छात्रावासमा आगलागी हुँदा ११ को मृत्यु, २० घाइते

छात्रावासमा आगलागी हुँदा ११ को मृत्यु, २० घाइते


युगाण्डाको एउटा विद्यालयको छात्रावासमा भएको आगलागीमा परी कम्तीमा ११ जनाको मृत्यु भएको छ । सुतिरहेका बेला भएको आगलागीका कारण अरू २० जना जलेर घाइते भएको प्रहरीले जानकारी दिएका छन् ।

विद्यालयका प्रधानाध्यापक हेनरी सुबुगाले घटनामा दोषी भएको आशंकामा केही विद्यार्थीलाई नियन्त्रणमा लिइएको बताए । युगाण्डाको दक्षिणी क्षेत्रमा पर्ने राकैमा रहेको सेन्ट बर्नाड सेकेन्डरी स्कुलको छात्रावासमा आगलागी भएको हो । गत आइतबार राति आगलागी भएको समाचारमा जनाइएको छ ।

आगलागी गराउनेले बाहिरबाट ढोका बन्द गरिदिएर विद्यार्थीलाई भित्र थुनेर बाहिर निस्कन नमिल्ने बनाएर आगलागी गराएको प्रहरीले जनाएको छ । बाहिरबाट ढोका बन्द गरिदिएकाले उद्धार गर्न पनि कठिनाइ भएको प्रहरी अधिकारीको भनाइ छ । ढोका नलगाइएको भए मानवीय क्षति पनि कम हुने प्रधानाध्यापक सुबेगाले बताए ।

कतिपय शवहरू अत्यधिक जलेर पहिचान गर्न गाह्रो भएकाले प्रहरीले डीएनए परीक्षण गर्न लगाइएको उनले जानकारी दिए । क्षेत्रीय प्रहरी प्रमुख बेन नुवामान्याले एएफपीसँगको कुराकानीमा ११ जना विद्यार्थीको जलेर मृत्यु भएको पुष्टि गरेका छन् ।

आगलागीमा परेर जलेर घाइते भएका २० जनाको अस्पतालमा उपचार भइरहेको छ र उनीहरू अधिकांशको अवस्था गम्भीर रहेको चिकित्सकले बताएका छन् । घटना भएको ठाउँ राखै जिल्ला देशको राजधानी काम्पालादेखि २८० किलोमिटर टाढा पर्दछ ।