कसले चलायो देउसी/भैलोको प्रचलन ?

कसले चलायो देउसी/भैलोको प्रचलन ?


– इन्द्रबहादुर बराल

नागराजले स्थापना गरेको खस साम्राज्यको पतनपश्चात् आधुनिक नेपाल त्रिशूली पश्चिमदेखि कुमाउँ–गढवालसम्म बाइसे–चौबीसे भुरेटाकुरे राज्यमा परिणत हुन पुग्यो । नागराजका उत्तराधिकारीहरू क्रमशः चापराज, चापिल्ल, क्रासिचल्ल, क्राधिचल्ल, क्राचल्लदेव, अशोकचल्ल, जितारी मल्ल, अक्षय मल्ल, रिपु मल्ल, आदित्य मल्ल, पुण्य मल्ल, पृथ्वी मल्ल, सूर्य मल्ल र अभय मल्लसम्म आइपुग्दा खस राज्यको पतन हुन पुगेको अध्ययनबाट प्रस्ट हुन्छ । खस साम्राज्यमा विकेन्द्रित शासन व्यवस्था लागू गरी गण्डकी प्रदेशका गोर्खा, लमजुङ, कास्की र पर्वत भेकका गुरुङ जातिका मुखियाहरूले खस साम्राज्यका अधीनस्थ सामन्तका रूपमा स्थानीय शासन चलाएका थिए । स्थानीय प्रशासनमा चार जातका गुरुङहरूको विशेष भूमिका थियो भने १६ जातचाहिँ शासित अर्थात् रैतीका रूपमा भएको अनुमान गर्न सकिन्छ ।

खस राज्य स्थापनापूर्व नै गण्डकी प्रदेशमा मगर जातिको प्रभावकारी उपस्थिति भएको देखिन्छ । त्यसको प्रमाणस्वरूप गण्डकी प्रदेशकै तनहुँ, भिरकोट, पाल्पा, गुल्मी र प्यूठान भेकमा मगर जातिका मुखियाहरूले खस साम्राज्यको अधीनस्थ उक्त क्षेत्रमा सामन्तको रूपमा स्थानीय शासन चलाएका थिए । आज त्यही आधारमा तमुवान र मगरातको स्वायत्त राज्यको माग उठेको हुन सक्छ । उक्त कुरा खस साम्राज्यको इतिहासमा प्रा.डा. सूर्यमणि अधिकारीले उल्लेख गरेको पाइन्छ । यस सन्दर्भमा खस साम्राज्यको शासनकालमा खसक्षत्री र मगर तथा गुरुङ जातिबीच अत्यन्त सौहार्दपूर्ण सम्बन्ध रहेको प्रमाणित हुन्छ । विषय प्रवेशको सन्दर्भमा सङ्क्षिप्त इतिहास कोट्याउन खोजेको हो ।

प्रसङ्ग तिहारको देउसी/भैलोको प्रचलन कहिले र कुन सन्दर्भमा भयो होला भन्ने विषयको खोजतलास हो । हुन त तिहार चाड विशेष गरेर क्षत्री, बाहुन, दशनामी, ठकुरी, नेवारलगायतका समुदायले मनाउँदै आएकाले देउसी–भैलो सामान्य रङरमाइलोको लागि गर्ने गरेको भने पनि भयो । तर, पङ्क्तिकारको बुझाईमा देउसी–भैलोको सम्बन्ध राज्यसत्ता सञ्चालनसँग सीधै जोडिएको छ ।

कुरा पन्ध्रौँ शताब्दीतिरको हो, जब खस साम्राज्य विघटन भयो, तत्पश्चात् धमाधम उक्त राज्य टुक्रन थाल्यो र बाइसे–चौबीसे राज्यहरू निर्माण भए । बाइसे–चौबीसे राज्यलाई राज्य नभनी भुरेटाकुरे राज्य भन्नेहरू पनि इतिहासमा यत्रतत्र पढ्न र सुन्न पाइन्छ । यसो किन भने होला, राज्य बन्नलाई आवश्यक पर्ने तत्वहरू ती राज्यहरूमा विद्यमान थिएनन् । यद्यपि त्यो कालखण्डमा जे भन्दा उपयुक्त लाग्थ्यो त्यही भने होलान् भनेर धेरै बहस तथा विवादतर्फ लागेको पाइएन । जो–जसले जे भन्न उपयुक्त ठाने त्यही भने होलान् । यसर्थ यस विषयलाई यहाँ केवल तिहारको देउसी–भैलो र देउसी–भैलो भट्याउने क्रममा जुम्लाका राजा बलिराजको नाम कसरी आयो भन्ने सन्दर्भलाई जोडेर हेर्ने प्रयत्न गरिएको छ ।

