सुनसरी जिल्लाको इटहरी उपमहानगरपाालिका–६ स्थित मुख्य चोकमा रहेको सप्तकोशी कलर ल्याब रहेको चारतले पक्की भवनमा आज दिउँसो आगलागी हुँदा करोडौँको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।
एक दर्जन बढी व्यावसायिक कारोबारका पसल तथा व्यवसाय रहेको उक्त भवनमा विद्युत् ‘सर्ट’ भएर दिउँसो १ बजेतिर आगलागी शुरु भएको इटहरी बारुणयन्त्र कार्यालयले जानकारी दिएको छ ।
आगलागीमा परेर विनोद पराजुलीको नाममा रहेको उक्त चारतले भवनको माथिल्लो तीन तला पूर्ण रूपमा ध्वस्त भएको छ । आगलागीका कारण त्यो भवनभित्र रहेका अधिकांश पसल तथा व्यवसायीको सरसामान पूर्ण रूपमा जलेर नोक्सानी भएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।
इटहरीको मुख्य चोक क्षेत्रको बजारमा भएको उक्त आगलागी अन्य घर क्षेत्रमा फैलन नदिनका लागि झण्डै एक दर्जन बढी दमकलले पूर्ण प्रयास गरेका कारण ठूलो नोक्सानी हुनबाट इटहरीको बजार जोगिएको थियो ।
बीच शहरमा भएको आगोलाई नियन्त्रणमा लिनका लागि इटहरी धरान विराटनगर इनरुवा तथा यस आसपासमा भएका बारुणयन्त्र, प्रहरी नेपाली सेना सशस्त्र प्रहरी र स्थानीयवासीसमेतको सक्रिय सहभागिताकै कारणले आगो अपरान्ह् ३ बजेतिर नियन्त्रणमा लिने कार्य सफल भएको थियो ।
घना शहरको बीचमा भएको घरमा आगलागी भएका आसपासका अन्य जोडिएका घरमा समेत नोक्सानी पुगेको स्थासनीयवासीले जानकारी दिँदै अहिल्यै क्षतिको यकिन विवरण भन्न नसकिने अवस्था नरहेको बताइएको छ ।
चारतला माथिबाट आगो प्रारम्भ भएकाले के कारणले आगो सल्किएको वा फैलिएको हो भन्ने यकिन हुननसकेको र प्रहरीले विद्युत् सर्टकै कारणले आगो लागेको प्रारम्भिक अनुमान गरेको जानकारी दिएको छ ।
आगलागीमा धेरै नोक्सानी भए पनि मानवीय क्षति भने नभएको प्रहरीले जानकारी दिएको छ । आगो नियन्त्रणमा पूर्ण सावधानीपूर्वक अपनाइएकाले शहरमा आगो फैलनबाट जोगिएको प्रहरीले बताएको छ ।
प्रतिक्रिया