भैरहवा मालपोतको काम अनलाइनबाटै

भैरहवा मालपोतको काम अनलाइनबाटै


मालपोत कार्यालय भैरहवाले आज (बुधबार) देखि अनलाइनबाट सेवाग्राहीलाई सेवा प्रदान गर्न शुरु गरेको छ ।

एक कार्यक्रमको आयोजना गरी मालपोत कार्यालयले अनलाइन सेवाबाट आफ्नो काम शुरु गरेको जानकारी दिएको हो । भूमि व्यवस्था तथा अभिलेख विभागका महानिर्देशक मुक्तिप्रसाद आर्चायले सो अनलाइन सेवाको शुभारम्भ गर्दै सरकारले लिएको रणनीतिअनुसार अगाडि बढेको बताए ।

राजस्व तथा सेवा प्रवाह र अभिलेखको सुरक्षा गर्न मालपोत कार्यालय अनलाइन सेवा विस्तारमा रहेको बताउँदै महानिर्देशक आर्चायले अबका केही वर्षमा नेपालका सबै मालपोत डिजिटल सेवामा प्रवेश गर्ने जानकारी दिए । सिद्धार्थनगर नगरपालिकाका प्रमुख हरिप्रसाद अधिकारीले समयको मागअनुसार जनसरोकारका कार्यालयहरू परिमार्जित हुनुपर्ने भन्दै अनलाइन सेवालाई नगरपालिकाले सहयोग गर्ने बताए ।

मालपोत कार्यालय भैरहवाका प्रमुख शिवप्रसाद रेग्मीले जनतालाई छिटो र सरल रूपमा सेवा दिन आफू र आफ्नो टोली तयार भएको उल्लेख गरे ।