राष्ट्रिय ब्याडमिन्टनमा सेनाका तीन खेलाडी अन्तिम चारमा

राष्ट्रिय ब्याडमिन्टनमा सेनाका तीन खेलाडी अन्तिम चारमा


नेपाली सेनाको त्रिभुवन आर्मी क्लबका तीन खेलाडी योनेक्स सनराइज आठौँ पुष्पलाल स्मृति राष्ट्रिय खुला ब्याडमिन्टन प्रतियोगिता २०७५ को पुरुष एकलतर्फ सेमिफाइनलमा प्रवेश गरेका छन् ।

त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा भएको प्रतियोगितामा सेनाका रत्नजित तामाङ पुलिसका नीरविक्रम देवकोटालाई २१–१७, २१–१८ ले पन्छाउँदै अन्तिम चारमा पुगेका हुन् । अब तामाङले आफ्नै क्लबका रुकेश महर्जनको सामना गर्नेछन् । रुकेशले पुलिसका विष्णु कटुवाललाई २१–१६, २१–१९ ले पाखा लगाएका थिए । यस्तै सेनाका अर्का खेलाडी नविन श्रेष्ठले भोजपुरका विकास श्रेष्ठलाई २१–१९, २१–११ ले पन्छाए । श्रेष्ठले फाइनल प्रवेशका लागि एपीएफका दीपेश धामीको सामना गर्नेछन् । दीपेशले सिल्क ग्रुपका प्रिन्स दाहाललाई २१–१६, २२–२० ले पराजित गरेका थिए ।

महिला एकलतर्फ नेपाली सेनाका दुई र एपीएफका दुई खेलाडीले अन्तिम चारको यात्रा तय गरे । क्वार्टरफाइनल खेलमा सेनाका नङसलदेवी तामाङ बाँकेकी सम्झना शर्मालाई २१–१२, २१–८ ले पछाडि पार्दै सेमिफाइनलमा स्थान बनाउन सफल भइन् । तामाङले फाइनल प्रवेशका लागि एपीएफकी शोभा गौचनको सामना गर्नेछिन् । शोभाले सेनाकी अनुमाया राईलाई २१–१७, २१–१९ ले पन्छाइन् । यस्तै सेनाकी रसिला महर्जनले गत सातौँ संस्करणकी विजेता एपीएफकी जेसिका गुरुङसँग सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछिन् । रसिलाले सेनाकै रञ्जना भट्टलाई २१–१४, २१–१३ तथा जेसिकाले सेनाकी अमिता गिरीमाथि १९–२१, २१–१५, २१–११ को जित निकालेका थिए ।


नेपाल खेलकुद महासंघअन्तर्गत राष्ट्रिय ब्याडमिन्टन संघको आयोजनामा भएको प्रतियोगिताको यू–१७ ब्वाइजतर्फको खेलमा नेपाली ब्याडमिन्टनको इतिहासमा सबैभन्दा ठूलो उपलब्धि अन्तर्राष्ट्रिय प्रतियोगितामा स्वर्ण जितेका सिल्क ग्रुपका प्रिन्स दाहालले कैलालीका जेबी साउदलाई २१–७, २१–९ को सोझो सेटमा पराजित गर्दै अन्तिम चारको टिकट काट्न सफल भए । यस्तै अन्तिम चारमा स्थान बनाउने क्रममा जेस्ट ब्याडमिन्टनका प्रियान्सुसिंह क्षेत्रीले दाङका हिमांशु कुँवरलाई २१–११, २१–१८, सेनाका दिवश शंकरले कैलालीका अमृत चौधरीलाई १९–२१, २१–११, २१–१३ तथा जेस्टका पेम्बा शेर्पाले कञ्चनपुरका हिमाल चन्दलाई २१–११, २१–१३ ले पन्छाए ।

पुरुष युगलतर्फको खेलमा सेना र एपीएफले अग्रता लियो । एपीएफका दीपेश धामी र विजित थापामगर तथा गौतम कठायत र सुनिल जोशीको जोडी अन्तिम चारमा पुग्यो । धामी र मगरको जोडीले पुलिसका दीपक बोहरा र जीवन आचार्यको जोडीमाथि २१–१६, २१–१७ को जिन निकाल्यो । यस्तै गौतम र सुनिलको जोडी बाँकेका इरफान अन्सारी र रियाज अन्सारीको जोडीमाथि २१–१५, २१–१६ को जित निकाल्दै सेमिमा स्थान बनाए । यसैगरी सेनाका रुकेश महर्जन र प्रफुल महर्जनको जोडी तथा रत्नजित तामाङ र नवीन श्रेष्ठको जोडीले पनि सेमिमा स्थान पक्का गरे । रुकेश र प्रफुलको जोडीले एपीएफका साजनकृष्ण ताम्राकार र सुदीप सेढाईंको जोडीलाई २१–१६, २१–१७ तथा रत्न र नवीनको जोडीले पुलिसका विष्णु कटुवाल र अनिश श्रेष्ठको जोडीलाई २१–१७, २२–२० ले पराजित गरे ।

यू–१७ गल्र्सतर्फ सेनाका रसिला महर्जन र रञ्जना भट्ट तथा मोरङका रोज पाण्डे र सीमा राजवंशी अन्तिम चारमा पुगे । सेनाकी रसिलाले जेस्टकी डिमोना केसीलाई २१–२, २१–४ तथा रञ्जनाले झापाकी अञ्जना राईलाई २१–१६, २१–१५ ले पाखा लगाए । यस्तै मोरङकी रोजले जेस्टकी स्मृति राईलाई २१–५, २१–१३ तथा सीमाले कञ्चनपुरकी विष्णा विष्टलाई २१–८, २१–९ ले हराए । अब सेमिमा रसिलाले रोजको तथा सीमाले रञ्जनाको सामना गर्नेछन् ।

यसैगरी प्रतियोगिताको महिला युगलतर्फ सेनाका अनुमाया राई र अमिता गिरीको जोडीले सेमिफाइनलमा एपीएफका पूजा श्रेष्ठ र जेसिका गुरुङको सामना गर्ने भएका छन् । राई र गिरीको जोडीले जेस्टका ज्योति लिम्बू र दिना पुनको जोडीलाई २१–१५, २१–१२ तथा श्रेष्ठ र गुरुङको जोडीले जेस्टकै स्मृति राई र साफी खत्रीको जोडीलाई २१–७, २१–५ ले पराजित गरे । यस्तै अर्को प्रतिस्पर्धा सेनाका नङसल तामाङ र रसिला महर्जनको जोडीले भोजपुर र बाँकेका सीता राई र सम्झना शर्माको जोडीबीच हुनेछ । तामाङ र महर्जनको जोडीले जेस्टका तारा आले र मनीषा खड्काको जोडीलाई २१–८, २१–४ ले तथा राई र शर्माको जोडीले मोरङका सीमा राजवंशी र रोज पाण्डेको जोडीलाई २१–८, २१–१४ ले पाखा लगाए ।