तेक्वान्दोलाई राखेपको सातदिने चेतावनी

तेक्वान्दोलाई राखेपको सातदिने चेतावनी


राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले तेक्वान्दो संघमा देखिएको विवाद तत्काल अन्त्य गरी अगाडि बढ्न सात दिनको समयसीमा दिएको छ ।

राखेपका सदस्यसचिव केशवकुमार विष्टले मंगलबार विज्ञप्ति जारी गरी नेपाल तेक्वान्दो संघ र नेपाल तेक्वान्दो युनियनबीचको विवाद सधैँका लागि अन्त्य गर्न पत्रचार गर्दै सातदिने समयसीमा दिएका हुन् ।

‘केही दिनअघि राखेपको ११०औँ बोर्ड बैठकले विवाद समाधान गरी त्यसको जानकारी अनिवार्य रूपमा उपलब्ध गराउनुपर्ने भनी निर्णय भएको हुँदा छिटो विवाद समाधान गर्न राखेपले निर्देशन दिएको हो,’ सदस्यसचिव विष्टद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

राखेपले आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता नजिकिँदै गर्दा दुई संघबीचको विवादका कारण जिल्ला तथा प्रदेशबाट खेलाडी छनोटमा समस्या आउने उल्लेख गर्दै दुई तेक्वान्दो संघलाई तत्काल मिल्न निर्देशन दिएको हो । विवाद समाधान नभएसम्म तेक्वान्दोका कुनै पनि प्रतियोगिता तथा छनोट गर्न नसक्ने पनि राखेपले विज्ञप्तिमा उल्लेख गरेको छ ।