सेसर सायोक, जेयर बोलसोनारो र नेपाली लोकतन्त्र !

108 Shares

– दीपेन्द्र पाण्डे

यतिबेला मुलुकमा राजनीति सकिएको केवल समृद्धि मात्र बाँकी रहेको सरकारी मान्यता जबर्जस्ती स्थापित गर्ने कोसिस गरिएको छ । विश्व राजनीतिमा भरमार बिकिरहेको शब्दहरू राष्ट्रवाद, समृद्धि, आस, त्रास र घृणाबाट नेपाल अपरिचित हुने कुरै रहेन । वामपन्थ र लोकतन्त्रमा बराबरी स्थान जमाउन सफल दक्षिणपन्थी अराजकता अमेरिका, ब्राजिल हुँदै नेपाल पस्न मरिहत्ते गरेको संकेत वर्तमानमा देखिएको शान्तिलाई मानिँदै छ ।

विश्व राजनीतिमा पछिल्लो कालखण्ड राष्ट्रवाद र दक्षिणपन्थको बोलवाला बढ्दो छ । विश्वलाई लोकतन्त्रको पाठ सिकाउने मुलुकले आफ्ना कमजोरीलाई लुकाउन जानाजान खेलिने राजनीतिक खेलले नयाँ–नयाँ समस्या सिर्जना गरिरहेका छन् । बितेको केही समयदेखि अमेरिकी लोकतन्त्रमा घृणाको राजनीति बिक्दो छ । उक्त महान् कार्यमा राष्ट्रपति ट्रम्पको ठूलो योगदान रहँदै आएको छ । पैसाबाट सबै प्राप्त गर्न सकिन्छ र पैसालाई जसरी पनि प्रयोग गर्न सकिन्छ भन्ने मान्यतामा अडिग ट्रम्प–राजनीतिले आफ्नो क्षेत्रमा असफल भएका मानिसलाई विचित्र ढंगले आकर्षित गर्दै छ ।

फुटबललाई अत्यन्त मन पराउने, जिमबाट आफ्नो शरीरलाई तन्दुरुस्त राख्ने, नृत्यमार्फत मनोरञ्जन दिन पछि नपर्ने उनलाई असफलताले कसैगरी छोडेन । पाइलापाइलामा असफलता भोग्दै गर्दा ट्रम्पलाई सबै समस्याको मुक्तिदाता देख्न पुगे । जसले उनलाई अत्यन्त कट्टर बन्न बाध्य बनायो । अमेरिकी समाजमा ट्रम्पले घृणा बेच्दै गए । उनी ट्रम्पलाई आदर्शपुरुष मान्न थाले । तैपनि उनी सफल बन्न सकेनन् । दिन प्रतिदिन बिगँ्रदै गएको आर्थिक अवस्थाले घरबाट भ्यानमा जीवन गुजार्न बाध्य भए । तत्पश्चात् ट्रम्पको विरोधीलाई आफ्नो शत्रु मान्न थाले । आफू बस्ने भ्यानमा राष्ट्रपति ट्रम्पविरोधी पार्टीको विरुद्ध स्टिकर टाँस्दै मिडियालाई सराप्न र गाली गर्न थाले ।

आफ्ना हरेक कमजोरी र गरिबीको कारण ट्रम्पविरोधीलाई देख्न पुगे । उनको दिमाग केवल ट्रम्पको समर्थनमा खर्च हुन थाल्यो । उनी दिमागी रूपले बिरामी बन्दै फेसबुक, ट्विटरमा ट्रम्पविरोधीलाई घृणा गर्दै दिन बिताउन थाले । ट्रम्पको विरोधीलाई अमेरिकाको सबैभन्दा ठूलो दुश्मन मान्दै अन्ततः बाह्र मानिसको घरमा चौध ‘लेटरबम’ पठाए । जसलाई आज अमेरिका मात्र होइन सारा विश्व सेसर सायोकको नामले चिन्दै छ । अमेरिकी राजनीतिमा खलबली मच्चाउन सफल उक्त ‘लेटरबम’ काण्डको अनुसन्धान गर्ने जाँच एजेन्सीलाई तारिफ गर्दै ट्रम्पले भने– सेसर सायोकको बारेमा खुला गरेर मिडियाले राम्रो गरेन ।