जब पन्ध्रौँ शताब्दीमा विशाल र समृद्ध खस साम्राज्यको विघटन हुन गयो, तब मात्र उक्त साम्राज्यमा बाइसे–चौबीसे भुरेटाकुरे राज्यहरू भए । त्यसमध्ये जुुम्लामा बलिराज राजा भए । सामान्यतया कुनै मुलुक विघटन त्यति सजिलै हुँदैनन् । त्यहाँ केही न केही सङ्कट उत्पन्न भएकै हुन्छ । सम्भवतः अमूक सङ्कटले त्यति ठूलो खस साम्राज्य विघटन हुन पुग्यो । खस देश विघटन वा पतनपछि टुक्रिएर बनेको जुम्लामा बलिराज राजा बने, तर आर्थिक रूपले अत्यन्त सङ्कट उत्पन्न भएपछि आफ्ना जनतालाई राष्ट्रको ढुकुटी जम्मा गर्न देउसी–भैलो खेल्न पठाएको सन्देश ‘हामी त्यसै आएनौँ बलिराजाले पठाए’ भन्ने भट्याई आफैं प्रमाणित हुन्छ । आजपर्यन्त देउसी–भैलोमा बलिराजाको नाम कुनै पनि देउसी–भैलो टोलीले छुटाउँदैनन् । यसर्थ कुनै पुराण वा कथामा सुनिएजस्तै तिहार पर्व १५औँ शताब्दीभन्दा पहिले थिएन कि भन्ने प्रश्नको जवाफ खोजिरहन पर्ला जस्तो लाग्दैन ।

राज्यको आर्थिक सङ्कट मोचन गर्न बलिराजाले आफ्ना प्रजालाई देउसी/भैलो खेल्न पठाएको हुनुपर्छ भन्ने अनुमानलाई प्रमाणकै रूपमा लिन सकिन्छ ।

यसै पनि खस जातिको आफ्नो राजकीय धर्म हिन्दू नभई बुद्धधर्म थियो भन्नेहरू पनि कम छैनन् । अर्थात् खसहरू हिन्दूकृत हुनुपूर्व बौद्धमार्गी नै थिए भन्नेमा विवाद गरिरहन पर्दैन । अब कुरा रह्यो हामीले इतिहासलाई विश्वास गर्ने कि पौराणिक ग्रन्थ अर्थात् किंबदन्ती वा कथामा । यो विवादमा अब फसिरहनुभन्दा पनि सबै जातिका आ–आफ्ना धर्म, संस्कृति मानव आफैँले निर्माण गरी चलनचल्तीमा ल्याएका हुन् । यहाँ केवल देउसी, भैलो र जनैपूर्णिमामा बाँधिने रक्षाबन्धनको मन्त्र पनि बलिराजासँग जोडिएर आएकोले सामान्य जिज्ञासा राखिएको हो । सबैलाई थाहा छ– नब्बेका दशकमा संसारकै शक्तिशालीमध्येको एक सोभियत सङ्घ विघटन हुँदा जुन आर्थिक सङ्कट आइपऱ्यो त्यसरी खस साम्राज्यको विघटनसँगै स्थापित नयाँ राज्य जुम्लामा आर्थिक सङ्कट परेन होला भन्न सकिँदैन । सायद त्यही भएर राज्यको आर्थिक सङ्कट मोचन गर्न बलिराजाले आफ्ना प्रजालाई देउसी/भैलो खेल्न पठाएको हुनुपर्छ भन्ने अनुमानलाई प्रमाणकै रूपमा लिन सकिन्छ । अन्यथा देउसी/भैलो खेल्नेहरूले बलिराजाको नाम लिनुपर्ने अर्को कुनै कारण देखिँदैन । यही एउटा सन्दर्भलाई हेर्दा तिहारका अन्य एमपञ्चकका बारेमा छाडेर देउसी/भैलो प्रचलन निःसन्देह पन्ध्रौँ शताब्दीबाट प्रारम्भ भएको भन्दा कसैले नमिठो मान्नुपर्दैन ।

