उपचारका लागि बोलाएर ‘बोक्सी’ बात लगाएपछि…

उपचारका लागि बोलाएर ‘बोक्सी’ बात लगाएपछि…


– मुक्तिनाथ भुसाल, अर्घाखाँची

सर्वसाधारणको घर–आँगनमा आइपुगेको ‘सरकार’का जिम्मेवार कर्मचारी नै स्थानीय जनतालाई बोक्सीको आरोप लगाएर दुव्र्यवहारमा उत्रिएको समाचार अपाच्य मात्र होइन, अपत्यारिलो पनि लाग्न सक्छ । तर, रूपन्देहीको तिलोत्तमा नगरपालिका–५ का वडासचिवजस्ता जिम्मेवार पात्र आफ्ना छरछिमेकी महिलालाई बोक्सीको आरोप लगाउँदै हातपातको घटना सिर्जना गराएर चर्चामा आएका छन् ।

उक्त नगरपालिकाकै वडा नम्बर ४ निवासी वडासचिव टीकाराम आचार्यले गत बुधबार स्थानीय छिमेकी ललिता केसीलाई ‘घरमा छोरी बिमारी छ, सहयोगका लागि आउनुप¥यो’ भन्दै बहाना बनाएर बोलाए । छिमेकीको घरमा समस्या निम्तिएपछि सघाउने मनसायले आफ्नी बीएस्सी नर्सिङ पढेकी छोरी रस्मितालाई साथ लिएर ललिता वडासचिवको घरमा पुगिन् । शुरुमा रस्मिताले उनकी छोरी प्रतिज्ञा आचार्यको ब्लडप्रेसर नापिन् । जाँचेर हेर्दा अवस्था नर्मल भएको देखिएपछि उनले सोही यथार्थ अवगत गराइन् ।

यसपछि दुःखदाश्चर्य परिस्थिति निम्तियो । वडासचिव आचार्यले ललिता र रस्मिता आमाछोरी दुवै बोक्सी हुन् भन्दै आरोपित गर्न थाले । वडासचिवकी श्रीमती कमला र छोरी प्रतिज्ञाले पनि यसैमा सहमति जनाउँदै गाली गर्न थाले । यति मात्र नभई श्रीमती कमला आचार्यको आदेशअनुसार वडासचिवले अर्की छिमेकी डम्बरकुमारी न्यौपानेलाई काम छ भन्दै घरमा बोलाएर आफू मुख्य गेटमा पाले बनेर उभिए ।

अल्सर रोगकी बिमारसमेत रहेकी डम्बरकुमारी न्यौपानेलाई आफूसमक्ष देख्नासाथ वडासचिवकी श्रीमती कमलाको निर्देशनमा छोरी प्रतिज्ञाले खुट्टा ढोगाएर बोक्सी भएको स्वीकार गर्नुपर्ने दबाब दिँदै कुटपिट गर्न थालिन् । निर्दोष डम्बरकुमारीले असह्य बनेपछि वडासचिव आचार्यसँग आफूलाई बचाउन गुहार मागिन् । वडासचिवले उल्टै ‘आफ्नो परिवारमा बोक्सी नलाग्न’ चेतावनी दिँदै यो दुव्र्यवहारको घटना सार्वजनिक गरेमा न्यौपानेका एक मात्र छोरा (जो अमेरिकामा छन्)लाई ६ महिनाभित्रै ‘तलमाथि’ नै पारिदिने धम्की दिए । यसमा स्वीकृति जनाउन लगाईकन पीडित आमाछोरीलाई त्यहाँबाट जान दिइयो ।

यस्तो गम्भीर घटना घरपरिवारभित्रै गोप्य रहने कुरै भएन । ललिता र डम्बरकुमारी ड्राइभरटोलमा रहेको प्रहरीचौकी पुगे र वडासचिवसहित उनका श्रीमती र छोरीलाई त्यहाँ झिकाइयो । छोरी प्रतिज्ञाले प्रहरीसामु समेत डम्बरकुमारीलाई थप चेतावनी दिएपछि उक्त चौकीले सोही दिन मुद्दा वडाचौकी रामनगरमा पठायो । रामनगर चौकीले पनि सोही दिन आवश्यकीय प्रक्रिया पूरा गरी तीनैजना आरोपीलाई इलाका प्रहरी कार्यालय बुटवलमा पठाएको पीडित पक्षबाट बुझिएको छ ।

भोलिपल्ट बिहान इलाका प्रहरीले कानुन व्यवसायीको सिफारिस ल्याउन भनेअनुसार पीडित पक्षले स्थानीय जनआस्था कानुनी सेवा केन्द्रका अधिवक्ता कृष्णप्रसाद पाण्डेलाई बोलाएर सबै कुरा बताए । तर, अभियुक्तहरू अधिवक्ता पाण्डेका नातेदार भएका कारण उनले निवेदन लेख्न अस्वीकार गरेको बताइएको छ । पाण्डेले न्याय नहेरेर नाता हेरे पनि अन्य वकिलले मामला ह्यान्डिल गरेपछि हाल वडासचिव आचार्यसहित उनकी श्रीमती र छोरी बोक्सीको बात लगाएर दुव्र्यवहार गरेको अभियोगमा इलाका प्रहरी कार्यालय बुटवलमा कानुनी कारबाही भोग्दै छन् ।

घटनाबारे प्रहरी नायव उपरीक्षक दिलबहादुर मल्लसँग जिज्ञाशा राख्दा मामलाको छानबिनपछि दोषीले उचित दण्ड पाउने बताए ।