सन् १९६४ देखि १९८५ सम्म कुख्यात शासन चलाएका चिलीका सैनिक तानाशाह पिनोसेले धेरै मानिसलाई मार्नुपर्ने थियो । लोकतन्त्रले राष्ट्रिय समस्या समाधान गर्न सक्दैन । प्रहरीलाई अत्याधुनिक बनाउनुपर्ने साथै गोली चलाउने अधिकार बढाउनुपर्ने वकालत गर्दै राष्ट्रपति निर्वाचनमा होमिएका बोलसोनारो ब्राजिलियन जनतामाझ चर्चित बन्न पुगे । खुलेआम सैनिक तानाशाहको प्रशंसा र समर्थन गर्ने नवनिर्वाचित ब्राजिलियन राष्ट्रपति जेयर बोलसोनारो ब्राजिल राजनीतिमा घृणाको साम्भा नृत्य गर्दै छन् ।

बोलसोनारोको वचन खतरनाक छन् । उनी विगत सरकारको गल्तीबाट जनताको मनभित्र उत्पत्ति भएको नकारात्मकतालाई नगदमा बदल्दै छन् । उनी मान्छन्- विकास र सत्ताको बाटोबाट मानिसलाई किरा–फट्यांग्राको व्यवहार गर्न सकिन्छ ।

ब्राजिलमा बढ्दै गएको बेरोजगारी, आर्थिक संकट, मुद्रास्फीति, भ्रष्टाचारको कारण नवउदारवाद होइन लोकतन्त्र हो भन्ने बोलसोनारो नवउदारवादलाई बोकेरै ब्राजिललाई ठीक गर्न सकिन्छ भन्ने मान्यता राख्दै छन् । उनी मान्छन्- केवल भ्रष्टाचार समाप्त गर्ने हो भने सबै विकृति स्वत: ठीक हुनेछन् । इमानदार र मजबुत नेताले मात्र ब्राजिल बनाउन सक्छ । जसको निम्ति लोकतन्त्रले कुनै अर्थ राख्दैन भन्दै भाषण गर्दा जनताले जोडजोडसँग ताली बजाए ।

बोलसोनारोको वचन खतरनाक छन् । उनी विगत सरकारको गल्तीबाट जनताको मनभित्र उत्पत्ति भएको नकारात्मकतालाई नगदमा बदल्दै छन् । उनी मान्छन्- विकास र सत्ताको बाटोबाट मानिसलाई किरा–फट्यांग्राको व्यवहार गर्न सकिन्छ । यस्तो गर्दा पनि ताली बजाउनेको कुनै कमी हुनेछैन । उनी गरिबीलाई घृणा गर्छन् । विदेशी एनजीओलाई भगाउने कुरा गर्छन् । जसले गर्दा उनी ब्राजिलियन ट्रम्प कहलिएका छन् । उनी कठोर दक्षिणपन्थी बन्दै घृणाको नयाँ वादशाह बनेर उदाएका छन् ।

रगत बग्न शब्दको जरुरत पर्दैन । पहिला शब्द मर्छन् वा मारिन्छन् तब मानिस मारिन शुरु गर्छन् । अनि रगतको खोलो बग्छ भन्ने बुझ्न राष्ट्रपति निर्वाचित हुनुपूर्व चक्कु खाँदै अस्पताल भर्ना भए । वर्तमान विश्व–राजनीतिमा छाएको आर्थिक मन्दीपछि अर्थ व्यवस्थामा केही सुधार वा परिवर्तन हुनेछ भन्ने आशा मात्र गरिएको, तर केही हुने ग्यारेन्टी नहुँदा हरेक सत्ता अनुपयुक्त मुद्दा निर्माण गर्दै जनताको ध्यान अन्यत्र मोड्न चाहन्छ । जनताको तमाम समस्या, चाहना र आवश्यकता पूरा नहुँदा ‘लोकतन्त्र दुश्मन र तानाशाही दोस्त’ देखिने स्थिति नै बोलसोनारो जन्मने कारण हुन् भन्ने बुझ्न ब्राजिलियन जनताले केही समय अवश्य पर्खनेछन् ।

सेसर सायोक र बोलसोनारो अमेरिका, ब्राजिल मात्र होइन विश्वभर सरुवा रोग बनेर फैलिँदै छ । फगत कुर्सीको निम्ति सम्भव–असम्भव नारा र सपनाको अधिक वितरण गर्दै सत्ता प्राप्त गर्ने राजनीति नेपाली लोकतन्त्रमा प्रवेश गरिसकेको भेटिन्छ । समग्र मुलुक सांसद, मन्त्री, पूर्वविशिष्ट र प्रधानमन्त्री बनाउने कारखाना बनाउँदै जनताबाट धेरै टाढा पुगेको नेपाली लोकतन्त्र २०७२ साल असोज ३ गतेसम्म संविधान ल्याउने नाममा जनता भुलाउन सफल भयो । राजनीतिले देश बनायो भन्नुको सट्टा मुलुकको अस्तित्व नै समाप्त पार्न लागेको कुरालाई ढाकछोप गर्न जारी गरिएको संविधान पछि पनि लोकतन्त्र र मुलुकले सही दिशा समाउन असफल भएको प्रमाण स्वयम् प्रधानमन्त्रीले अरिँगाल नामको नेपाली सेसर सायोक बन्न आह्वान गरेबाट पुष्टि भइसकेकै छ ।

