दुई नयाँ ‘पार्किङ–वे’ थप्दै अन्तर्राष्ट्रिय विमानस्थल

1 Shares

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुई नयाँ ‘पार्किङ–वे’ थपिने भएको छ । विमानस्थलको उत्तरपूर्वतर्फ र दक्षिणपश्चिम क्षेत्रमा पाँच–पाँचवटा विमान अट्ने गरी दुईवटा पार्किङ वे निर्माण भइरहेको छ । अबको पाँच महिनामा निर्माण कार्य सकिने विमानस्थलले जनाएको छ । जहाज पार्किङमा समस्या भोग्दै आएको विमानस्थलले विमानस्थल विकास कोष (एडीएफ)को रु. एक अर्ब ६ करोडको लागतमा ‘रिमोट पार्किङ वे’ र ‘पार्किङ वे’ निर्माण गरिरहेको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले जनाएको छ ।

निर्माणाधीनमध्ये उत्तरपूर्वतर्फको ‘रिमोट पार्किङ वे’ निर्माणमा रु. ४७ करोड र दक्षिणपश्चिमतर्फको ‘पार्किङ वे’ निर्माणमा रु. ५९ करोड खर्च हुनेछ । विमानस्थलका अनुसार उत्तरपूर्वतर्फ दुईवटा वाइड बडी जहाज र तीनवटा साना (एटीआर) जहाज तथा दक्षिणपश्चिमतर्फ दुईवटा वाइड बडी र तीनवटा एटीआर जहाज राख्न सकिनेछ ।

विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीका अनुसार उत्तरपूर्वतर्फको रिमोट पार्किङ–वे आगामी फागुनभित्र सम्पन्न गरिनेछ भने दक्षिणपश्चिमतर्फको पार्किङ वैशाखभित्र पूरा गर्नेगरी काम अघि बढाइएको छ । पार्किङ थपिएपछि विमानस्थलमा परेको बढ्दो चाप केही हदसम्म न्यूनीकरण हुने अपेक्षा गरिएको छ ।

हाल विमानस्थलमा अन्तर्राष्ट्रिय पार्किङका लागि नौवटा विमानको क्षमता छ जहाँ तीनवटा वाइड बडी ए ३३० र बाँकीमा एयरबस ३२० जहाज पार्किङ गर्न सकिन्छ । रिमोट पार्किङ–वे विमानस्थलको मुख्य पार्किङ–वेभन्दा टाढा निर्माण गरिने वैकल्पिक पार्किङ भएकाले विमानमा बम विस्फोट वा आतंककारी गतिविधिको शंका भए उक्त विमानलाई त्यो स्थलमा पार्किङ गरिन्छ ।

विमानस्थलबाट तीनवटा नेपालीसहित ३१ वटा अन्तर्राष्ट्रिय वायुसेवा प्रदायक कम्पनीले अन्तर्राष्ट्रिय उडान भर्दै आएका छन् । आन्तरिकतर्फ ३० वटा विमान पार्किङ गर्न सकिन्छ । अहिले हेलिकोप्टरसहित २० वटा वायुसेवा प्रदायक कम्पनीले आन्तरिक उडान गर्छन् ।

1 Shares

प्रतिक्रिया