विसंगति निर्मूल गर्ने नयाँ उपाध्यक्षको प्रतिबद्धता

विसंगति निर्मूल गर्ने नयाँ उपाध्यक्षको प्रतिबद्धता


राष्ट्रिय खेलकुद परिषदको रिक्त रहेको उपाध्यक्ष पदमा पीताम्बर तिम्सिना नियुक्त भएका छन् । कात्तिक २८ गते बुधबार एक कार्यक्रमबीच राष्ट्रिय खेलकुद परिषदका अध्यक्ष एवं युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्मा (सुनार)ले तिम्सिनालाई युवा तथा खेलकुद मन्त्रालयमा उपाध्यक्ष पद तथा गोपनीयताको शपथ गराए ।

तिम्सिनालाई खेलकुद विकास ऐन २०४८को दफा ३ को उपदफा ३ बमोजिम मिति २०७५–०७–२८ गतेदेखि लागू हुने गरी सदस्य पदमा बहाल रहने अवधिभरका लागि उपाध्यक्षमा नियुक्त गरिएको युवा तथा खेलकुदमन्त्री एवं राखेप अध्यक्ष विश्वकर्माद्वारा हस्ताक्षरित पत्रमा जनाइएको छ ।

उपाध्यक्ष तिम्सिनाले हिजै राष्ट्रिय खेलकुद परिषदमा आफ्नो पद बहाली गरेका छन् । यसअघि पनि तिम्सिनाले ०६६ सालमा राष्ट्रिय खेलकुद परिषदको उपाध्यक्षमा नियुक्त भई चारवर्षे कार्यकाल पूरा गरेका थिए । उपाध्यक्षमा नियुक्त हुनुअघि तिम्सिनालगायत राजेश गुरुङ तथा इन्दिरा निरौलालाई मन्त्रिपरिषद्को २०७५–०७–२५ गतेको निर्णयअनुसार राखेपको रिक्त रहेको सदस्य पदमा मनोनीत गरिएको पत्र प्रदान गर्नुका साथै युवा तथा खेलकुदमन्त्री विश्वकर्माले सदस्य पद तथा गोपनीयताको शपथ गराएका थिए ।

नवनियुक्त सदस्य गुरुङले पनि राखेपको सदस्यको अनुभव संगालिसकेका छन् । उनले राखेपको सदस्यका साथै सुटिङ र बक्सिङ संघको उपाध्यक्ष तथा नेपाल ब्याडमिन्टन संघको केन्द्रीय सदस्यको पदमा रहेर अनुभव संगालिसकेका छन् । यस्तै मोडर्न पेन्टाथलन र नेपाल भलिबल संघको केन्द्रीय सदस्यसमेत रहेकी निरौलाको राखेप सदस्यमा पहिलो अनुभव हो ।

सदस्यहरूलाई बधाई दिँदै मन्त्री विश्वकर्माले सदस्यहरूलाई दिइएको जिम्मेवारी पूरा गर्ने विश्वास व्यक्त गर्दै मन्त्रालय तथा परिषदले लिएका नीति तथा कार्यमा दत्तचित्त भई कार्य गर्न शुभकामना प्रदान गरे ।

उपाध्यक्षमा नियुक्त भएपश्चात् तिम्सिनाले आफूले पहिले राष्ट्रिय खेलकुद परिषदको उपाध्यक्षमा रहेर गरेको कार्यको मूल्यांकन गर्दै पुनः राखेपको सदस्यमा नियुक्त गरेकोमा मन्त्रिपरिषदलाई र उपाध्यक्ष पदमा नियुक्त गरेकोमा मन्त्री एवं अध्यक्षलाई धन्यवाद प्रदान गर्दै राष्ट्रिय खेलकुद परिषदमा देखिएको विकृति र विसंगतिलाई निर्मूल गर्न लागिपर्ने बताए ।

यस्तै, उपाध्यक्ष तथा सदस्यहरूलाई शुभकामना व्यक्त गर्दै सदस्यसचिव विष्टले अनुभवी सदस्यहरू परिषदमा नियुक्त हुनुले परिषदले गर्ने कार्यहरूमा थप बल पुग्ने बताए ।