दार्चुलाका धामीको मलेसियामा मृत्यु

दार्चुलाका धामीको मलेसियामा मृत्यु


दार्चुलाको मालिकार्जुन गाउँपालिका–३ घर भएका ३५ वर्षीय तारासिंह धामीको वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा मृत्यु भएको छ । तीन वर्षअघि रोजगारीको सिलसिलामा मलेसिया गएका धामी बिहीबार बिहान ४ बजे मृतअवस्थामा भेटिएको परिवारले जनाएको छ ।

धामी एक होटेलनजिकै मृत फेला परेका थिए । मृत्यु के कसरी भयो भन्नेबारे अहिलेसम्म केही खुल्न नसकेको मृतकका काका धरमसिंह धामीले बताए । घरपरिवारको एक मात्रै सहारा धामीको मृत्युले परिवारजन शोकमग्न भएका छन् । धामीका ८ र ४ वर्षीय दुई छोरा र तीन वर्षीया छोरी छन् ।

छोरी जन्मेपछि विदेशमा धन कमाउने अभिलाषा लिएर गएका धामीको मृत्युको खबरपछि पूरै गाउँ शोकमा डुबेको स्थानीय लोकेन्द्रसिंह धामीले बताए । मृतकको शव नेपाल ल्याउन पहल शुरु गरिएको छ ।