कांग्रेस सखाप पार्ने कम्युनिष्टको चाहना दिवास्वप्न मात्र : खाण

कांग्रेस सखाप पार्ने कम्युनिष्टको चाहना दिवास्वप्न मात्र : खाण


– हेमशंकर सिंह, राजविराज

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री बालकृष्ण खाणले दुई तिहाईको दम्भमा नेपाली कांग्रेसलाई सखाप पार्ने कम्यूनिष्टहरुको चाहना दिवास्वप्न मात्र भएको बताएका छन् ।

हिन्दु धर्मावलम्बीको महान चाड तिहार तथा छठ पर्वको अवसरमा मंगलबार सप्तरीको डाँक्नेश्वरी नगरपालिकास्थित पातोमा नेपाली कांग्रेस क्षेत्रिय कार्यसमितिले आयोजना गरेको शुभकामना सन्देश सभालाई प्रमुख अतिथिको आसनबाट सम्बोधन गर्दै केन्द्रीय सदस्य खाणले यस्तो बताएका हुन् ।

‘०७ सालमा कांग्रेसलाई समाप्त गर्न लागेका राणा नै समाप्त भयो, पञ्चायतले पनि कांग्रेसलाई समाप्त गर्न खोजेको थियो तर पञ्चायत नै समाप्त भयो, शाही सरकारले पनि त्यस्तै खोज्यो, तर उ पनि समाप्त भयो’, कांग्रेस संसदीय दलका प्रमुख सचेतक समेत रहेका केन्द्रीय सदस्य खाणले भने, ‘अब कम्युनिष्टले दुई तिहाईको दम्भमा कांग्रेसलाई सखाप पार्ने भन्दैछ, तर उनीहरुको त्यो दिवास्वप्न मात्र हो, कांग्रेस अझै मजबुत हुन्छ ।’

सप्तरीसहित सिंगो तराई मधेसको विकासका लागि नेपाली कांग्रेस प्रतिबद्ध रहेको र यसलाई मूर्तरुप पनि कांग्रेसबाहेक कसैले दिन नसक्ने पूर्वमन्त्री खाणको भनाई थियो ।

शुभकामना सन्देश सभालाई विशिष्ट अतिथिको आसन्नबाट सम्बोधन गर्दै कांग्रेस केन्द्रीय सदस्य एवं पूर्वमन्त्री महेन्द्र यादवले आफूलाई मधेसवादी दल भन्नेहरु सत्ताको राजनीतिमा लिप्त रहेको आरोप लगाए । विगतमा कम्यूनिष्टकै कारण संविधान संशोधन पारित हुन नसकेकोमा अहिले मधेसवादी दलहरु कम्युनिष्टकै सरकारमा संलग्न हुन जानु र सहयोग गर्नु भनेको सत्ताको राजनीतिमा लिप्त हुनुको उत्कर्ष रहेको दाबी उनले गरे ।

‘गिरिजाबाबुलाई मधेसवादी दलका नेताहरुले कालो झण्डा देखाउँदा देखाउन दिनु भनेका थिए, तर उपेन्द्र यादवलाई एक मधेसी यूवा राममनोहर यादवले कालो झण्डा देखाउँदा प्रहरी लगाएर पक्राउ गरियो र यातनाकै कारण ती युवकको प्रहरी हिरासतमै मृत्यु भयो’, केन्द्रीय सदस्य यादवले भने, ‘कुनै पनि असन्तुष्ट नागरिकले देशका नेतालाई शान्तिपूर्ण ढंगले विरोध जनाउन पाउँछन्, तर त्यसो गरेकै कारण राममनोहर यादवको ज्यान गएपछि उक्त घटना छानविन गर्न सरकारसित माग गर्दछु ।’

सभामा कांग्रेस सप्तरीका सभापति दिनेशकुमार यादव, प्रदेश सांसद मोहम्मद समिम, पूर्व संविधानसभा सदस्य सुरेन्द्रप्रसाद यादव र मुनी गुप्ता, महासमिति सदस्य नारायण यादव, नेताहरु नेता भगवतीप्रसाद यादव, रामकुमारी पण्डितसहितले शुभकामना मन्तब्य ब्यक्त गर्दै देश र मधेसको विकास तथा मधेसको तमाम समस्या नेपाली कांग्रेसले मात्र समाधान गर्नसक्ने दाबी गरे ।

कांग्रेसका क्षेत्रिय सभापति रामप्रसाद मण्डलको सभापतित्वमा सम्पन्न भएको उक्त सभाको सञ्चालन क्षेत्रिय सचिव भुपेन्द्र यादवले गरेका थिए ।