राप्रपाको एकता, यता नभए उता !

राप्रपाको एकता, यता नभए उता !


राष्ट्रिय प्रजातन्त्र पार्टीका तीन घटकहरूबीच हुन लागेको एकता अचानक बिथोलिए पनि दुई समूहबीच भने एकताको लागि निर्णायक प्रयास भइरहेको छ । कमल थापा, डा. प्रकाशचन्द्र लोहनी र पशुपतिशमशेर राणाले नेतृत्व गरेका समूहहरू आपसमा विलय भई ‘राष्ट्रिय प्रजातन्त्र पार्टी’ बन्न सैद्धान्तिक सहमति गरेपछि यसै साता राप्रपा एउटै बन्ने अपेक्षा गरिएको थियो । संवैधानिक राजसंस्थासहितको प्रजातन्त्र र हिन्दूराष्ट्रका बारेमा तीनवटै पक्षबीच समान धारणा रहेको भए पनि पार्टीको चुनावचिह्न, झन्डा र नेतृत्वको विषयमा टुङ्गो लाग्न बाँकी थियो ।

डा. लोहनी र राणा चुनावचिह्न हलो बनाउँदा उपयुक्त हुन्छ भन्ने धारणा राख्थे भने कमल थापा चुनावचिह्न गाई नै हुनुपर्छ भन्ने अडानमा थिए । यसै विषयमा छलफल चल्दाचल्दै एकीकृत राष्ट्रवादी राप्रपाका नेता डा. प्रकाशचन्द्र लोहनीले ‘केही दिन थप गृहकार्य गरेर निर्माणमा पुगौँन त’ भन्ने धारणा राख्नुभएपछि एकता बैठक रोकिएको थियो । तर, कमल थापाले यसलाई राणा र लोहनीको समूह राजसंस्थाको पक्षमा नरहेकोले उनीहरूकै कारण पार्टी एकीकरण हुन नसकेको भनी प्रचार गराएका छन् ।

प्राप्त जानकारीअनुसार तत्काल कमल थापा नेतृत्वको समूहसँग एकता हुन नसके पनि पशुपतिशमशेर राणा नेतृत्वको राप्रपा प्रजातान्त्रिक र डा. लोहनी नेतृत्वको एकीकृत राष्ट्रवादी राप्रपाबीच छिट्टै नै पार्टी एकीकरण हुने भएको छ । एकताका लागि डा. लोहनी र राणाबीच निरन्तर भेटवार्ता भइरहेका छन् । दुई समूहबीच विवादका विषय खासै नरहेको, सामूहिक नेतृत्वमा जाने र चुनावचिह्न हलो राख्नेमा सहमति बन्ने भएकोले दुई समूहबीचको एकीकरण नजिकिएको हो । कमल थापा समूहको राप्रपाले भने चुनावचिह्न गाईमा कुनै सम्झौता नगर्ने भएको छ । राजसंस्था, हिन्दूराष्ट्र र चुनावचिह्न गाईलाई उक्त समूहले आफ्नो ‘बटमलाइन’ बनाएको छ ।

राप्रपाका घटकहरूबीचको एकता या विभाजनले देशको राजनीतिमा कुनै तात्विक असर पार्ने स्थिति छैन । तर, राप्रपाका मतदाताहरूमा भने एकीकरणले उत्साह बढाउने विश्वास गरिएको छ । राप्रपा सत्तामा जाने पाउने हैसियतमा छैन र सडकसङ्घर्ष गर्न सक्ने ल्याकत पनि राप्रपा घटकहरूमा देखिँदैन । राप्रपाका नेताहरूले गर्न सक्ने भनेकै पार्टी एकता र पार्टी विभाजन हो । मौसमअनुसार पार्टीको एकता र फुट गराउने काम द्रुतगतिमा गर्ने काम राप्रपाका नेताहरूले गर्दै आएका छन् ।