सुख्खा बढेसँगै विद्युत उत्पादनमा कमी

सुख्खा बढेसँगै विद्युत उत्पादनमा कमी


–छविलाल बगाले
मुलुका विभिन्न स्थानहरुमा सञ्चालित जलविद्यत आयोजनाबाट विद्युत उत्पादन निरन्तर घटिरहेको छ । कार्तिक अन्तिम सातासम्म बर्षा नहुनु र हिमालमा हिउँ नपग्लिँदा हिमनदीमा पानीको बहाव घट्नुले अधिकांश आयोजनाले जडित क्षमताअनुसार विद्युत उत्पादन गर्न नसकेका हुन् ।

पानीको बहावमा आधारित आयोजनाबाट विद्युत उत्पादनमा कमी हुन थालेको हो । ‘रन अफ दि रिभर’मा आधारित सबै आयोजनाबाट विद्युत उत्पादनमा गिरावट आउँदा माग र आपूर्तिको सन्तुलन कायम गर्न चुनौतीपूर्ण रहेको नेपाल विद्युत प्राधिकरणले जनाएको छ । सरकारी विद्युत गृहबाट कुल जडित क्षमतामध्ये एकसय र निजी क्षेत्रको २ सय मेगावाट विद्युत कम उत्पादन भएको प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले घटना र बिचारलाई बताए ।

विद्युत आपूर्तिको अवस्था

अझै केही समय वर्षा भएन र हिउँ पग्लिन पनि सुरु भएन भने मंसिरसम्म सबैजसो आयोजनाको उत्पादन क्षमतामा ५० प्रतिशतले गिरावट आउने अनुमान छ । अहिले प्राधिकरणको वितरण प्रणालीमा एकसय ४४ मेगावटको कालीगण्डकी, ६९ मेगावाटको मस्र्याङ्दी, ७० मेगावाटको मध्यमस्र्याङ्दी, ३० मेगावाटको चमेलिया र २२ मेगावाटको चिलिमे लगायतका ठूला आयोजनाले ठूलो योगदान दिएका छन् ।

अघिल्लो बर्ष पनि नदीमा पानीको मात्रा कम हुँदा ‘रन अफ दि रिभर’ प्रणालीका विद्युत् आयोजनामा यस्तै प्रभाव परेको थियो । प्राधिकरणको तथ्यांकअनुसार तिहारपछि मुलुकभर १ हजार १ सय २ मेगावाट विद्युत लोड छ ।

यस वर्षको हिउँदमा कम्तीमा १ हजार ३ सय मेगावाट बिजुलीको माग हुने प्राधिकरणको प्रक्षेपण छ । माग र आपूर्तिको स्थिति हेर्दा कम्तीमा ३ सय मेगावाटको प्रसारण लाइनमा कमी देखिन्छ । आयोजनाबाट विद्युत उत्पादन घटेपनि लोडसेडिङ भने नहुने प्राधिकरणले दावी गर्दै आएको छ ।