के छ मुलुकमा मानसिक रोगको अवस्था ? पहिलोपटक हुँदैछ सर्वेक्षण

के छ मुलुकमा मानसिक रोगको अवस्था ? पहिलोपटक हुँदैछ सर्वेक्षण


नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले मानसिक रोगको अवस्थाका बारेमा सर्वेक्षण गर्ने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, विश्वस्वास्थ्य सङ्गठनको आर्थिक एवं प्राविधिक सहयोगमा परिषद्ले पहिलोपटक यस्तो सर्वेक्षण गर्ने भएको हो ।

मानसिक रोगका प्रख्यात प्राडा डेभिड भिम्सेन्टले सो रोगका अवस्था पत्ता लगाउन विकसित गरेका सर्वेक्षण विधिद्वारा नेपालका सातवटै प्रदेशका ७७ जिल्लाका करीब ९५ हजार जनतासमक्ष प्रत्यक्ष रुपमा अन्तर्वाता गरी सर्वेक्षण गरिने परिषद्ले जनाएको छ । परिषद्का अध्यक्ष प्राडा अञ्जनीकुमार झाले सर्वेक्षणले नेपालमा मानसिक रोगको अवस्थाका बारेमा यथार्थ जानकारी आउने जानकारी दिए ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पहिलो पटक सन् १९९७ मा पहिलो पटक मानसिक रोगसम्बन्धी नीति तयार गरेको थियो । तर, नीति कार्यान्वयन नहुँदा एवं विनाशकारी भूकम्पका असर, विपद्का घटना वृद्धि एवं तनाव आदिका कारण मानसिक रोगीको संख्या वृद्धि भैराखेको बताइन्छ । पहिलो चरणमा प्रदेश १ र २ बाट सर्वेक्षण शुरु गरिनेछ । नसर्ने रोग मुटु, मिर्गौला, क्यान्सरभन्दा मानसिक रोगको सङ्ख्या बढिरहेको बताइन्छ ।

यसैबीच, सर्वेक्षणमा खटिजाने स्वास्थ्यकर्मीका लागि हिजो (मंसिर ३, सोमबार)देखि एक हप्ताको तालीम संघीय राजधानीमा शुरु भयो । तालीममा मानसिक रोग विज्ञ डा भिम्सेन्टले सहजीकरण गरिरहेका छन् ।

तालिम आरम्भका अवसरमा प्राडा झाले मानसिक रोगले ल्याउने सामाजिक समस्या पनि डरलाग्दो हुँदै गएको चर्चा गर्दै सर्वेक्षणले नीति निर्माणमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । मानसिक रोग विज्ञ डा भिम्सेन्ट पछिल्लो समयमा विश्वमा मानसिक रोगीको सङ्ख्या विभिन्न कारणले वृद्धि भैराखेको चर्चा गर्दै यसलाई समयमै सम्बोधन गर्नुपर्ने उनको धारणा थियो ।

मानसिक रोग विशेषज्ञ प्रा डा सरोज ओझा तथा विश्व स्वास्थ्य सङ्गठनका मानसिक रोग विज्ञ डा केदार मरहठ्ठाले मानसिक रोगीका अवस्थाको जानकारी लिन सर्वेक्षण महत्वपूर्ण हुने विश्वास व्यक्त गरे ।

हाल नेपालमा मानसिक रोगका विशेषज्ञ चिकित्सकको सङ्ख्या १४६ भन्दा बढी रहेको छैन । मानसिक रोगको अवस्थाबारे परिषद्ले दोलखा, भक्तपुर र धनुषाका एक हजार ६४७ मा हालै सम्पन्न गरेको नमूना सर्वेक्षणमा एक हजार ३१५ जनामा कुनै न कुनै मानसिक रोग भएको पाइएको थियो । नमूना सर्वेक्षण प्रस्तुत गर्दै परिषद्का वरिष्ठ अनुसन्धान अधिकृत सुष्मा दाहालले तनाव, भूकम्पलगायत विभिन्न विपद्ले पारेका असर लगायतका कारणले मानसिक रोगीको सङ्ख्या बढेको जानकारी दिइन् ।