनजीओको जन्मले उर्वरता पाउनु हो ।

नेपालमा अब कृषिमा आत्मनिर्भरता रहेन । गाउँमा एउटा परिश्रमी परिवार स्वयंले यो व्यवसायबाट अब हामी उँभो लाग्न सक्दैनौँ भन्ने ठोकुवा गर्दै धेरैथोरै भएको जग्गा नै बेचेर भए पनि केही समयको गुजारा गर्ने र छोराछोरीहरूलाई विदेश पठाउने विडम्बनापूर्ण यथार्थ हामीमाझ छ । एकजना किसानले आफ्नो पीडालाई पोख्दै भने, ‘यही नियतबाट हामी गुज्रियौँ भने हाम्रो त सत्यानास नै हुन्छ । हामीसँग ठोस विकल्प पनि केही छैन । कुहिराको काग बनेका छौँ ।’ अझै त्यसमाथिको ढुवानी करदेखि ठाउँठाउँमा उठाइने दस्तुरबाट त थप पीडा भएको कुरा उनले सुनाएका थिए । ‘हामी उठेर बोलौँ। हावाले उडाउँछ । बसेर बोलौँ कसैले सुन्दैन । बिचौलिया नै हाम्रा जनप्रतिनिधि छन् । हाम्रोभन्दा बजारियाको मूल्यमा उनीहरू रमाउँछन् । यो पीडा कहाँ सुनाउने ?’ उनले आफ्नो दुखेसो सुनाउँदै भनेका थिए । वास्तवमा गाउँको यस्तो गुनासो सुन्ने र त्यसबाट राज्य र जिम्मेवार निकायलाई सुनाउनपर्ने र यसको सम्बोधन गर्न केही न केही, कुनै न कुनै उपाय, सोच र समझ राख्नुपर्ने अनि यी यावत् विकृति र विसंगतिबीच किसानलाई बचाउनुपर्ने दायित्वलाई राज्यले महसुस गर्नुपर्ने समय आएको छ ।

यो किसानको देश हो । स्वाभिमानी परिवर्तनकामी जनशक्तिद्वारा नै राष्ट्र र राष्ट्रियता बच्न सक्छ । आजका विकृति भनेकै किसानको वास्तविक समस्याको सम्बोधन हुन नसक्नु र गरिबीको पीडाभित्र धर्म परिवर्तन र जातीय व्यवस्थाको विकृतिभित्र एनजीओ, आईएर्नजीओको जन्मले उर्वरता पाउनु हो । हुँदाहुँदा जनप्रतिनिधिहरू र संविधानसम्मत राज्य–व्यवस्था तथा विधि, पद्धति र प्रक्रियालाई नै चुनौती दिँदै आफ्नै जनअदालत र नागरिक आयोगको अभिव्यक्ति दिइरहँदासमेत राज्य मूकदर्शक अनि नागरिक समाज निःशब्द बन्नु उचित हुँदैन । आमजनमानसलाई Sugar-coated poison झैँ भ्रमजालमा पारेर राज्यको दोहन गर्नेहरूका हुँकार, उनीहरूको मिडियाबाजी तथा स्वार्थी बिचौलियाहरूकै संस्कारले राष्ट्रलाई कमजोर बनाएको तथ्यलाई जिम्मेवार निकायले अब पनि अनदेखा गर्न हुँदैन । दुईतिहाइ जनताको अनुमोदन असल शासनको सुरुवातका लागि हो न कि बिचौलिया संरक्षणको हेतु ।

एउटा अझ मार्मिक तथ्य के हो भने हाम्रा स्थानीय बिउविजन र मौलिक खेतीप्रणालीको अन्त्यसँगै बजारमा उपलब्ध वस्तुहरूको गुणस्तरमा ह्रास आएको छ भने स्थानीय मसिनो जातका धानहरू र तरकारी तथा फलफूलमा पाइने बासना (सुगन्ध) त झन् लोप हुँदै गएको महसुस हुन थालेको छ । म राजविराजमा छँदा स्थानीय जातको बासनायुक्त बासमती चामल किन्न भनी एकपटक त्यहीँको थापा राइस मिलमा गएको थिएँ । उक्त चामलमा बास्ना नभएको थाहा पाएपछि मिलवालासँग कतै यो बाहिरको आयातीत चामल त होइन ? भनी सोधेँ । उनको जवाफ थियो, ‘उत्पादन त यहीँको हो । तर, बासनाचाहिँ रासायनिक मलले उडाइदियो ।’ वास्तवमा चामलको बासना कसले नष्ट गर्यो भन्ने एउटा अनुसन्धानको विषय बन्न सक्ला, तर किसानको ठोकुवा छ– जहिलेबाट रासायनिक मलको प्रयोग शुरु भयो त्यसैबखतबाट प्रायः सबै खाद्यान्नमा मौलिक बासना र स्वाद सकियो । मैले एक दिन आफूलाई अलिक बुज्रुक सम्झने केही विद्वानहरूसँग ‘हामी विश्वव्यापार संगठन (WTO) को सदस्य भइसकेका छौँ । यदि बहुराष्ट्रिय कम्पनी (Multinational Company) हरूद्वारा उत्पादित रासायनिक मलकै कारण हाम्रा उत्पादनको मौलिक स्वाद र बास्नाहरू समाप्त भएको हो भने यो अपूरणीय क्षति हो । जो फेरि पाउन गाह्रो छ । त्यस्ता कम्पनीहरूलाई जिम्मेवार बनाउँदै उचित क्षतिपूर्तिको लागि उपचारको बाटो खोज्नुपर्छ कि ?’ भन्ने जिज्ञाशा राखेको थिएँ । यसमा उनीहरूको तर्क थियो, ‘एक त त्यही रासायनिक मलको कारणबाटै त्यसो भएको हो–होइन अनुसन्धान गर्न गाह्रो छ । प्रमाण पुऱ्याउनैपर्ने हाम्रो दायित्व हुन्छ । त्यसको लागि उपयुक्त जनशक्तिको अभाव छ । अर्कोतर्फ ती ठूला कम्पनीको प्रभाव र पहुँच शक्तिसम्पन्न निकायसम्म छ । उनीहरूको अन्तर्राष्ट्रिय सञ्जाल छ । हामीले उपयुक्त उपचार पाउन गाह्रो छ ।’

यसप्रकारका मुद्दाहरू अन्तर्राष्ट्रिय क्षेत्रमा नआएका होइनन् । तथापि किसानको जायज माग र न्याय ओझेल परेको दृष्टान्तलाई नकार्न सकिँदैन । यो किसानको न्यायमा पहुँच नपुगेको विषम परिस्थिति हो । आवाज कसले उठाउने भन्ने छ, तर यो निकै गम्भीर र टडकारो विषय हो भन्नेमा विवाद छैन । मौलिक उत्पादनमा जनताको हकलाई सुनिश्चित पारिएको भए पनि त्यसलाई प्रभाव पार्ने निकायहरूलाई नियन्त्रण र व्यवस्थापन गर्ने विषय अबको अन्तर्राष्ट्रिय चासोको विषय बन्न सक्छ ।

यसअघिको पढ्नुहोस्–

विखण्डित हुँदैछ दाम्पत्यजीवन, जटिल मुद्दा बन्दैछ सम्बन्धविच्छेद
http://www.ghatanarabichar.com/126397

85 Shares

प्रतिक्रिया