नेता बिगार्ने कर्मचारी : प्रचण्ड

नेता बिगार्ने कर्मचारी : प्रचण्ड


नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारले खटाएको ठाउँमा गएर कर्मचारीले जनताको सेवा गर्नुपर्ने बताएका छन् ।

प्रचण्डले संविधानको मर्म र भावनाअनुसार तोकिएका प्रदेश र स्थानीय तहमा खटिएर काम गर्न नमान्ने कर्मचारीलाई सेवाबाट बिदाइ गर्नुको विकल्प नभएको बताए ।

म्याग्दीमा उद्योग वाणिज्य संघले आयोजना गरेको कार्यक्रममा उनले सो कुरा बताएका हुन् । सो अवसरमा उनले उच्चपदस्थ कर्मचारीले नेताहरूलाई नै बिगारेको बताए । नेताहरूलाई बिगार्नेमा राजाका पालाका तालिमप्राप्त कर्मचारीहरू रहेको उनको दाबी छ ।

व्यवस्था परिवर्तन गरे पनि कर्मचारी परिवर्तन नहुँदा तिनीहरूले नै नेतालाई बिगारेको उनको भनाइ छ । जनताको सुविधाका लागि सिंहदरबारको अधिकार गाउँमा पठाउन खोज्दा कर्मचारीकै कारण समस्या देखिएको प्रचण्डको दाबी छ । कर्मचारीका कारण उपलब्ध परिवर्तन उल्टन सक्ने डर आफूलाई भएको बताउँदै यदि सरकारको निर्णय कर्मचारीले मान्दैनन् भने नमान्ने कर्मचारीलाई सेवाबाट बर्खास्त गर्दै नयाँलाई अवसर दिनुपर्नेमा उनले जोड दिए । यसका लागि नयाँ ऐन बनाउन सरकार तयार रहेको उनको भनाइ छ ।

प्रचण्ड श्रीमती सीता दाहालको प्राकृतिक उपचार गराउन केही दिनदेखि म्याग्दीमा रहेका छन् । सो अवसरमा गृहमन्त्री रामबहादुर थापासँगै तातोपानीमा नुहाएको उनको तस्बिर अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ ।