दाह्री ग्याङद्वारा देउसी भैलो

दाह्री ग्याङद्वारा देउसी भैलो


राजन घिमिरे, सिड्नी

प्रवासको बसाईमा पनि नेपालीले आफ्नो चाडपर्व तथा रीतिरिवाज मनाउन नछोडेको अर्को उदाहरण प्रस्तुत गरेका छन् अष्ट्रेलियानिवासी नेपालीहरुले । जन्मभूमिलाई सम्झँदै कर्मभूमिमा विभिन्न कार्यक्रम आयोजना गरेर उनीहरूले स्वदेशको संस्कार र संस्कृति जागृत तुल्याउँदै आएका छन् ।

यसै क्रममा दाह्री ग्याङ अष्ट्रेलियाले नेपालीको दोस्रो ठूलो पर्व तिहारको अवसरमा सिड्नीको रगडेलमा आयोजना गरेको देउसी भैलो कार्यक्रम भव्यतापूर्वक सम्पन्न भएको छ । कार्यक्रमको प्रमुख अतिथि एनआरएन अष्ट्रेलिया न्यु साउथवेल्सका उपाध्यक्ष नन्दा गुरूङ्ग तथा अतिथिका रूपमा एनआरएन अष्ट्रेलियाका सचिव देव तमु, नेपाल अष्ट्रेलिया अभिभावक संगठनका पूर्वअध्यक्ष नानीबाबु बर्तौलालगायत विभिन्न संघसंस्थाबाट प्रतिनिधित्व गर्दै आएका महानुभावहरू र अष्ट्रेलियाका विभिन्न स्थानबाट भेला भएको नेपाली समुदायको उल्लेख्य उपस्थिति थियोे । कार्यक्रममा स्थानीय कलाकारहरू समीर आचार्य, संजिव पराजुली र सुजाता उपाध्यायले गीत प्रस्तुत गरेर कार्यक्रममा रौनकता थपेका थिए भने साथमा अन्य कलाकारहरूले कला संस्कृति र देउसी भैलो संस्कृति झल्कने गीत, नृत्य आदिको बेजोड प्रस्तुति दिएका थिए ।

विनोद पौडेलको अध्यक्षतामा सञ्चालित कार्यक्रममा सरोज भण्डारीले स्वागत मन्तव्य राखेका थिए । आमन्त्रित सबैलाई दाह्री ग्याङको तर्फबाट नेपाली ढाकाटोपी र ढाकाको खादाले स्वागत गरिएको थियो । कार्यक्रम सफल बनाउन सहयोग गर्नुहुने सहयोगी हातहरू, समन्वयकर्ताहरू र उपस्थित अतिथि एवम् दर्शकहरूलाई दाह्री ग्याङले विशेष धन्यवाद तथा आभार प्रकट गरेको छ भने संकलित देउसी भैलो रकम दाह्री ग्याङ अष्ट्रेलियाको मानवीय सहयोग तथा कल्याणकारी कोषमा जम्मा गरिने ग्याङका रोशन भट्टराईले जानकारी दिएका छन्् ।