केही हिन्दूवादी सङ्घ/संस्था वा व्यक्तिहरूले यसलाई हिन्दूधर्ममाथिको प्रहारको रूपमा नलेलान् भन्न सकिँदैन । तैपनि हाम्रो जनजिब्रोमा भट्याइने ‘हामी त्यसै आएनम् बलिराजाले पठाका’ भन्ने वाक्यांशले नै आजको यो प्रसङ्ग उठाइदिएको छ । अब अध्येताहरूले यस विषयमा विज्ञान र इतिहाससम्मत हिसाबले यस प्रश्नको निक्र्योल गर्न सके अझै प्रस्ट हुने अवसर मिल्ने थियो । हुन त ३०० वर्षसम्मको लामो शासनसत्ता चलेको खस राज्यको बारेमा भर्खर मात्रै सामान्य चर्चा हुँदै छ भने जाबो तिहारको देउसी/भैलो भट्याउने एउटा वाक्यको अर्थ रहला र ? त्यसकारण बलिराजाको नाम किन लिने गरिन्छ तिहारको देउसी/भैलोमा मात्र होइन ‘एन बद्धो बलिराजा…’ मन्त्र पढेर नाडीमा धागो बाँध्ने प्रचलनको सम्बन्धमा पनि अब तार्किक बहसको खाँसो देखिँदै छ ।

विज्ञान तथा प्रविधि विकाससँगै हाम्रो ऐतिहासिक सत्यतथ्य त्यसै हराएर जाने सम्भावना देखिँदै छ । त्यसैले नेपालको पौराणिकता र इतिहासलाई विद्यालयदेखि विश्वविद्यालयसम्म पाठ्यपुस्तकमा राखिनुपर्ने अवस्था देखिन्छ । इतिहास भनेको हाम्रो उत्पत्तिको मुहान हो, स्रोत हो । हामीले हाम्रै उत्पत्ति र उद्गमलाई बुझ्न सकेनौँ भने आफैँलाई बुझ्न नसकेको ठहरिन्छ । यसर्थ सबै जातजातिले आफ्नै इतिहासबारे सूक्ष्म अध्ययन गरी अधिकारको खोजीमा सङ्घर्षरत हुनुपर्छ । तर, खस जाति भने अझै पनि आफ्नो उत्पत्तिको खोजीमा बेवास्ता गर्दै अरूको बहकाउमा लागेको पाइन्छ । उदाहरणको लागि नेपालका तथाकथित आदिवासी/जनजातिहरू खस जातिमाथि आक्रामक रूपले जाइलाग्दासमेत धेरैजसो खस जातिका राजनीतिज्ञहरू उल्टै आदिवासी/जनजातिलाई उत्साइरहेको अवस्थाबाट सायद कोही पनि अनभिज्ञ छैनन् होला । त्यसको पछाडि कोहीमा राजनीतिक स्वार्थले काम गरेको थियो होला भने धेरै युवा विद्यार्थीमा आफ्नो जातीय उत्पत्तिबारे ज्ञान नभएर पनि हुन्छ ।

नेपालमा लिच्छविकालबाट मात्र लिखित इतिहासको प्रारम्भ भएको भनिन्छ । तर, यहाँ त्योभन्दा पहिले हजारौँ वर्षको कुरा गर्ने धेरै घुरन्धर पण्डितहरू छन् जो प्रमाणित इतिहासलाई उपेक्षा गर्दै पुराणहरू नै सबै हो भन्दै खस जातिको गौरवशाली इतिहासलाई समेत नकार्न पुग्छन् । तिनै पुराणका वेत्ताबाटै नेपाली समाजमा जातीय विभेद तथा छुवाछुतजस्ता अत्यन्त आपत्तिजनक सामाजिक व्यवहार देखिँदै छ । यहाँ कुनै जात वा धर्मको घृणा वा निन्दा गर्न खोजिएको नभई समाजमा व्याप्त विकृति तथा विसङ्गतिको सामान्य चर्चा मात्र गरिएको हो । चाहे जे होस्, देउसी–भैलोको प्रचलन वा प्रारम्भ कहाँबाट कहिले भयो भन्ने जिज्ञासाको चित्तबुझ्दो जवाफ पाउने आशा गरिएको छ । अन्यथा देउसी/भैलोको प्रचलन बलिराजाले नै चलाएका हुन् ।