पाँचवर्षे कार्यकालको करिब बीस प्रतिशत समय गफमा बिताएको सरकारले युवाजति विदेश पठाउँदै तन, मन र धनले मुलुक निर्माण गर्ने ‘हवाई मन्त्र’ छोड्न बाध्य हुँदा लोकतन्त्रको विकल्पमा छोडिने डाइलग, तुष्टि, परिकल्पना र भँडासमा पनि मजा लिनुपर्ने स्थितिले लोकतन्त्र कुपोषित बन्दै छ ।

नेपालमा एक थान लोकतन्त्र छ, साथै माइतीघर मण्डला पनि । राज्यसँग सयौँ निकाय र अथाह शक्ति मात्र होइन सार्वभौम सत्ताको प्रयोग गर्ने डण्डासमेत छ । मुलुकमा भ्रष्टाचार छ, नियन्त्रण गर्ने निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोग पनि छ । मानवअधिकार उल्लंघन प्रशस्त छ, मानवअधिकार आयोग पनि छ । प्रधानमन्त्रीसँग भ्रष्टाचार नगर्ने र गर्न नदिने प्रण पनि छ तर भ्रष्टाचार बढेकोबढै छ । गृह मन्त्रालय छ, सबै गर्छु पनि उ भन्छ । तर, शान्तिसुरक्षाको दुरावस्थाको पुष्टि प्रहरी अधिकारीलाई निलम्बन मात्रले नपुगेर बर्खास्त गर्दै दिएकै छ । आमजनताले खोजेको कुरा कही कतै पाएको सुनिँदैन । लोकतन्त्र समृद्ध बन्दै गरेको सरकारी घोषणा सित्तैमा सुनिँदै छ । सबैखाले सिन्डिकेट तोडिने हवाई घोषणापछि स्थगित कार्यक्रम, बाटैबाट हराएको ३३ किलो सुन काण्डको असफलता, निर्मला बलात्कारपछिको हत्याकाण्ड सरकारको सम्पत्ति बनेसँगै सेसर सायोकहरू अरिँगाल मात्र होइन माहुरी बन्नुपर्ने उर्दी औचित्यहीन बन्दै छ ।

चुनावी घोषणापत्र, नेताको भाषण, नीति तथा कार्यक्रम, बजेटपछि सरकार सञ्चालनको शैलीबाट लोकतन्त्र कता लम्कँदै छ ? बताइरहनुपर्ने विषय रहेन । सुखी नेपाली र समृद्ध नेपाल निर्माण गर्ने महायात्रामा निस्किएको नेपाली लोकतन्त्रमा आफ्नै सहकर्मीबाट पिल्सिएका नेताले लोकतन्त्र र मुलुकलाई गुन लगाउँछन् भन्ने कल्पना ‘नमिठो हँसाई’ मानिँदै छ । पाँचवर्षे कार्यकालको करिब बीस प्रतिशत समय गफमा बिताएको सरकारले युवाजति विदेश पठाउँदै तन, मन र धनले मुलुक निर्माण गर्ने ‘हवाई मन्त्र’ छोड्न बाध्य हुँदा लोकतन्त्रको विकल्पमा छोडिने डाइलग, तुष्टि, परिकल्पना र भँडासमा पनि मजा लिनुपर्ने स्थितिले लोकतन्त्र कुपोषित बन्दै छ ।

विगतमा एउटा मात्र सरकार हुँदा तुलनात्मक रूपमा नेपालले स्थापित गरेको सम्मानजनक राजनीतिक उपस्थितिले पोलेका शक्तिले अनेक षड्यन्त्रमार्फत रोपेका विषवृक्ष फल दिन शुरु गरिसकेका छन् । स्थानीय, प्रदेश र केन्द्र सरकार गरी कुल ७६१ सरकार संविधानमै किटान गरिएको लोकतन्त्र कति विचित्रको जीवन जिउँदै छ ? भनिरहनु परेन । कर्मचारी, व्यापारी, गैरसरकारी संस्था र विदेशी नियोगसमेत अनौपचारिक सरकार बन्दै शासन गर्न तम्सिँदा वर्तमान लोकतन्त्रले हाँसी–हाँसी अपनाउने एक मात्र बाटो सेसर सायोक र बोलसोनारोको स्वागत हो भन्ने दिन नजिक आएको मान्न सकिन्छ ।

108 Shares

प्रतिक्रिया