डार्लिङ हार्वरमा नेपाल फेस्टिबल भब्य रूपमा सम्पन्न

डार्लिङ हार्वरमा नेपाल फेस्टिबल भब्य रूपमा सम्पन्न


– राजन घिमिरे, अष्ट्रेलिया

माहोल निकै रौनकयुक्त, उल्लासमय र गर्मागरम थियो । हजारौँ नेपाली एउटै थलोमा उभिएर नेपाल र नेपालीहरूको जयजयकार मनाइरहेका थिए । लाग्दथ्यो– सिङ्गो नेपाल नै प्रवासमा आएको छ । प्रसङ्ग सिड्नी (अष्ट्रेलिया)मा आयोजित नेपाल फेस्टिबल–२०१८ को हो ।

शनिबार सिड्नीको ब्यस्त पर्यटकीय क्षेत्र डार्लिङ हार्वरमा नेपाल फेस्टिबल भब्य र सभ्य रूपमा सम्पन्न भएको छ ।

गैरआवासीय नेपाली संघ अस्ट्रेलिया न्यूसाउथ वेल्स राज्य समिति, नेपाल पर्यटन बोर्ड महाबाणिज्यदूतको कार्यालय न्युसाउथ वेल्स र सिड्नीका नेपाली सामुदायिक संस्थाको सहकार्यमा महोत्सव आयोजना भएको हो ।

एनआरएनए अस्ट्रेलियाको पहिचान बनेको नेपाल फेस्टिबल सिड्नी रहनुभएका नेपालीहरूका निम्ति मात्र खास थिएन, अष्ट्रेलियन सरकारसमक्ष नेपालीको पहुँच र उपस्थिति पुर्याउन पनि यो फेस्टिबल सशक्त माध्यम बन्यो । कार्यक्रमको उदघाटन नै अस्ट्रेलियाका अध्यागमनमन्त्री डेविड कोलम्यानले गरेका थिए । उनले अस्ट्रेलियामा छोटो समयमा नै नेपालीहरूको उपस्थिति निकै फैलिएको र चर्चा कमाएर नेपालीहरूले आफ्नो पहिचान स्थापित गरिसकेको बताए ।

कार्यक्रममा नेपाल फेस्टिबलको ब्राण्ड एम्बस्टर विश्व साइकल यात्री पुष्कर शाहले नेपालीहरूको एकता र आत्मीयताको खुलेर प्रशंसा गरे ।

यस्तै, अस्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पाले मुलुक चिनाउने यस्ता महोत्सवहरू निकै महत्वपूर्ण रहेको बताइन् । राजदूत शेर्पाले नेपाली कला संस्कृतिसँगै मुलुकको पर्यटन प्रवर्धनका लागि महत्वपूर्ण मानिने यस्ता महोत्सवले देशको पर्यटन प्रवर्धनमा समेत ठूलो महत्व बोकेको तर्क गरिन् ।

नेपालबाट यही समारोहका निम्ति आएका गायक राजेश पायल राई, विश्व नेपाली, तृष्णा गुरूङ, पशुपति शर्मा, आँचल शर्मा, शिव हमाललगायत कलाकारको पनि कार्यक्रममा प्रस्तुति थियो ।

हजारौँ नेपाली दर्शक र अस्ट्रेलियनको समेत सहभागिता रहेको महोत्सव शनिबार विहानदेखि राति अबेरसम्म चलेको थियो ।

चर्चित कलाकारहरु समीर आचार्य, सुजाता उपाध्यायलगायतको स्थानीय प्रस्तुतिबाट सुरू भएको महोत्सवमा महत्वपूर्ण पाटोको रूपमा मुलुक चिनाउने नेपाल हाउस आकर्षण बन्यो । नेपालसम्बन्धी विविध सामाग्रीसहित स्वयम्भुको आकारमा बनाइएको नेपाल हाउसमा हजारौँ दर्शकले भ्रमण गरेका थिए ।

मुलुकको पहिचान झल्काउने सबैखाले सामाग्री राखेर देशको झझल्को मेटाउने र विदेशीलाई नेपाल चिनाउने अभियानका साथ नेपाल हाउसको ब्यवस्थापन गरिएको थियो ।

नेपाल महोत्सवमा सहभागिता जनाएर यसलाई सफल बनाउने सबै संघ–संगठन र ब्यक्तिलाई आयोजक समितिका तर्फबाट संयोजक नन्द गुरुङले धन्यवाद दिए ।

कार्यक्रममा एनआरएनए अस्ट्रेलियाका अध्यक्ष टोनु गोथानेले नेपाल महोत्सव एनआरएनए अस्ट्रेलियाको महत्वपूर्ण अभियानका रुपमा रहेको बताए ।

सन् २००६ देखि सुरू गरिएको नेपाल फेस्टिबलको यो सातौं संस्करण हो । नेपाल र नेपालीलाई अस्ट्रेलियाको मूल प्रवाहको समुदायसँग परिचित गराउनु यो फेष्टिभलको मुख्य उद्देश्य रहेको थियो ।

नेपाली गीत संगीत, नृत्य, खानाका परिकारहरू, हस्तकलाका समान र नेपालीको ब्यवसायबारे जानकारी फेष्टिभलको मुख्य आकर्षण थिए ।

‘महोत्सव नेपाली समाजको महत्वपूर्ण हिस्सा बनिसकेको छ, यसले हरेक दुई वर्षमा तरङ्ग नै पैदा गर्छ र हामी प्रवासमा रहेका नेपालीहरूको यो शान पनि हो’– नेपाल फेस्टिबल २०१६ का संयोजक दिनेश पोखरेलले घटना र विचारसँग भने ।